मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ बैशाख २१ मंगलबार १०:४९:००
Read Time : > 1 मिनेट
खेलकुद

विराटनगर शीर्ष स्थानमा चितवनलाई अर्काे झड्का 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ बैशाख २१ मंगलबार १०:४९:००

उत्कृष्ट प्रदर्शनलाई कायमै राख्दै विराटनगर सिटी एफसी नेपाल सुपर लिग (एनएसएल) अंक तालिकाको शीर्ष स्थानमा फर्किएको छ । विराटनगरले सोमबारको खेलमा एफसी चितवनलाई २–० गोलले पराजित गर्‍यो ।

यो जितसँगै विराटनगरले प्रतियोगिताको उपाधि यात्रामा आफूलाई बलियो रूपमा प्रस्तुत गरेको छ । चार खेल खेल्दा विराटनगरको दुई जित र एक बराबरीबाट सात अंक भएको छ । दोस्रो स्थानमा रहेको धनगढी एफसीको पनि विराटनगरकै समान खेल र अंक छ । 

यद्यपि, गोलअन्तर र हेड टु हेड नतिजामा पनि विराटनगरले धनगढीलाई पछि पारेको हो । प्रतियोगिताको पहिलो खेलमै विराटनगरले धनगढीलाई ३–० को भारी अन्तरले पराजित गरेको थियो । 

यो खेलको नतिजाले एफसी चितवनको उपाधि आशामाथि भने ठूलो धक्का लागेको छ । प्रतियोगितामा चार खेल खेलिसक्दा अझै जितविहीन एफसी चितवन सात टोली सहभागी रहेको प्रतियोगिताको अंक तालिकामा पुछारमा रहेको छ । चितवनलाई प्रतियोगिताको अन्तिम चारभित्र रहँदै उपाधिको आशा जीवित राख्न बाँकी रहेको आफ्नो दुई खेलमा जितको नतिजा अत्यावश्यक छ ।

पेद्रो र सन्तोषको उत्कृष्ट गोल
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलको पहिलो हाफमा खासै उल्लेख्य केही भएन । तर, खेलको दोस्रो हाफमा दुई आकर्षक गोल गर्दै विराटनगरले सान्दार जित निकाल्यो । विराटनगरलाई खेलको ७३औँ मिनेटमा स्पेनिस स्ट्राइकर पेद्रो जेभियर मान्जी क्रुजले १–० ले अगाडि बढाए । सुनील बलले प्रहार गरेको फ्रीकिक बललाई डी बक्स लाइननजिक रोकेर चितवनका खेलाडीको बीचबाट पेद्रोले गरेको सशक्त प्रहार आकर्षक गोलमा परिणत भएको थियो । 

पेद्रोको प्रहारलाई रोक्न चितवनका गोलरक्षक विशाल सुनारले अवसर नै पाएनन् । त्यसपछि खेलको ८९औँ मिनेटमा मिडफिल्डर सन्तोष तामाङले सोही स्थानबाट उस्तै आकर्षक गोल गर्दै विराटनगरको जित २–० ले निश्चित गरेका थिए । चितवनका रक्षक रुड्डी जोनाथन एम्बाकोभले क्लियर गर्न प्रहार गरेको बललाई डी बक्स लाइनमा नियन्त्रणमा लिएर सन्तोषको आकर्षक प्रहार गोलमा परिणत भएको थियो ।

खेलमा दोस्रो हाफमा चितवनले पनि गोलको केही प्रयास गरेको थियो । यद्यपि, ती प्रयासमा चितवनका खेलाडीको प्रहार सशक्त बन्न सकेन । खेलपछि चितवनका सहायक प्रशिक्षक शैलेश कर्माचार्यले रेफ्रीको निर्णयमा असन्तुष्टि जनाए । ‘अघिल्लोपटक रेफ्रीको आलोचना भएको थियो । सायद, उनीहरूले आज त्यसको बदला हामीसँग लिएजस्तै लाग्यो । खेलाडीको हातमा बलले लागेको देख्दादेख्दै पनि गोलको मान्यता दिए,’ उनले भने, ‘त्यसपछि हाम्रो खेलाडीको मनोबल नै खस्कियो । खेलाडी बिस्तारै खेलमा फर्कने प्रयास गर्दै थिए । त्यही निर्णयपछि हामीले खेल गुमायौँ ।’