मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७८ बैशाख २४ शुक्रबार १३:१०:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

राष्ट्रिय सभा उपनिर्वाचन :  बादल र देवकोटाले गरे उम्मेदवारी दर्ता

Read Time : < 1 मिनेट
२०७८ बैशाख २४ शुक्रबार १३:१०:००

बागमती प्रदेशमा रिक्त रहेको राष्ट्रिय सभा सदस्यका लागि ६ जेठमा हुने उपनिर्वाचनमा प्रतिस्पर्धा गर्न वर्तमान गृहमन्त्री रामबहादुर थापा बादल र डा. खिमलाल देवकोटाले उम्मेदवारी दर्ता गरेका छन् ।

निर्वाचन आयोगले सार्वजनिक गरेको निर्वाचन तालिकाअनुसार हेटौँडास्थित बागमती प्रदेश निर्वाचन आयोगको कार्यालयमा गृहमन्त्री बादल र देवकोटाले आज शुक्रबार उम्मेदवारी दर्ता गरेका हुन् । प्रधानमन्त्रीनिवास बालुवाटारमा शुक्रबार बिहानबाट बसेको सत्तारुढ नेकपा एमाले स्थायी कमिटी बैठकले बादललाई नै उम्मेदवारी बनाउने निर्णय गरेपछि बालुवाटारबाट हेलिकोप्टरमा प्रधानमन्त्रीका कानुनविज्ञ सल्लाहकार बाबुराम दाहालसँग हेटौँडाका आएका एमालेको तर्फबाट बादलले १२ बजेर ३० मिनेटमा उम्मेदवारी दर्ता गरेका हुन् । 

बादलको उम्मेदवारी दर्ताका लागि बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल प्रस्तावक र सामाजिक विकासमन्त्री सरस्वती बस्नेत समर्थक रहेको प्रदेश निर्वाचन आयोगको कार्यालयलले जनाएको छ ।

यसैगरी, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधवकुमार नेपाल समूह र जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र यादव पक्षको संयुक्त गठबन्धनतर्फबाट देवकोटाले उम्मेदवारी दर्ता गरेका छन् । माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलका नेता शालिकराम जम्कट्टेल देवकोटाको प्रस्तावक र नेपाली कांग्रेस बागमती प्रदेशका प्रमुख सचेतक राधा घले समर्थक रहेर बिहान ११ बजेर १५ मिनेटमा उम्मेदवारी दर्ता गरेको कार्यालयले जनाएको छ ।