१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
नवीन प्यासी काठमाडाैं
२o८१ बैशाख २४ सोमबार o७:४९:oo
Read Time : > 4 मिनेट
ad
ad
फिचर प्रिन्ट संस्करण

‘गोल्डेन भ्वइस’ अर्थात् मखमली गायक प्रेमध्वज 

Read Time : > 4 मिनेट
नवीन प्यासी, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार o७:४९:oo

प्रधानले केही कुरा अधुरै छाडेर गएका छन् । त्यसमध्ये एक हो, स्रष्टाको प्रतिलिपि अधिकारमाथिको लडाइँ ।

‘यस्तो अवस्थामा खबर पाएँ, न घरबाट निस्कन सक्छु, न त रत्नशमशेरको परिवारलाई भेटेर केही गर्न नै सक्छु । अन्तिम अवस्थामा पनि साथीसँग भेट हुन सकेन । प्रिय साथीको नाममा एक थुंगो फूल चढाउन पाइनँ,’ गत वर्षको लकडाउनमा बितेका गीतकार रत्नशमशेर थापाबारे गायक प्रेमध्वज प्रधानले नयाँ पत्रिकालाई भनेका वाक्य हुन् यी । बागबजारस्थित आफ्नै घरबाट टेलिफोन संवादमा स्पष्ट बोल्थे उनी । मिडिया, आफन्त, साथीभाइसँग खुलेर टेलिफोन संवाद गर्थे । तर, रत्नशमशेर बितेको एक वर्ष भइसकेको छैन, प्रधान पनि प्रिय साथी रत्नशमशेरझैँ दुनियाँबाट अलप भए । पहिलो लकडाउनमा साथी गुमाए, यसपटक आफैँ सुन्धाराको काठमाडौं न्युरो अस्पतालबाट अन्तिम सास लिए ।

यादव खरेल, गीतकार

प्रेमध्वज प्रधानलाई भलादमी गायकका रूपमा सम्झनुपर्छ । कालजयी गीतहरूमा स्वर भरेको छ । अर्को कलाकारको प्रतिलिपि अधिकारको संरक्षणका लागि जसरी लडेका थिए, त्यसका लागि सम्झनुपर्छ ।
 

गत वर्ष गीतकार रत्नशमशेर बित्दा प्रधानले भनेका थिए, ‘रत्नको मृत्युको खबरले ६६ वर्ष लामो र पुरानो सहकार्यको स्मृति आँखाअघिल्तिर झलझली आइरहेको छ ।’ रत्नशमशेर र प्रेमध्वजको एउटा कालजयी गीत छ, ‘घुम्तीमा नआऊ है...’ । यो गीतको कथास्र्रोत यस्तो थियो– चन्द्रागिरितिर घर भएका युवक सहर आउँदा बाटोमा सुन्दर युवतीलाई देख्छ । बाटामा अनेक घुम्ती हुन्छन् । युवतीसँग देखादेख भएपछि युवकले केही बोल्न सक्दैन, मात्रै हेरिरहन्छ । यही मनस्थितिलाई रत्नशमशेरले शब्दमा उतारेका थिए । प्रधानले संगीत भरेका थिए र स्वर दिएका थिए, ‘घुम्तीमा नआऊ है, आँखा तिमी जुधाउन, बाँधिए माया फेरि गाह्रो हुन्छ फुकाउन ।’

‘घुम्तीमा नआऊ है’ बोलको गीत सिक्वेल थियो ‘गोरेटो’ बोलको गीतको । यस गीतको बीचमा एक लाइन छ– ‘गोरेटो त्यो गाउँको, लौन आज खोजी खोजी थाकेँ नि पहिल्याउन सकिनँ, पहिल्याउन मैले सकिनँ ...’ यस गीतको प्रेरणा कथाबारे प्रधानले भनेका थिए, ‘काठमाडौंमा जात्राहरू भइरहन्छन् । कहिले घोडेजत्रा त कहिले इन्द्रजात्रा । त्यही जात्रा हेर्न अर्को गाउँबाट एक युवती आएकी हुन्छे । युवतीको एकजना युवकसँग चिनजान हुन्छ । युवकले जात्रामा घुमाउँछ । अन्तिममा घर फर्कँदै युवतीले आफ्नो गाउँको ठेगाना दिन्छे । पछि युवक युवतीको गाउँ जान्छ, तर भनेको ठेगानामा युवतीलाई भेट्दैन । त्यही कथालाई रत्नशमशेरले शब्दमा उतारेका थिए, हामीले तीन दिनसम्म कोठाभित्र अभ्यास गरेर गीत तयार पारेका थियौँ ।’ 

