मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ बैशाख १० शुक्रबार ०८:५३:००
Read Time : < 1 मिनेट
प्रेरक प्रसंग प्रिन्ट संस्करण

प्रेरक प्रसंग : मेरो छोराले के सिकोस् ?

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ बैशाख १० शुक्रबार ०८:५३:००

श्रीमान् प्रधानाध्यापक, 
मेरो छोराले सबै मानिस एकै किसिमका हुँदैनन् भन्ने कुरा सिकोस् । समाजमा दुष्ट मानिस छन् र सज्जन पनि छन्, स्वार्थी राजनीतिज्ञ पनि छन् भने निष्ठावान् समर्पित नेता पनि छन् । त्यस्तै शत्रु पनि छन् अनि मित्र पनि छन् । उसलाई यो कुरा बुझाउन समय त लाग्ला नै, तैपनि उसलाई परिश्रम गरी कमाएको एक डलर सितैमा पाएको पाँच डलरभन्दा मूल्यवान् हुन्छ भन्ने बुझाइदिनुहोला ।

उसले विजय र पराजय, सम्मान र अपमान के हो भन्ने राम्ररी बुझोस् । उसलाई आकाशमा उडिरहेका चरा, घमाइलो दिनमा भुन्भुनाइरहेका माहुरी र पहाडी काखमा फुलेका फूलहरूको शाश्वत रहस्य बुझ्न केही समय छुट्याइदिनुहोला ।

मेरो छोरा जतातिर हुल छ, त्यतैतिर लाग्ने प्रवृत्तिको नहोस् । सुनेको कुरालाई राम्ररी छुट्याउन सक्ने होस् । दुःख र कष्टमय अवस्थामा पनि प्रफुल्ल रहन सक्ने होस् । उसलाई कहिलेकाहीँ आँखाबाट आँसु झर्नु लाजमर्दो होइन भनिदिनोस् । 

ऊ आफ्नो बाहुबल, बुद्धि र सामर्थ्यमा विश्वास गरोस् । कुनै पनि उद्देश्य जायज छ भने जस्तोसुकै विरोधको आँधीबेहरी सहन तयार भएर जिउज्यानका साथ लागिपरोस् । ऊभित्र सत्य र न्याय प्राप्तिका लागि संघर्ष गर्न साहस र दृढ इच्छाशक्तिको विकास गरिदिनोस् । ऊसँग नम्र व्यवहार त गर्नुहोस्, तर उसले कसैको टाउकोमा चाहिँ नटेकोस् ।

सम्झनुहोस्, आगोको लप्काबाटै फलाम खारिन्छ । ऊभित्र साहस र सधैँ केही गरौँ भन्ने भावना भइरहोस् । मेरो छोरो स्वयं निर्भीक, साहसी र उत्साही बन्न प्रेरित भइरहोस् अनि मात्र ऊ मानवताप्रति नरम र आस्थावान् हुन सक्छ ।  

अब्राहम लिंकन, ह्वाइट हाउस, वासिंगटन ।