मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
२०७८ बैशाख ११ शनिबार १३:४९:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

लमजुङमा डेढ सय विद्यालय पुनर्निर्माण

Read Time : < 1 मिनेट
२०७८ बैशाख ११ शनिबार १३:४९:००

०७२ को भूकम्पपछि टहरोमा पठन–पाठन हुँदै आएका लमजुङका विद्यालय पुनर्निर्माण गरिएको छ । विनाशकारी भूकम्पले क्षति पुर्‍याएका एक सय ४७ वटा विद्यालयको पुनर्निर्माण गरिएको हो । शिक्षा विभाग र राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन एकाइ शिक्षाको कार्यक्रमअनुसार विद्यालय पुनर्निर्माण गरिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यन्वयन एकाइ (शिक्षा) लमजुङले जनाएको छ ।  

भूकम्पले क्षति पुर्‍याएका एक सय ५६ वटा विद्यालयमध्ये एक सय ४७ वटा विद्यालयको पुनर्निर्माण गरिएको जिल्ला आयोजना कार्यान्वयन एकाइ लमजुङका प्रमुख अशोक पराजुलीले बताए । लमजुङमा भूकम्पपछिको विद्यालय पुनर्निर्माणमा ८० करोड रुपैयाँ खर्च भएको छ । भवन पुनर्निर्माणका लागि कुल १ अर्ब ८ करोड ६७ लाख रुपैयाँ बजेट आएकोमा ८० करोड खर्च भएको छ भने २८ करोड ६७ लाख रुपैयाँ बाँकी छ । 

तीन सय ५२ वटा विद्यालयमध्ये भूकम्पका कारण एक सय ५६ विद्यालय प्रभावित भएका थिए । विद्यालय व्यवस्थापन समितिमार्फत चारकोठे भवन निर्माणको ९१ वटा कार्यक्रम रहेकोमा ८३ वटा सम्पन्न भएको छ । तीनकोठे भवन निर्माणको २० वटा कार्यक्रम रहेकोमा १७ वटा भवनको पुनर्निर्माण सकिएको छ । दुईकोठे विद्यालय भवन निर्माण कार्यक्रम संख्या ५२ वटा रहेकोमा ४७ वटा भवन निर्माण सकिएको छ । 

जिल्लामा अब नाैवटा विद्यालय निर्माणाधीन अवस्थामा छन् । गैरसरकारी संस्थामार्फत १० कोठे भवन एउटा निर्माणको कार्यक्रम रहेकोमा भवन निर्माण सकिएको छ ।