मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ असार ९ बुधबार
  • Wednesday, 23 June, 2021
शशिकान्त अग्रवाल
२०७८ बैशाख ८ बुधबार ११:२६:००
Read Time : > 5 मिनेट
Read Time : > 5 मिनेट
शशिकान्त अग्रवाल
२०७८ बैशाख ८ बुधबार ११:२६:००
शशिकान्त अग्रवाल
सञ्चालक, म्यारियट होटेल

कोभिड– १९ महामारीले पूरै विश्व जसरी प्रभावित भयो, हामीकहाँ असर परे पनि क्षति कमै भयो । शक्तिराष्ट्र भनिएका अमेरिका, युरोपियन देशहरू झन् प्रताडित सुनिए । नेपाल छिट्टै सामान्य अवस्थामा फर्किरहेको पनि छ । सारा नेपालीले महामारीको मारमा पनि आशाको भाषा बोले ।

कोरोनाले हामीलाई धेरै क्षति पुर्‍याउँदैन, बलियो आत्मविश्वासका साथ लड्नुपर्छ, आत्तिनुहुँदैन भनेर महामारीको सामना गरे । यही आत्मविश्वास र आशाले नै अर्थतन्त्र र जनजीवन छिट्टै सामान्य अवस्थामा फर्काउन सक्यौँ ।हामीकहाँ महामारीको व्यवस्थापन पनि राम्रै भएको मान्नुपर्छ, किनकि यसले ठूलो खति पुर्‍याएन ।

फेरि पनि पर्यटन उद्योगमा अझै आशाको भाषा सुनिँदैन । महामारीले सबैभन्दा मार पर्यटन उद्योगमा पारेको छ । अरू उद्योग–व्यवसाय पुनर्जीवित भइसक्दा पनि पर्यटन क्षेत्र सकसमै छ । नेपाल भ्रमण वर्ष २०२० सुरु नहुँदै पर्यटन उद्योगले महामारीको सामना गर्नुपर्‍यो ।

सन् २०२० जनवरीदेखि त होटेलको बुकिङ ‘क्यान्सिलेसन’ आउन थालिहाल्यो । भ्रमण वर्षमा आउने पर्यटकका लागि भनेरै व्यवसायीले पर्यटन पूर्वाधारमा ठूलो लगानी गरेका थिए । तर, सन् २०१९ को डिसेम्बरसम्म आइपुग्दा चीनको बुहान कोभिड– १९ बाट आक्रान्त भइसकेको थियो । जनवरीमै नेपालमा पनि होटेलहरू खाली हुन थालिसकेका थिए ।

व्यवसायीले भ्रमण वर्षका लागि तयार पारेको पूर्वाधार र जनशक्तिमा गरेको लगानी खेर गयो । तैपनि हामीले म्यारियट होटेल घाटा सहेरै भए पनि सञ्चालन गरिरह्यौँ । सहरमा कुनै न कुनै गतिविधि चलिरहेकै थिए । कतिपय विदेशीहरू यहीँ अलपत्र थिए । उनीहरू खाना खान कहाँ जाने ? हामीले सामाजिक उत्तरदायित्व सम्झेर उच्च घाटाका बाबजुद होटेल सञ्चालन गर्‍यौँ । कठिन घडीमा पनि होटेल सञ्चालनमा ल्याउँदा पर्यटन क्षेत्रमा राम्रो सन्देश गयो ।

कोभिडको नयाँ लहर सुरु भएको बताइन्छ । छिमेकी मुलुक भारतमा दैनिक सवा लाखभन्दा बढी संक्रमित पहिचान हुन थालेका छन् । अहिले देखिएको कोभिड बढी घातक भएको जनस्वास्थ्यविज्ञहरूले बताइरहेका छन् । छिमेकी मुलुकमा यसको प्रभाव रहेसम्म नेपाल उच्च जोखिममा रहने पक्का छ । हामीले भ्याक्सिनको प्रभाव जतिसक्दो फैलाउन सक्यौँ त्यति नेपाललाई कोभिडको जोखिमबाट टाढा राख्न सक्छौँ ।

इतिहासकै लामो संकट
उपत्यकाबाहिरका होटेलले बिस्तारै ग्राहक पाउन थाले पनि उपत्यकामा सञ्चालित होटेल अझै खाली छन् । बल्लतल्ल ठूला होटेलमा दैनिक ५–६ वटा कोठा बुक हुन थालेका छन् । अहिले तीन, चार र पाँचतारे होटेलमा उपलब्ध कोठाको तीन प्रतिशत हाराहारी ‘अकुपेन्सी’ छ । पर्यटक आगमन करिब शून्य हुँदा ठूला होटेलहरू सुस्ताएका छन् ।

