१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
साङ–जिन वेई
२o८१ बैशाख २० बिहीबार o७:२o:oo
Read Time : > 2 मिनेट
ad
ad
दृष्टिकोण प्रिन्ट संस्करण

लैंगिक विषमता र चिनियाँ अर्थतन्त्र

Read Time : > 2 मिनेट
साङ–जिन वेई
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o७:२o:oo

चिनियाँ सरकार मुलुकको न्यून जनसंख्या वृद्धिदर तथा लैंगिक विषमतालाई लिएर चिन्तित छ, त्यसैले परिवारनियोजन नीतिलाई केही खुकुलो बनाएको छ

चीनको भर्खरै सार्वजनिक जनगणनाको प्रतिवेदनले यो मुलुकमा पुरुषको संख्या चिन्ताजनक रूपले अधिक रहेको देखाएको छ । महिला र पुरुषबीच जन्ममै संख्यात्मक असन्तुलन हुनुका थुप्रै महत्वपूर्ण आर्थिक प्रभावहरू पाइएका छन् । र, यसको प्रभाव चीनबाहिरसमेत विस्तारित छ । 

औसतमा महिलाहरू पुरुषभन्दा धेरै बाँच्ने भएकाले अधिकांश मुलुकको जनसंख्यामा पुरुषभन्दा महिलाको संख्या धेरै हुने गर्छ । उदाहरणका लागि अमेरिकामा सन् २०२० मा महिलाको संख्यालाई सय मान्दा पुरुषको संख्या ९६ रहेको थियो । तर, यसविपरीत ताजा जनगणनाअनुसार चीनमा हरेक एक सय महिलाबराबर १०५ जना पुरुष छन् । चिनियाँ महिला चिनियाँ पुरुषको तुलनामा औसतमा तीन वर्ष बढी बाँच्छन् । यसर्थ, महिलाको अनुपातमा पुरुषको यो ‘अधिकता’ छोराहरू छोरीको अनुपातमा अस्वाभाविक अनुपातमा जन्माइएकाले भएको हो ।

विश्वमा जन्मको लैंगिक अनुपातलाई हेर्दा सामान्यतः एक सय केटी जन्मँदा १०६ जना केटा जन्मिने गरेका छन् । यो अनुपात स्वाभाविक पनि छ । बालक वा केटाहरूमा बालिका वा केटीहरूको भन्दा मृत्युदर थोरै बढी हुन्छ । साथै, श्रीमतीभन्दा श्रीमान् केही बूढो हुने आमप्रवृतिका कारण पनि जन्ममा यो अनुपात प्रजननको आयुमा पुग्दासम्म १ः१ कै हाराहारीको अनुपातमा पुग्छ । यो अनुपात मिलाउने प्राकृतिक तरिका नै हो । 

यद्यपि, चीनमा महिला–पुरुष जन्मको अनुपात सन् १९७० को दशकमा यही प्राकृतिक दरको नजिक थियो । तर, विभिन्न तत्वले यो अनुपातमा वृद्धि हुन पुग्यो । छोराप्रतिको आसक्ति, गर्भाशयमै भ्रूणको लिंग पहिचान गर्ने अल्ट्रासाउन्डलगायतका प्रविधिको सहज उपलब्धता र सन् १९८० बाट सरकारले लागू गरेको परिवारनियोजनको कडा नीतिले यो अनुपातलाई असमानुपातिक बनाउन भूमिका खेलेको छ । 

कतिपय दम्पतीले लिंग पहिचान गरेर गर्भपतनलाई अपनाए । सरकारले यस्तो अभ्यासलाई रोक्न कोसिस त गर्‍यो, तर जायजन्मको निर्धारित संख्याको सीमालाई परिपालन गर्ने माध्यमका रूपमा गर्भपतन प्रयोग हुँदासम्म यो प्रवृत्तिलाई रोक्न कठिन छ । फलस्वरूप जन्मको लैंगिक अनुपातमा लगातार वृद्धि भयो र सन् २००९ मा आइपुग्दा प्रतिएक सय केटीबराबर केटाको संख्या १२१ को उच्च बिन्दुमा पुग्यो । पछिल्लो ताजा जनगणनाअनुसार यो अनुपात त्यसयता केही घट्दै गएर प्रतिएक सय केटीबराबर १११.३ जना केटामा झरेको छ । पहिलेको तुलनामा यो निकै सन्तुलनमा आउन थालेको त छ, तर यो अझै पनि हुनुपर्नेभन्दा निकै उच्च छ । र, यसको प्रमुख कारण लिंग पहिचान र गर्भपतन नै हो ।