रत्नशमशसेर बिरामी हुँदा गत वर्र्ष त्रिवि शिक्षण अस्पतालमा भेट्न गएका थिए प्रधान । रत्नशमशेर अस्पतालको बेडमा थिए । आफन्तहरू पनि थिए । त्यतिवेला पनि थापा र प्र्रधानको डेढ घन्टा लामो गफ चलेको थियो । प्रधानले सुनाएका थिए, ‘उसलाई चुरोट खाइरहनुपर्ने । ३० वर्षको उमेरदेखि चुरोट खाएको मान्छे । मैले अस्पतालमा पनि सोधेँ, चुरोट छाडियो ? ऊ मुसुमुसु हाँसिरह्यो मात्रै ।’ थापा र प्रधानले १६–१७ वटा गीतमा सहकार्य गरे । थापाका गीतसँगै प्रधानका सात सय हाराहारी गीतहरू रेकर्डेड छन् । 

त्यही सात सयमध्येको एक गीतको हो, ‘पर लैजाऊ फूलहरू...।’ ०३४ सालमा रेकर्ड भएको यो गीत गीतकार राजेन्द्र थापाले लेखेका हुन् । त्यसो त राजेन्द्र थापासँग ०२९ सालमै प्रधानले सहकार्य गरेका थिए, ‘फूलको बयानमा काँडाको पनि नाम आउँछ...’मा । यो गीत त्यस समयको हिट गीत थियो । उसवेला राजेन्द्र थापा नगरकोटमा थिए । बिदाको दिन बिताइरहेका थिए । एक १६/१७ वर्षकी तामाङनी डोको बोकेर आउँदै गरेको देखे उनले । यसपछि सम्झिए, एक साताअघि मात्रै काठमाडौंबाट मोटरसाइकलमा गएका केटाहरूले त्यही ठाउँमा तामाङनीहरूलाई चुरोट पिलाएको अनि त्यसको लाभ लिन खोज्दा तामाङनीहरूले हँसियाले काटेको छ । संयोग, त्यस दिन पनि एक्लै डोको बोकेर आइरहेकी तामाङनीले हँसिया भिरेकी थिइन् । यसपछि लेखेको गीत राजेन्द्र थापाले संगीतकार शिवशंकरलाई पठाएका थिए । उनैले संगीत सिर्जना गरेर प्रधानलाई गाउन दिएका थिए । 

राजेन्द्र थापा, गीतकार

उहाँको जति पपुलर गीतहरू कसैको पनि छैन । खै किन हो, उहाँले पाउनुपर्नेजति सम्मान नपाएको हो कि लाग्छ । उहाँ असाध्यै भद्र मान्छे । उहाँको जस्तो स्वर र गायकी कसैको पनि छैन ।
 

तारा खसेछ...
०३६ सालमा ‘तारा खसेछ...’ बोलको गीतमा अम्बर गुरुङ, प्रधान र राजेन्द्र थापाले सहकार्य गरे । हुन त दुवैको घर नजिकै थियो, बागबजार–पुतलीसडक । तर, संगत कम । राजेन्द्र थापाले गीत पनि लेखेर पठाउने गरेका थिए । ‘उहाँको जति पपुलर गीतहरू कसैको पनि छैन । खै किन हो, उहाँले पाउनुपर्नेजति सम्मान नपाएको हो कि लाग्छ,’ थापा भन्छन्, ‘उहाँ असाध्यै भद्र मान्छे । उहाँको जस्तो स्वर र गायकी कसैको पनि छैन । व्यक्तिगत रूपमा अहंकार नभएको मान्छे । कार्यक्रमतिर पनि उहाँलाई हेप्ने गर्थे, तर उहाँ भन्नुहुन्थ्यो, ठीकै छ नि राजेन्द्रजी । नारायण गोपालभन्दा पनि अगाडि हो उहाँले गीत रेकर्ड गराएको ०१२ सालमा ।’

प्रधानले ‘मखमली स्वर’ अर्थात् ‘गोल्डेन भ्वइस’ उपनाम ‘माइतीघर’ चलचित्रको निर्माणताका पाएका थिए । यस चलचित्रको ‘नमान लाज त्यसरी...’ बोलको गीत अहिले पनि धेरैको मुखमा अल्झेको छ । यही चलचित्रका भारतीय संगीतकार जयदेवले प्रधानलाई ‘गोल्डेन भ्वइस’ उपनाम दिएका थिए । यसको पुष्टि गर्दै थापा भन्छन्, ‘जयदेवले नै घोषणा गरेको हो उहाँलाई । उनले त बम्बाईमा पनि प्रधान दाइको जस्तो स्वर अरूको छैन भनेका थिए रे ।’ ०२१, ०२२ सालदेखि संगतमा रहेका गीतकार यादव खरेल पनि स्वीकार्छन्, ‘प्रधानलाई जयदेवले नै गोल्डेन भ्वइस भनेर उपनाम दिएका थिए ।’ खरेल र प्रधान ‘माइतीघर’ चलचित्र बन्दाको समयदेखि नजिक भएका थिए । यस चलचित्रमा प्र्रधानको गीत थियो, खरेलको सानो भूमिका ।