महामारीकालमा केही तारे होटेल त बन्दै भए । कोभिड महामारी मत्थर हुन थालेपछि म्यारियट होटेलमै २०–२५ वटा कोठा बुक हुन थालेका छन् । यो अवस्थामा व्यवसाय त घाटामै चल्ने हो, तैपनि सञ्चालन हुने चरणमा पुग्नु पनि सकारात्मक हो । नेपालका तारे होटेलहरूले इतिहासमै पहिलोपटक यति लामो संकट भोग्दै छन् । काठमाडौंका तारे होटेलमा आन्तरिक पर्यटक हुँदैनन् ।

काठमाडौंका मान्छेहरू घुम्नका लागि नगरकोट, धुलिखेल, सौराहा, लुम्बिनी, पोखरा जान्छन् । तर, त्यहा“का मान्छे काठमाडौं आएर तारे होटेलमा बस्दैनन् । काठमाडौं घुम्नकै लागि भनेर आउने नगन्य हुन्छन । पा“चतारे होटेलमा बस्ने हैसियत हुनेको काठमाडौंमा आफ्नै घर वा फ्ल्याट हुन्छ । त्यसैले काठमाडौंका तारे होटेलमा आन्तरिक पर्यटकको बिजनेस छैन । 

महामारी मत्थर हुन थालेसँगै हवाई उडान हुन थालेका थिए । भारततर्फ अझै उडान थप्ने तयारी भइरहेको थियो । लकडाउन सुरु भएदेखि नै बन्द रहेका क्यासिनो खोल्ने तयारी भइरहेको थियो । कोभिडको दोस्रो कहर बढ्दै जाँदा होटेल व्यवसाय पुनः प्रताडित हुनुपर्ने संकेत देखिन थालेको छ ।

होटेलमा लगानी गर्न नेपाली नै सक्षम देखिएका छन् । कसैले १०–२० अर्बको मेगा प्रोजेक्ट ल्याउन खोज्यो भने विदेशी लगानी आवश्यक पर्ला । एकाध अर्बको होटेल खोल्न हामी आफैँ सक्षम छौँ । विदेशी लगानीका रूपमा म्यानेजमेन्ट कम्पनी ल्याएका छौँ ।

पछिल्ला दिनमा छिमेकी भारतमा कोरोना भाइरसको संक्रमणको दर तीव्र गतिमा फैलिनु र नेपालमा पनि यसको प्रभाव देखिनुले चिन्ता थपिएको छ । बिस्तारै भारतीय पर्यटकको आगमन बाक्लिन थालेको थियो । भारतमा महामारी फैलिन थालेपछि भारतीय पर्यटक यहाँ आउन सक्दैनन् । हाम्रोमा पर्यटक आउने प्रमुख गन्तव्य भारत र चीन नै हो । दुवै मुलुकबाट पर्यटक आउन नसकेपछि हाम्रो पर्यटन व्यवसाय समस्याग्रस्त भइहाल्छ । 

आधा घट्यो होटेलको मूल्य
महामारीको मारले होटेल सस्ता भएका छन् । कोभिड– १९ अघि १५०–१६० डलरमा बिक्री हुने म्यारियटको कोठा अहिले ८० देखि १०० डलरमा उपलब्ध छ । अरू होटेलले पचास प्रतिशत कटौती गरेका छन् । तर, के गर्नु, बाह्य हवाई भाडा दोब्बर बढेको छ ।

जहाजमा दुई यात्रुको बीचमा एउटा सिट खाली राख्नुपर्ने, विमान कम्पनीले यात्रु नपाएर साना जहाजबाट उडान गर्नुपर्ने भएकाले पनि टिकटको मूल्य चर्कियो होला । नेपालमा एउटा जहाज अवतरण गरी उडान गरेको ६ हजार डलर शुल्क लाग्छ रे ! त्यो भनेको सात लाख २० हजार रुपैयाँ भयो । फेरि विश्वमै सम्भवतः सबैभन्दा महँगो हवाई इन्धन नेपालमा छ । होटेल सस्तिए पनि हवाई यात्रा महँगो हुनु नेपालमा पर्यटक भित्र्याउन चुनौतीको रूपमा खडा छ । 

