मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
निषेधाज्ञाको निर्णयलगत्तै गत १५ वैशाखमा काठमाडौंको नयाँ बानेश्वरस्थित थ्री ब्रदर्श आयल सेन्टरमा इन्धन भर्न लाम लागेका उपभोक्ता र सर्वसाधारण । तस्बिर : नयाँ पत्रिका
अजित अधिकारी काठमाडौं
२०७८ बैशाख २३ बिहीबार २०:५६:००
Read Time : > 3 मिनेट
अर्थ डिजिटल संस्करण

निषेधाज्ञामा खुला रहेका पेट्रोलपम्पका २० मजदुरलाई कोरोना संक्रमण, एकको मृत्यु, तत्काल खोप लगाइदिन आग्रह

Read Time : > 3 मिनेट
अजित अधिकारी, काठमाडौं
२०७८ बैशाख २३ बिहीबार २०:५६:००

कोरोना भाइरस नियन्त्रणका लागि सरकारले देशका अधिकांश भागमा जारी गरेको निषेधाज्ञामा सेवा दिइरहेका पेट्रोलपम्पमा कार्यरत मजदुरलाई (सवारीसाधनमा तेल भर्ने तथा पैसा लिने कर्मचारीहरू) कोभिड संक्रमण बढ्दै गएको छ ।

पेट्रोल पम्प सञ्चालकले पर्याप्त सुरक्षा सावधानी नअपनाई सेवा दिएको तथा सरकारले समेत खोप लगाउन प्राथमिकतामा नराखेको कारण आगामी दिनमा पम्पका मजदुर संक्रमण हुने दर झन् बढ्ने देखिएको छ । अखिल नेपाल पेट्रोलियम मजदुर संघका अध्यक्ष शिव पोख्रेलका अनुसार काठमाडौं उपत्यकामा मात्रै हाल ६ वटा पम्पमा कार्यरत १६ मजदुर कोरोना संक्रमण भई घरमै बसेका छन् । एक मजदुरको मृत्युसमेत भएको छ ।

मृत्यु हुनेमा काठमाडौंको टेकुस्थित कनक ट्रेड सेन्टरमा कार्यरत पम्पका प्रबन्धक शिवनारायण श्रेष्ठ रहेका छन् । उनी विगत २० वर्षदेखि सोही पम्पमा कार्यरत थिए । सो पम्पका अन्य मजदुरमा भने संक्रमण फैलिनसकेको सञ्चालक शिवप्रसाद घिमिरेले बताए । ‘पम्पमा सकेसम्म सुरक्षाका सबै सावधानी अपनाएर सेवा दिइरहेका छौँ, तर यतिले मात्र संक्रमण रोक्न सकिँदैन,’ घिमिरेले भने, ‘मजदुरहरूलाई खोप लगाउन सरकारी निकायले अग्रसरता देखाए सेवा सञ्चालन गर्न हामीलाई धेरै सजिलो हुने थियो ।’

पेट्रोल पम्पमा कार्यरत मजदुरलाई खोप लगाउन पम्प व्यवसायीको छाता संगठन पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनले ६ महिनादेखि पहल गर्दै आएको जनाएको छ । एसोसिएसनका अध्यक्ष लिलेन्द्र प्रधानले पम्पमा धेरै उपभोक्ता सेवा लिन जाने हुँदा कर्मचारी र मजदुर संक्रमणको उच्च जोखिममा रहेको बताए । ‘हाम्रा कर्मचारी र मजदुर त असुरक्षित हुने नै भए । उपभोक्ताहरूलाई समेत पम्पका मजदुरबाट कोरोनाको संक्रमण हुन सक्ने सम्भावना पनि उत्तिकै प्रबल हुन्छ,’ प्रधानले भने, ‘त्यसैले पम्पमा कार्यरत मजदुरलाई कोरोना भाइरसविरुद्धको खोप लगाइदिन हामीले ६ महिनादेखि पहल गर्दै आएका छौँ, तर सरकारले सुनेको छैन ।’

पछिल्लो समय पेट्रोल पम्पका मजदुरलाई कोरोनाविरुद्धको खोप लगाउन आयल निगमले समेत पहल थालेको छ । निगमले १२ वैशाखमा पेट्रोलियम व्यवसायीलाई पत्र पठाएर कति संख्यामा मजदुर रहेका छन्, त्यसको जानकारी दिन पत्राचार गरेको थियो । त्यसपछि एसोसिएसनले देशभरका पम्प व्यवसायीबाट तथ्यांक संकलन गरेको अध्यक्ष प्रधानले बताए ।
‘हामीले संकलन गरेको तथ्यांकअनुसार एक हजार चार सय ५२ पेट्रोल पम्पका सञ्चालक, कर्मचारी तथा मजदुर गरी कुल १० हजार तीन सय ४६ कार्यरत रहेको देखिन्छ । यति संख्यामा खोप उपलब्ध भए सबैलाई एक चरण लगाएर ढुक्क हुन सक्ने स्थिति बन्ने थियो,’ प्रधानले भने । उनका अनुसार प्रदेश १ मा दुई सय ४१ पम्पका लागि एक हजार सात सय ६३, प्रदेश २ मा दुई सय ७८ पम्पका लागि एक हजार नौ सय १३, बागमती प्रदेशमा तीन सय ८२ पम्पका लागि दुई हजार नौ सय ९८, गण्डकी प्रदेशमा ६८ पम्पका लागि चार सय ४०, लुम्बिनी प्रदेशमा चार सय दुई पम्पका लागि दुई हजार ६ सय ३४ र सुदूरपश्चिम प्रदेशकामा ८१ पम्पका लागि पाँच सय ९८ लाई खोप आवश्यक पर्ने विवरण एसोसिएसनले निगमलाई उपलब्ध गराएको छ ।

