१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
पुनर्वास भएका शरणार्थीको सहयोगमा खरिद गरिएको स्वास्थ्य सामग्री कोभिड अस्पताललाई हस्तान्तरण गर्दै फेन्स क्लब बिआरसीका अध्यक्ष युवराज राई । तस्बिर / नयाँ पत्रिका 
२०७८ जेठ २ आइतबार १६:३९:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

कोभिड अस्पताललाई भुटानी शरणार्थीको सहयोग

Read Time : > 1 मिनेट
२०७८ जेठ २ आइतबार १६:३९:००

झापा र मोरङका विभिन्न शरणार्थी शिविरमा बस्दै तेस्रो देश पुनर्वास भएका भुटानी शरणार्थीले कोरोना संक्रमितको उपचारका लागि सहयोग गरेका छन् । तीन दशकदेखि भुटानी शरणार्थीलाई आश्रय दिने दमक नगरपालिकाले सञ्चालन गरेको कोभिड अस्पताललाई पुनर्वास भएर गएका शरणार्थीले स्वास्थ्य उपचार सामग्री सहयोग गरेका हुन् । 

दमकस्थित बेलडाँगी शिविरमा रहेको भुटानी शरणार्थीको फेन्स क्लब बिआरसीको सहकार्यमा तेस्रो देश पुनर्वास भएकाहरूले कोभिड अस्पतालमा पिपिई, पल्स अक्सिमिटर, स्यानिटाइजर, मास्कलगायतका सामग्री सहयोग गरेको क्लबका अध्यक्ष युवराज राईले बताए । 

पुनर्वास भई अस्ट्रेलियामा रहेका भुटानी शिविर बेलडाँगीका क्याम्प व्यवस्थापन पूर्वसचिव टीकाराम रसाइलीको पहलमा ‘आँसु पुछौँ’ अभियानले एक लाखबराबरको स्वास्थ्य सामग्री सहयोग गरेको हो । ‘हामीलाई नेपाल सरकार र दमक नगरपालिकाले जीवनको महत्वपूर्ण समयमा आश्रय दिएर सहयोग ग¥यो । हामी तेस्रो देश भए पनि यो सहयोग गर्न कहिल्यै बिर्सन सक्दैनौँ,’ रसाइलीले नयाँ पत्रिकासँग टेलिफोन सम्पर्कमा भने, ‘अप्ठ्यारो पर्दा हामीलाई सहयोग गर्ने देशलाई चोट लागेको छ । यसवेला घाउमा मल्हमपट्टी गर्नु हाम्रो कर्तव्य हो । हामी छाक काटेर भए पनि सहयोग गर्छौँ ।’ 

क्लबका अध्यक्ष राईले कोभिड अस्पताललाई स्वास्थ्य सामग्री हस्तान्तरण गरे । राईले आगामी दिनमा पनि आवश्यक सामग्री सहयोगका लागि पुनर्वास भएका भुटानी शरणार्थीसँग पहल गर्ने बताए । ‘अहिले त भुटानी शरणार्थीको स्वास्थ्यको जिम्मेवारी पनि दमक नगरपालिकामा छ । भोलि केही भयो भने भुटानी शरणार्थीले पनि यहीँ उपचार गराउने हो,’ उनले भने, ‘हामीलाई वर्षौँदेखि संरक्षण गर्दै आएको दमक नगरपालिकालाई अप्ठ्यारो परेको वेला सहयोग गर्न पाउनु हाम्रा लागि गौरवको कुरा हो ।’ 

कोभिड अस्पतालमा बिरामीका लागि भेन्टिलेटर आवश्यक देखिएको राईले बताए । यसका लागि पनि पुनर्वास भएका शरणार्थीसँग पहल गर्ने उनले प्रतिबद्धता जनाए । ‘अब भेन्टिलेटर मेसिन आवश्यकता भएको हामीलाई उहाँहरू (दमक नगरपालिका)ले भन्नुभएको छ,’ राईले भने, ‘यसका लागि पनि हामी पुनर्वास भएका भुटानी शरणार्थीसँग पहल गर्नेछौँ ।’ 
दमक नगरपालिकाले कोभिड अस्पताल विगतमा भुटानी शरणार्थी बसेकै ठाउँ बेलडाँगीमा बनाएको छ । शरणार्थी पुनर्वास भएपछि दमक– २ स्थित बेलडाँगीमा खाली भएको संरचनालाई पुनर्निर्माण गरेर अस्पताल बनाएको हो । त्यसकारण पनि भुटानी शरणार्थीलाई अस्पतालको अपनत्व महसुस भएको बिआरसी क्लबका अध्यक्ष राईले बताए ।