नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआइपिए)ले कलाकार सीताराम कट्टेल (धुर्मुस) अध्यक्ष रहेको धुर्मुस–सुन्तली फाउन्डेसनलाई शुक्रबार १ लाख रुपैयाँ सहयोग गरेको छ । फाउन्डेसनको पहलमा जनस्तरबाट चितवनको भरतपुर नगरपालिकास्थित रामपुरमा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट शंगशालामा राखिने कुर्सीमध्ये १ कुर्सी खरिद गर्दै रंगशाला निर्माणमा सहयोग गर्ने उद्देश्यले एनएनआइपिएले एक लाख रुपैयाँ उपलब्ध गराएको हो ।
फाउन्डेसनले रंगशाला निर्माणमा सहयोग जुटाउने उद्देश्यले केही समयअघि रंगशालामा राखिने कुर्सीमध्ये १ कुर्सीका लागि सहयोगकर्ताको नाम राख्ने गरी सो अभियान चलाएको थियो । एनएनआइपिएका अध्यक्ष दीपक श्रेष्ठले १०१ नम्बरको कुर्सी उपलब्ध गराइदिन आग्रह गर्दै अध्यक्ष कट्टेललाई सहयोग रुपैयाँबराबरको चेक हस्तान्तरण गरेका छन् । एनएनआइपिएले गत ८ फागुन आयोजना गरेको अवार्ड कार्यक्रमबाट बचेको रकमबाट फाउन्डेसनलाई सहयोग रकम उपलब्ध गराएको श्रेष्ठले बताएका छन् ।
एनएनआइपिएले यअसघि पनि फाउन्डेसनलाई सेन्टी भाइरसको प्रिमियर सोबाट बचत भएको रकमबाट ६० हजार रुपैयाँ उपलब्ध गराएको थियो । अध्यक्ष श्रेष्ठले कुर्सी खरिद गर्नेभन्दा पनि भावनात्मक रूपमा अभियानसँग जोडिन सहयोग गरेको जनाए । एनएनआइपिएका मानार्थ अध्यक्ष दीपक विष्टले सीमित स्रोत र साधनका बाबजुद खेलाडी संघले फाउन्डेसनको पुण्य कार्यमा सहयोग गरेकोमा खुसी व्यक्त गरेका छन् ।
अध्यक्ष कट्टेलले खेलाडीको वृत्ति विकास र सरकारलाई सहयोग गर्न रंगशाला निर्माणको कार्य थालनी गरेको बताउँदै क्रिकेट रंगशाला भए पनि रंगशाला हातामा विभिन्न मुख्य २२ खेल विधाका संरचना पनि निर्माण गर्ने योजना रहेको बताए ।