स्वास्थ्य सतर्कताका मापदण्ड पालना गरेर कार्यक्षेत्रमा खटिन पत्रकार महासंघका अध्यक्षकाे अपिल

शुक्रबार, १७ बैशाख, २०७८
डिजिटल संस्करण

नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले स्वास्थ्य सतर्कताका मापदण्ड पालना गरेर कार्यक्षेत्रमा खटिन पत्रकारहरूलाई अनुरोध गरेका छन् । अध्यक्ष पोखरेलले पत्रकारिता क्षेत्र जस्तोसुकै समस्या र जोखिममा पनि काम गर्नुपर्ने क्षेत्र भएको भए पनि महामारीको समयमा सबैले आफ्नो स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए ।

सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष पोखरेलले महामारीको समयमा कार्यस्थलमा खटिने पत्रकारहरूलाई कुनै पनि किसिमका समस्या भए महासंघको सम्पर्कमा आउन पनि उनले अनुरोध गरे । उनले  कोरोनाको कारण देखाएर कुनै पनि श्रमजीवी पत्रकारलाई कामबाट निकाल्ने, पारिश्रमिकलगायत सेवा–सुविधा नदिनेजस्ता काम नगर्न सञ्चारगृहलाई आग्रह गरे ।

महासंघले कोरोना महामारीमा फ्रन्टलाइनमा रहेर काम गर्ने पत्रकारको स्वास्थ्य सुरक्षा र सेवासुविधा समयमै उपलब्ध गराई सहयोगी भूमिका निर्वाह गर्न  सञ्चारगृहहरूलाई आग्रह गरे । उनले कोभिड संक्रमण देखापरेका पत्रकारका लागि उपचार गराउनका लागि निश्चित अस्पतालको व्यवस्था गर्न पनि सरकारसँग माग गरे । 

उनले जोखिमको समयमा काम गरिरहेका पत्रकारलाई कामबाट निकालिने, विस्थापित हुनुपर्ने अवस्था दोहाेरिन नदिन महासंघले काम गरिरहेको बताए । पत्रकार महासंघले समिति नै बनाएर समस्यामा परेका पत्रकारका लागि तत्काल गर्नुपर्ने काम र दिगो व्यवस्थापनको क्षेत्रमा काम गर्न सुरु गरेको अध्यक्ष पोखरेलले जानकारी दिए । 

सुझावित समाचार