चीनमा छोराको जन्म धेरै हुँदा ठूलो संख्यामा केटाहरू अविवाहित रहन बाध्य छन् । यसलाई गणितको भाषामा भन्दा चीनका नौमध्ये एउटा केटाले श्रीमती वा केटी साथी पाउँदैन । एनहोइ र ग्वाङडोगजस्ता ग्रामीण क्षेत्रमा त यो समस्या अझ बढी गम्भीर छ । जहाँ ६ जना केटामा एउटाले दुलही नपाउने स्थिति छ ।

हामीले गरेका विभिन्न अनुसन्धानले यो विषम लैंगिक अनुपातको चीन र विश्वमा आश्चर्यजनक आर्थिक प्रभावहरू परेको पाएका छौँ । पहिलो, विवाह गर्ने उमेरका केटा एवं अविवाहित छोराका अभिभावकले आफ्नो वा छोराको विवाह हुने सम्भावना बढाउन आफ्नो बचत दरमा उल्लेख्य वृद्धि गर्ने गरेको पायौँ । सिआबो झांग र मैले सन् २०११ को अनुसन्धानमा सन् १९९०–२००७ सम्ममा चीनको विवाहयोग्य उमेरका महिला–पुरुषको अनुपातमा भएको वृद्धि त्यस अवधिमा परिवारिक बचतमा भएको वृद्धिको ५० प्रतिशत हिस्साका लागि जिम्मेवार भएको पायौँ ।

बचतमा भएको वृद्धिले मुलुकको व्यापार बचतलाई बढावा मिल्यो । सन् २०१३ मा चिङयुआन दु र मैले गरेको अनुसन्धानमा चीनको महिला–पुरुषको अनुपातमा भएको वृद्धिले चीनको अन्य मुलुकसँगको ३३–५० प्रतिशत व्यापार बचतका लागि योगदान गरेको हुन सक्ने पायौँ । यस अर्थमा, चीनको यो लैंगिक असन्तुलनलाई चीन र अमेरिकाबीचको तनावको एउटा महत्वपूर्ण स्रोत मान्न सकिन्छ । 

जर्नल अफ डेभलपमेन्ट इकोनोमिक्समा प्रकाशित हुन लागेको झिवो तान र सिआबो झांगसँगको मेरो अनुसन्धानले चीनको पुरुष–महिलाको असन्तुलित अनुपातले कार्यस्थलमा असुरक्षित अभ्यासलाई समेत योगदान गरेको पाएको छ, जसकारण कार्यस्थल दुर्घटना एवं मृत्युमा वृद्धि भएको छ । सम्भावित दुलहीको कमीका कारण विवाहयोग्य उमेरका केटा एवं तिनका अभिभावक आफ्नो वा आफ्नो छोराको विवाहका लागि प्रतिस्पर्धी क्षमता वृद्धि गर्न पैसा कमाउनका लागि उच्च पारिश्रमिकयुक्त खानी तथा निर्माणजस्ता जोखिमपूर्ण क्षेत्रमा काम गर्न सहजै तत्पर हुने गरेका छन् । धेरै मानिसले यस्ता काम गर्न तत्पर हुँदा रोजगारदाताले कार्यस्थलको सुरक्षामा अक्सर न्यून लगानी गर्ने गरेका छन्, जसकारण कामसँग सम्बन्धित चोटपटक तथा मृत्युमा वृद्धि भएको पाइएको छ । हामीले के पायौँ भने विवाहयोग्य पुरुषको तुलनामा महिलाको संख्यामा जहाँ उल्लेख्य कमी छ, त्यहाँ कार्यस्थलसँग सम्बन्धित दुर्घटना तथा मृत्यु उच्च रहेको छ । यसखाले दुर्घटना वा मृत्युको सिकार विवाहयोग्य उमेरका केटा र अविवाहित छोराका अविभावक भएका देखिन्छन् । 

 

एसियाली विकास बैँकका पूर्वप्रमुख अर्थशास्त्री वेई कोलम्बिया बिजनेस स्कुलका वित्त तथा अर्थशास्त्रका प्राध्यापक हुन् ।

© Project Syndicate 2021
नयाँ पत्रिका र प्रोजेक्ट सिन्डिकेटको सहकार्य

ad
ad