अन्तर्राष्ट्रिय माफिया ग्याङकी ‘काइँली’ पक्राउ, जो २० वर्षदेखि अफगानिस्तान र पाकिस्तानको सीमाक्षेत्रमा लुकिछिपी बसेर लागुऔषध कारोबार गर्थिन्
अन्तर्राष्ट्रियस्तरमै कुख्यात लागुऔषध तस्कर समूह ‘काइँली ग्याङ’की मुख्य नाइके देवीमाया भनिने गोपी तामाङ पक्राउ परेकी छिन् । लागुऔषध नियन्त्रण ब्युरोबाट खटिएको प्रहरी टोलीले उनलाई २ वैशाखमा काठमाडौंबाट पक्राउ गरेको हो ।
धादिङ सत्यदेवी–२ की ५९ वर्षीय गोपीलाई अन्तर्राष्ट्रिय लागुऔषध तस्कर बजारमा ‘काइँली’, ‘माया’, ‘फूलमाया’, ‘देवीमाया’लगायतका उपनामले चिनिन्छ । ३० चैत ०६५ र ४ भदौ ०६९ को लागुऔषध मुद्दाकी उनी फरार अभियुक्त पनि हुन् । उनले पाकिस्तानमा बसी नेपालमा ‘र्याकेट’ चलाउँदै आएकी थिइन् । प्रहरीका अनुसार ‘काइँली’ ग्याङ नामको ‘र्याकेट’ सञ्चालक उनी नै हुन् । उनी केही महिनायता नेपालमै थिइन् ।
ब्युरोका प्रवक्ता ऋषिराम कँडेलले ‘काइँली’ ग्याङको मुख्य सञ्चालक पक्राउ परेको जानकारी दिए । ‘लामो समयदेखि ‘काइँली’ ग्याङले नेपाल हुँदै लागुऔषध तस्करीको र्याकेट चलाउँदै आएको थियो । उनीहरूमाथि हाम्रो निगरानी थियो । यही क्रममा र्याकेटका मुख्य सञ्चालक नेपाल आएको खुल्यो । खोजी गर्दै जाने क्रममा उनलाई पक्राउ गर्न सफल भयौँ,’ उनले भने ।
यसरी ‘काइँली’सम्म पुग्यो प्रहरी
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै दुबई गएकी धादिङ खनियाबास–१ की ४९ वर्षीया दावा लामा तामाङ प्रहरीको सूक्ष्म निगरानीमा थिइन् । दुबईमा केही दिन बसेकी उनको नेपालमा लगातार फोन सम्पर्क भएको देखियो । त्यसलगत्तै उनी पाकिस्तान उडिन् । लाहोर विमानस्थलमा उत्रिएकी उनी केही दिन पाकिस्तानमै रहिन् । त्यसपछि उनी दुबई उडिन् । दुबईबाट उनी सीधै नेपाल आइन् । शंकास्पद गतिविधिमा देखिएकी उनलाई प्रहरीले पक्राउ गर्यो । एक्सरे रुममा लगेर बडी स्क्यानिङ गर्यो । तर, कैफियत केही देखिएन । प्रहरीले फेरि उनलाई प्रहरी अस्पताल महाराजगन्ज लगेर विशेष तरिकाले एक्सरे गर्यो । यसपटक भने उनको पेटमा क्याप्सुल देखियो । दिसामार्फत ९३ वटा क्याप्सुल झिकियो ।
अनुसन्धानपछि क्याप्सुलभित्र नौ सय ग्रामबराबरको खैरो हेरोइन रहेको खुल्यो । त्यसपछि प्रहरीले अनुसन्धान झनै तीव्र बनायो । उनलाई पाकिस्तान पठाउने धादिङ रुबीभ्याली गाउँपालिका–३ सेतुङकी ४५ वर्षीया होनी माया तामाङ रहेको खुल्यो । प्रहरीले उनलाई पनि पक्राउ गर्यो । बरामद भएको मोबाइल फोन अनुसन्धान भयो । फोनमा ‘मोटी दिदी’ उल्लेख भएको एउटा नम्बर देखियो । जुन नम्बरमा बारम्बार फोन आउने जाने गरेको देखियो । प्रहरीले फोन ट्रेसिङ गर्यो । अन्ततः सोही नम्बरका आधारमा प्रहरी ‘काइँली’ ग्याङकी मुख्य सञ्चालक गोपी तामाङसम्म पुग्यो । यसक्रममा ग्याङका अर्का सदस्य लमजुङ मर्स्याङ्दी–४ का ५२ वर्षीय बयसबहादुर गुरुङ पनि पक्राउ परेका छन् ।
प्रहरीका अनुसार अन्तर्राष्ट्रिय लागुऔषध माफिया समूहमा काइँली नाम कुख्यात छ । उनले अफगानिस्तान र पाकिस्तानको सीमाक्षेत्रमा बसेर २० वर्षदेखि ‘¥याकेट’ सञ्चालन गर्दै आएकी थिइन् । सुरुमा उनी भरियाका रूपमा लागुऔषध कारोबारमा प्रवेश गरेकी थिइन् । अन्तर्राष्ट्रिय प्रहरीको समेत व्यापक खोजीमा रहेकी उनले पछिल्लोपटक अल्बेनियाली नागरिकसँग बिहे गरेकी छिन् । उनीसँगै मिलेर लागुऔषध तस्करलाई संस्थागत बनाएको प्रहरीको भनाइ छ ।
पेटमा ९३ वटा क्याप्सुल
पक्राउ परेकी दावा गोपीकै योजनाअनुसार दुबई गएकी थिइन् । उनलाई निर्देशन दिने काम भने होनी मायाले गरेकी थिइन् । दावाकै निर्देशनअनुसार उनी दुबई गइन् । दुबईबाटै एक पाकिस्तानी नागरिकले उनलाई पाकिस्तानको भिसा लगाइदियो । सोही भिसाका आधारमा उनी पाकिस्तान पुगिन् । लाहोर विमानस्थलमा उत्रिएकी उनलाई र्याकेटकै सदस्यले रिसिभ गरे । केही दिन विभिन्न सहरमा राखे । यसक्रममा क्याप्सुल बनाइ राखिएको लागुऔषध निल्न लगाइयो । उनले ९३ वटा क्याप्सुल निलिन् । ९४ वटाको पालोमा भने उनलाई बान्ता आयो । पेटमा नअट्ने भएपछि निलेको ९३ वटा मात्रै क्याप्सुल लिएर उनी दुबई हुँदै काठमाडौं आइन् । प्रहरीका अनुसार अपरेसनका क्रममा बरामद लागुऔषध खैरो हेरोइनको अवैध बजार मूल्य करिब ९२ लाख रुपैयाँ छ । लागुऔषध खैरो हेरोइन नेपाल हुँदै युरोप लैजान खोजिएको प्रहरीको अनुसन्धानबाट देखिएको छ ।