मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
तस्बिर : अमुल थापा/नयाँ पत्रिका
२०७८ बैशाख १२ आइतबार ०६:१०:००
Read Time : > 2 मिनेट
खेलकुद प्रिन्ट संस्करण

कोरोनाकालको सुखद खबर : घरेलु मैदानमा नेपाललाई  ११ वर्षपछि क्रिकेटको उपाधि

Read Time : > 2 मिनेट
२०७८ बैशाख १२ आइतबार ०६:१०:००

नेपालले अन्तर्राष्ट्रिय टी–२० क्रिकेटमा घरेलु मैदान र दुईभन्दा बढी देश सहभागी शृंखला पहिलोपटक जित्दा धेरै कीर्तिमान

नेपाली क्रिकेटले ११ वर्षपछि घरेलु मैदानमा उपाधि जितेको छ । शनिबार त्रिदेशीय टी–२० शृंखलाको फाइनलमा नेदरल्यान्ड्सलाई १४२ रनको फराकिलो अन्तरले पराजित गर्दै नेपालले ११ वर्षपछि घरेलु मैदानमा उपाधिको खुसियाली मनाएको हो । 

नेपालले घरेलु मैदानमा पछिल्लोपटक सन् २०१० मा अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) विश्व क्रिकेट लिग डिभिजन पाँचको उपाधि जितेको थियो । यद्यपि, सो प्रतियोगिता ५० ओभर फरम्याटको थियो । अन्तर्राष्ट्रिय टी–२० तर्फ भने नेपालले घरेलु मैदानमा जितेको यो नै पहिलो शृंखला हो । यस्तै, नेपालले समग्रमा दुईभन्दा बढी टोली सहभागी रहेको टी–२० शृंखला जितेको पनि पहिलोपटक हो । 

उपाधि निश्चित गर्ने क्रममा नेपालले आधा दर्जन कीर्तिमान बनाएको छ । कप्तान ज्ञानेन्द्र मल्ल र प्रशिक्षक देव वाटमोरको नेतृत्वमा नेपालले जितेको यो पहिलो उपाधि पनि हो । उपाधि जितेपछि कप्तान ज्ञानेन्द्र र प्रशिक्षक देवले खुसी व्यक्त गरेका छन् ।

‘उपाधि जित्नु यत्तिकै पनि खुसीको कुरा हो । त्यसमाथि हामीले फाइनल खेल जित्यौँ र खेलाडीले पहिलो खेलबाटै जसरी प्रदर्शन गरे, त्यो अझै खुसीको विषय रह्यो,’ कप्तान ज्ञानेन्द्रले भने, ‘यसले हाम्रो भविष्य उज्ज्वल देखाएको छ ।’

प्रशिक्षक देवले फाइनलमा आफ्ना खेलाडीले नसोचेको प्रदर्शन गरेको प्रतिक्रिया दिए । ‘खेलाडी प्राविधिक र शारीरिक रूपमा यसअघि नै तयार थिए । फाइनल खेलअघि धेरै तयारी बाँकी थिएन,’ प्रशिक्षक देवले भने, ‘तर, खेलाडीले फाइनलमा यस्तो प्रदर्शन गर्लान् भन्ने सोचेको थिइनँ । नेदरल्यान्ड्स राम्रो टोली हो । कहिलेकाहीँ राम्रो टोलीको प्रदर्शन पनि यस्तै हुन्छ । तर, टोलीले साँच्चिकै राम्रो प्रदर्शन गर्‍यो ।’

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारी ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर २३८ रनको योगफल तय गरेको थियो । जवाफी ब्याटिङमा आएको नेदरल्यान्ड्सलाई १७.२ ओभरमा ९६ रनमै रोकेर नेपालले ठूलो अन्तरको जित हात पारेको छ ।

यो जित अन्तर्राष्ट्रिय टी–२० खेलमा नेपालले अहिलेसम्म प्राप्त गरेको फराकिलो (रनका आधारमा) अन्तरको जित हो । यस्तै, २३८ रनको योगफल नेपालले कुनै पनि विपक्षीविरुद्ध बनाएको ठूलो योगफल पनि हो । 

यसअघि नेपालले १३औँ दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत भुटानविरुद्धको खेलमा २३६ रनको योगफल बनाएको थियो । उक्त खेलमा भुटान १४१ रनले पराजित भएको थियो । नेदरल्यान्ड्सविरुद्धको यो खेलको योगफल र जितको अन्तरले त्यसलाई पछि पारेको हो । 

प्रतियोगिताका वेला प्रारम्भिक ब्याट्सम्यान कुशल भुर्तेलले कीर्तिमान बनाएका छन् । उनले प्रतियोगितामा समग्रमा चार अर्धशतक प्रहार गरे । कुनै पनि नेपाली खेलाडीले डेब्युमा यो सफलता पाएका छैनन् । 

प्रतियोगिताको पाँच खेलबाट २७८ रन जोडेका कुशल सर्वाेत्कृष्ट खेलाडी घोषित भए । कुशलसँगै सर्वाधिक रन जोड्ने खेलाडीको सूचीमा नेपालको तीन खेलाडी शीर्ष चारभित्र रहे । १५४ रन जोडेका आसिफ शेख तेस्रो र १४७ रन जोडेका दीपेन्द्रसिंह ऐरी चौथो स्थानमा रहे । 

बलिङतर्फ प्रतियोगितामा सर्वाधिक विकेट लिने खेलाडीको सूचीको शीर्ष चारमा नेपाली खेलाडी नै रहे । सर्वाधिक १३ विकेट लिएका सन्दीप लामिछाने शीर्ष स्थानमा छन् । सात विकेट लिएका करण केसी दोस्रो र पाँच–पाँच विकेट लिएका कमलसिंह ऐरी र सोमपाल कामी क्रमशः तेस्रो र चौथो स्थानमा रहे । 

नेपालले शृंखलामा उपाधिसहित हात पारेको उपलब्धि
- टी–२० क्रिकेटमा सर्वाधिक स्कोर (२३८)
- रनका आधारमा सर्वाधिक फराकिलो जित (१४२)
- कुशल भुर्तेलको एकै प्रतियोगितामा चार अर्धशतक
- एकै प्रतियोगितामा तीनवटा दुई सयमाथिको स्कोर

नेपालले यसअघि खेलेको त्रिदेशीय शृंखलाको नतिजा
– मेरिलेवन क्रिकेट क्लब त्रिदेशीय टी–२० शृंखला, २०१८ (नेपाल र नेदरल्यान्ड्सबीचको फाइनल खेल वर्षाका कारण अनिर्णीत)
– २०१९÷२० सिंगापुर टी–२० त्रिदेशीय शृंखला (दोहोरो राउन्ड रोबिन प्रणालीमा भएको शृंखला जिम्बावेले जित्यो ।)