मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
चित्रबहादुर केसी, अध्यक्ष जनमोर्चा 
नयाँ पत्रिका काठमाडाैं
२०७८ बैशाख १६ बिहीबार ०६:५१:००
Read Time : > 1 मिनेट
अन्तर्वार्ता प्रिन्ट संस्करण

हाम्रा सांसद अपहरण गरिएको हो, बिरामी भएको भए हामीले भेट्न किन नपाउने? 

अन्तर्वार्ता

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ बैशाख १६ बिहीबार ०६:५१:००

गण्डकीमा बुधबार जे–जस्तो गतिविधि भए, त्यसमा जनमोर्चाका एक सांसद खिमविक्रम शाही जोडिएका छन्, तपाईंको प्रतिक्रिया के छ ?
एमालेले नांगो प्रदर्शन गरेको छ । मान्छे अस्पतालको आइसियूमा छ, भेट्न दिइएको छैन । हाम्रो साथीहरू भेट्न जाँदा पनि भेट्न दिनुहुन्न भनेर रोकिएको छ । त्यहाँ अस्पतालमा मिलेमतो कति छ, त्यो त भोलि थाहा होला । यसबारे हामीले पनि खोजिरहेका छौँ । के भएको हो भनेर जानकारी लिइरहेका छौँ । हिजो कोभिड– १९ ‘टेस्ट’ गर्दा कोरोना नेगेटिभ देखिएको थियो, आज कोरोनाको बिरामी भनेर मान्छेलाई अस्पतालमा लगिएको छ । रातारात के भयो आइसियूमा राखिएको छ । पार्टीलाई जानकारी छैन । १२ बजेसम्म सम्पर्कमा रहेको र संसद्मा आउँछु भनेको मान्छे बिहान ९ बजेदेखि अस्पतालमा छ । मिलेमतो हो कि अपहरण भएको हो, छानबिनपछि थाहा हुन्छ । हाम्रा साथी अस्पतालमा भेट्न गएका थिए, तर भेट्न दिइएन । यसले यसको गम्भीरता देखाउँछ । फेरि त्यो त एमालेकै अस्पताल पनि हो । 

१२ बजेसम्म सम्पर्कमा रहेको र संसद्मा आउँछु भनेको मान्छे बिहान ९ बजेदेखि अस्पतालमा छ । मिलेमतो हो कि अपहरण भएको हो, छानबिनपछि थाहा हुन्छ । हाम्रा साथी अस्पतालमा भेट्न गएका थिए, तर भेट्न दिइएन । 

तपाईंहरूको पार्टीले पोखरा घटनामा अहिलेसम्म पाएको सूचना के हो, के भएको हो ?
उनी अस्पतालको आइसियूमा छन् भन्ने थाहा भएको हो । त्यसपछि लगत्तै उनलाई भेट्नका हामीले साथी पठाएको, तर प्रशासनले भेट्नै दिएको छैन । हाम्रै सांसद र पोखराका अन्य जिम्मेवार साथी पनि अस्पताल पुगेका हुन् । सांसद बिरामी भएको छ, पार्टीका मान्छेलाई भेट्न दिइएन, यो सबैलाई थाहा भइसकेको छ । अस्पतालमा मिडिया पनि पुगिसकेका छन् । मिडियाबाट पनि धेरै सत्यतथ्य बाहिर आउँदै छन् । 

कतिपयले सांसद शाहीले सत्तारुढ दलसँग म्याच फिक्सिङ गरेकोसमेत आरोप लगाएका छन नि ?
ती सम्भावनालाई पनि इन्कार गर्न सकिन्न, सम्भावना जे पनि हुन सक्छ । किनभने एमालेमा यस्तो खेती चलिरहन्छ । तर, उनलाई त भेट्न पाउनुपर्‍यो नि ! हिजो कोरोना जचाउँदा नेगेटिभ आउने, आज त्यही बहानामा त्यहाँ लगेर राखेको छ । अपहरण गरेर राखेको हुनाले भेट्न नदिएको हो भन्ने हाम्रो बुझाइ छ । 

पोखरा घटनामा अब के गर्नुहुन्छ ?
पार्टीले के गर्छ भन्ने भोलि थाहा हुन्छ । अहिले नै सबै कुरा भन्न भएन । 

अन्य राजनीतिक दलको तुलनामा तपाईंहरूको पार्टीभित्र अनुशासन बढी नै थियो । यसले त जनमोर्चाको चरित्र पनि अन्य पार्टीभन्दा फरक देखाएन नि ?
व्यक्तिले गर्ने काम र पार्टीको नीतिले गर्ने काम एउटै हुँदैन । कुनै पार्टीका व्यक्तिले गर्ने कुकर्मलाई पार्टीको नीतिको अर्थमा बुझ्नुहुन्छ तपाईं ? सुनियोजित ढंगले कांग्रेस, एमालेले यस्ता खेती गरिरहन्छन् । तर, राष्ट्रिय जनमोर्चाको कुनै व्यक्तिले गर्‍यो भने दोषी त व्यक्ति हो नि ! संगठनको नीति दोषी हुन सक्दैन । म तीनपटक सदनमा बसेको छु । त्यसकारण राष्ट्रिय जनमोर्चाको नीति त्यस्तो छैन । व्यक्तिविशेषले त्यस्ता गतिविधि गर्न सक्छन् । यसबारेमा खोज–अनुसन्धान हुन्छ र नेपाली जनतालाई खास कुरा थाहा हुन्छ ।