खरेलका तीन–चारवटा गीत पनि गाए प्रधानले । ‘माइतीघर बन्दाको समयमा सँगै बसेका थियौँ बम्बईमा । उसले जयदेवसँग बम्बईमै बस्छु भनेको भए पनि सेट हुन्थ्यो होला उसको करिअर । उसको मीठो आवाज र आवाजमा भएको मधुरताको कारण जयदेवले उसलाई उपनाम दिएको हो,’ खरेल थप्छन्, ‘प्रधानलाई भलाद्मी गायकका रूपमा सम्झनुपर्छ । कालजयी गीतहरूमा स्वर भरेको छ । अर्को कलाकारको प्रतिलिपि अधिकारको संरक्षणका लागि जसरी लडेका थिए, त्यसका लागि सम्झनुपर्छ ।’

प्रतिलिपि अधिकार खोज्दाखोज्दै बिदा भए प्रधान 
प्रेमध्वज प्रधान यो संसारबाट सदाका लागि बिदा भए । उनको मखमली स्वरबाट भने लाखौँ श्रोता मुग्ध भइरहनेछन् । तर, प्रधानले केही कुरा अधुरै छाडेर गएका छन् । त्यसमध्ये एक हो, स्रष्टाको प्रतिलिपि अधिकारमाथिको लडाइँ । यस लडाइँमा संगीतकार लक्ष्मण शेष, पारस मुकारुङलगायत पछिल्लो पुस्ताका स्रष्टासँगै भक्तराज आचार्य, प्रधान पनि सँगै थिए । स्रष्टाको प्रतिलिपि अधिकारबारे निरन्तर बोलिरहेका थिए । दुई वर्षअघि ८२ वर्षको उमेरमा समेत ठमठम हिँडेर प्रधानमन्त्री केपी शर्मा ओलीकहाँ सरकारको ध्यानाकर्षण गराउन बालुवाटार पुगेका थिए । प्रधानमन्त्री ओलीले यसबारे बुझेर चाँडो स्रष्टाहरूलाई न्याय दिलाउने वचन पनि दिएका थिए, जो अहिलेसम्म पूरा भएको छैन । तर, प्रधान भने आफ्ना ४० भन्दा ज्यादा गीतको प्रतिलिपि अधिकार खोज्दाखोज्दै संसार त्यागेर गए । 

सन् १९७० अर्थात् ०२७ तिर प्रेमध्वज बम्बई गएका थिए । चर्चित संगीतकार मनोहर सिंहसँग उनको संगत थियो । उनै सिंहले सुझाब दिए, गीति एल्बम निकाल्ने । जसोतसो पैसाको जुगाड गरेर एल्बम तयार भयो १० वटा गीतको । जसको २४ कपी बोकेर नेपाल आएका उनको गीत रेडियोमा फेरि चर्चामा रह्यो, ‘घुम्तीमा नआऊ है...।’ यो गीत नौ वर्षअघि नै रेडियोमा बजिसकेको थियो । यससँगै अर्को गीत थियो, ‘मेरो मखमली घामको झुल्काझुल्का मायालु ।’ तर, उनले यति दुःख गरेर बनाएको गीत म्युजिक नेपालको डिजिटल प्लेटफर्ममा बज्न थाल्यो । त्यसवेला प्रधानले नयाँ पत्रिकालाई भनेका थिए, ‘मलाई कुनै जानकारी नदिई त्यो एल्बमका गीत म्युजिक नेपालले आफ्नै कपीराइट बनाएछ । युट्युब, सिआरबिटी, पिआरबिटी, आइट्युन्स, अमेजनलगायत विभिन्न डिजिटल प्लेटफर्ममा बेचिसकेछ । यत्रो ठूलो बदमासी कुनै सर्जकले कल्पना गर्न पनि सक्दैन ।’ प्रधानका ४० भन्दा बढी गीत म्युजिक नेपालले विनाअनुमति बिक्रीवितरण गरिरहेको छ । यसैका लागि लडेका प्रधानले न्याय पाउन सकेनन् । न्यायको पर्खाइमै उनको जीवन सकियो । प्रधानसँगै स्रष्टाको प्रतिलिपि अधिकारमाथि निरन्तर लडिरहेका संगीतकार लक्ष्मण शेष भन्छन्, ‘उहाँले स्रष्टाको प्रतिलिपि अधिकारको लडाइँलाई अधुरै छाडेर जानुभएको छ । तर, एक न एक दिन हामीले न्याय पाएरै छाड्नेछौँ । यो लडाइँ प्रेम दाइजस्ता दर्जनौँ स्रष्टाको लडाइँ हो, जो आफ्नो सिर्जनालाई आफ्नो भन्न नपाई बितेका छन् ।’ 

ad
ad