पर्यटन पुनर्जीवित गर्न होटेल तातेर मात्र पुग्दैन । कोभिडको कठिन घडीमा सरकार सहज समयमा झैँ प्रस्तुत हुनुभएन । सरकारले विदेशी एयरलायन्सको उडान आकर्षित गर्न छुट दिनुपर्छ । हवाई भाडा घटाउन जहाजको ल्यान्डिङ चार्ज, पार्किङ चार्ज, फ्युल चार्जलगायत घटाइदिन सक्छ । विदेशी एयरलायन्स र पर्यटक आकर्षित गर्ने खालका सेवा–सुविधा ल्याउन सकेमा पर्यटन उद्योग चाँडै पुनर्जीवित हुन सक्छ ।

सरकारले मारमा परेका पर्यटन व्यवसायीलाई व्यवसाय सञ्चालनका लागि सहयोग गर्नुपर्छ । सरकारले केही समयका लागि भ्याट नलिने घोषणा गरिदिन सक्छ । भ्याट तिर्नु नपरेपछि हामीले पर्यटकलाई सस्तोमा सेवा–सुविधा उपलब्ध गराउन सक्छौँ । यसो गर्न सकियो भने विश्वभरका पर्यटकले नेपालमा घुम्न खर्च कम लाग्छ भनेर आउन थाल्छन् । पर्यटन प्रवद्र्धनमा सरकार र निजी क्षेत्रले हातेमालो गरेर अगाडि बढ्नुपर्ने हुन्छ ।

महामारीले थलिएको पर्यटन प्रवद्र्धन गर्न सरकारले क्यासिनो व्यवसायलाई उत्प्रेरित गर्नुपर्छ । क्यासिनो सञ्चालन भएपछि विदेशी मुद्रा भित्रिन थालिहाल्छ । क्यासिनोमा नेपाली जान पाउँदैनन्, खेल्ने सबै विदेशी नागरिक हुन्छन् । उनीहरूले आफ्नो देशको मुद्रा ल्याएर यहाँ खर्च गर्ने हुन् । अहिले भारतको गोवा र सिक्किमका क्यासिनोमा खुट्टा राख्ने ठाउँ छैन ।

सबै क्यासिनो भरिभराउ छन् । ती क्यासिनोमा खेल्ने पर्यटकलाई हामीले किन नतान्ने ? हामीले ठूलो मन राखेर काम गर्नुपर्छ । नेपालमा क्यासिनोलाई जुवाघरको रूपमा बदनाम गर्न खोजिएको छ । क्यासिनोलाई व्यवस्थित गर्नुपर्छ, तर खराबै भनेर परिभाषित गर्नुहुँदैन । क्यासिनो लगानी नै नगरी विदेशी मुद्रा भित्र्याउने व्यवसाय हो । क्यासिनोले ठूलो संख्यामा रोजगारी पनि सिर्जना गर्छ । क्यासिनोमा काम गर्ने कर्मचारीको तलब पनि आकर्षक हुन्छ नै, क्यासिनो खेल्न आउने ग्राहकबाट आकर्षक टिप्स पनि पाउ“छन् । 
०००
होटेलका पूर्वाधारमा लगानी गर्न सके होटेल त्यत्तिकै फस्टाउँछन् । महामारीकै मारमा पनि नयाँ होटेल, केबलकार, जहाज थपिँदै छन् । महामारीको बीचमा पनि पर्यटन पूर्वाधारमा लगानी हुनु पक्कै सकारात्मक छ । म आफैँ कमलादीमा नयाँ म्यारियट होटेल निर्माण सुरु गर्दै छु । यस्ता पूर्वाधारमा लगानी थपिँदा पर्यटन उद्योगमा राम्रै फाइदा पुग्छ । म भन्छु– इनार जहिले पनि सुक्खा याममा खन्नुपर्छ ।

वर्षात्मा खन्यो भने ४–६ फिटमै पानी आइहाल्छ । सुक्खायाममा इनार खन्दा पानी भेट्टाउन धेरै गहिरो खन्नुपर्छ अनि न हिउँद र बर्षात् जहिले पनि इनारमा पानी आउँछ । अहिले होटेलका लागि खराब समय हो । अहिले काम थाल्दा पछि होटेलको निर्माण सम्पन्न हुँदा पर्यटक खचाखच आउने वेला हुन सक्छ । विश्वव्यापी रूपमा महामारी मत्थर हुँदै गयो र हामीले आफ्ना सेवा सुविधामा छुट दिन सक्यौँ भने पक्कै पनि पर्यटक आकर्षित गर्न सक्छौँ ।