सरकारले पेट्रोलियम क्षेत्रका मजदुर र कर्मचारीलाई खोप लगाउन बेवास्ता गरे सेवा सञ्चालन गर्न आगामी दिनमा धेरै कठिनाइ हुने उनले बताए । ‘हामी अत्यावश्यक सेवाअन्तर्गत पर्ने भएकाले पम्प सञ्चालन गरेर सरकारलाई सहयोग गर्न तयार छौँ । तर, पम्पबाट संक्रमण फैलन नदिन र हाम्रा कर्मचारी र मजदुरलाई समेत खोप लगाएर निर्धक्क काम गर्ने वातावरण बनाइदिन सरकारले पनि पहल गर्नुपर्छ,’ उनले भने । देशभर संक्रमणको दर बढ्दै गर्दा पछिल्ला दिनमा पेट्रोल पम्पका मजदुरहरू काममा आउन डराउन थालेकोसमेत उनले गुनासो गरे । 

खोपका लागि मजदुर संगठनहरूले समेत तीव्र पहल गरिरहेका छन् । अखिल नेपाल पेट्रोलियम मजदुर संघले विभागीय उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र आयल निगमसमक्ष छिटोभन्दा छिटो खोपको प्रबन्ध गरिदिन आग्रह गर्दै आएको अध्यक्ष श्रेष्ठले बताए । ‘सबैले पेट्रोलियम मजदुरलाई खोप उपलब्ध गराउन पहल भइरहेको छ भन्छन् । तर, हामी डेलिगेसन जाँदा–जाँदा थाकिसक्यौँ,’ उनले भने, ‘चाँडै खोप लगाउन नपाए मजदुरहरूमा थप संक्रमण बढ्ने र पेट्रोल पम्प खोलेर सेवा दिन गाह्रो हुने अवस्थामा छौँ ।’

उनले पम्प सञ्चालकहरूले सुरक्षा सावधानी अपनाउन छाडेको पनि गुनासो गरेका छन् । ‘गत वर्ष पम्प सञ्चालकले र मास्क र स्यानिटाइजर उपलब्ध गराएका थिए । तर, अहिले मजदुरहरूलाई त्यो पनि सुविधा छैन,’ उनले भने ।

ट्यांकरचालकलाई खोप लगाउन थालियो
तेल बोक्ने ट्यांकरचालक र सहचालकलाई खोप लगाउन थालिएको छ । केही समयअघि झापा हुँदै भारतको पश्चिम बंगालस्थित सिलगुडी डिपोमा तेल लिन जाने ट्यांकरका चालक, सहचालकलाई भारतीय प्रशासनले रोक लगाएको थियो । त्यसपछि सिलगुडी डिपोमा तेल लिन जाने ट्यांकरका चालक र सहचालकलाई खोप लगाइएको निगमको १ नम्बर प्रादेशिक कार्यालय, विराटनगरले जनाएको छ । भारतमा तेल लिन जाने ट्यांकरचालकले खोप नलगाई जान जोखिम हुन थालेको गुनासो गरेपछि निगमको १ नम्बर प्रादेशिक कार्यालय, विराटनगरले इन्डियन आयल कर्पोरेसन (आइओसी)को बरौनी रिफाइनरीमा तेल लिन जाने ६० ट्यांकरका चालक र सहचालक गरी एक सय २० जनालाई खोप उपलब्ध गराउन प्रदेश सरकार, जिल्ला प्रशासन कार्याललगायतलाई पत्राचार गरेको जनाएको छ ।

कार्यालय प्रमुख नकुल भण्डारीले खोप लगाएर चालकलाई इन्धन ढुवानीमा खटाउन पाए संक्रमणको जोखिम कम हुने देखेर पहल गरिरहेको बताए । ‘नेपाल–भारत गरेर इन्धन ओसार्ने काम गरिरहेको ट्यांकरचालक, सहचालकलाई खोप लगाउन सबै निकाय सकारात्मक हुनुहुन्छ, चाँडै थप चालकलाई खोप उपलब्ध हुने विश्वास लिएको छु,’ भण्डारीले भने ।