अहिले पनि होटेल निर्माणका लागि कालिगढमा भारतकै भर पर्नुपर्छ । नेपालमा कुनै पनि होटेल बनाउन ६–७ वर्ष लागेको देखिन्छ । हामीले चार वर्षमा म्यारियट होटेल बनायौँ, यो रेकर्ड नै भयो । कमलादीको होटेल तीन वर्षमा बनाइसक्ने योजना छ । तीन वर्षभित्र त पक्कै पनि कोभिडको जोखिम सकिएर नयाँ आशाको किरण देखिइसक्नेछ । विश्वभरका मान्छेहरू घुमफिर गर्न थालिसकेका हुनेछन् । फेरि मान्छे एक वर्षदेखि उकुसमुकुस भएर घरमा बसेको छ । त्यतिवेला होटेलमा कोठा पाउन मुस्किल हुन सक्छ । 
०००
नेपाल ठूलो सम्भावना भएको मुलुक हो । हामीले सम्भावनालाई ‘एक्सप्लोर’ गर्न मात्र नसकेको हो । सम्भावनाअनुरूप संख्यामा पर्यटक आउन थाले भने अहिले भइरहेका होटेलका कोठाले धान्न पनि सक्दैनन् । अहिले केही होटेल निर्माण भइरहेका छन् । केही होटेल निर्माण गर्ने तयारी भइरहेको छ । हामीले भ्रमण वर्ष २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य राख्यौँ । टर्की, थाइल्यान्डलगायत मुलुकले ५–६ करोड पर्यटकको कुरा गर्छन् ।

हाम्रोमा साँच्चिकै २० लाख पर्यटक भित्रिए उनीहरूलाई सेवा दिन कोठा पुग्दैनथ्यो । सबै कुरा ठीकठाक भएमा हाम्रो मुलुकले घटीमा पनि ५० लाख पर्यटकको अपेक्षा गर्ने ठाउँ छ । हामीसँग के छैन, ह्वाइट वाटर्स र्‍याफ्टिङमा नम्बर वान, प्याराग्लाइडिङ, माउन्टेनियरिङ, बञ्न्जी, स्काई डाइभिङ, वाइल्डलाइफ सफारीमा पनि उत्तिकै सम्भवना छ । धार्मिक रूपमा पशुपति, बराहा क्षेत्र, गोसाइँकुण्ड, मुक्तिनाथ, जानकी मन्दिर आदि छन् ।

सफारी गर्नका लागि नेपालको जंगल उत्कृष्ट मानिन्छ । कृषि पर्यटनको पनि ठूलो सम्भवना छ । यति सानो मुलुकमा सबै खालका पर्यटक भित्र्याउन सक्ने सम्भावना छ । सांस्कृतिक, धार्मिक, साहसिकदेखि प्रकृतिसँग रमाउने पर्यटकका लागि नेपाल उत्कृष्ट गन्तव्य हुन सक्छ । हामीले सम्भावना पहिचान गरेर प्रवद्र्धन गर्न नसकेको हो । खालि भाषण गरेर पर्यटक आँदैनन् । 

हामी संस्कृतिमा धेरै धनी छौँ । पर्यटकलाई संस्कृतिमार्फत पनि आकर्षित गर्न सक्छौँ । जसरी पशुपतिमा दैनिक आरती हुन्छ, त्यसरी नै ठाउँठाउँमा लाखेनाच, विभिन्न जात्रा देखाउन सकिन्छ । नेपालमा अवतरण गरेको ७२ घन्टासम्म पर्यटकको बोर्डिङ पासलाई नै विभिन्न ठाउँको प्रवेश पास गरिदिन सकिन्छ । ऊ त्यही बोर्डिङ पास देखाएर घुमफिर गर्छ । 

अहिलेसम्म नेपालका होटेलमा विदेशी लगानी छैन । जति पनि होटेल छन् सबै नेपाली लगानीका हुन् । भैरहवाको टाइगर प्यालेसमा मात्र वैदेशिक लगानी आएको हो । होटेलमा लगानी गर्न नेपाली नै सक्षम देखिएका छन् । कसैले १०–२० अर्बको मेगा प्रोजेक्ट ल्याउन खोज्यो भने विदेशी लगानी आवश्यक पर्ला ।

एकाध अर्बको होटेल खोल्न हामी आफैँ सक्षम छौँ । विदेशी लगानीका रूपमा म्यानेजमेन्ट कम्पनी ल्याएका छौँ । हामीले म्यारियट ब्रान्ड ल्यायौँ, त्यो म्यानेजमेन्ट सँगसँगै ब्रान्ड पनि हो । उसको विश्वभरि सात हजार होटेल छन्, त्यही चेनबाट हामीले बिजनेस पाउ“छौँ ।