मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
कमल खत्री म्याग्दी
२०७८ बैशाख ७ मंगलबार १३:०७:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

६ नेपाली महिलाद्वारा अन्नपूर्णको सफल आरोहण 

Read Time : > 1 मिनेट
कमल खत्री, म्याग्दी
२०७८ बैशाख ७ मंगलबार १३:०७:००

पेसाले फोटो पत्रकारिता गर्ने गोरखाकी ३० वर्षीया पूर्णिमा श्रेष्ठको दुई वर्षदेखिको अन्नपूर्ण हिमाल आरोहण गर्ने सपना पूरा भएको छ । संसारको दशौँ अग्लो (८०९१ मिटर) अन्नपूर्ण प्रथम हिमाल आरोहण गरेकी श्रेष्ठले आफ्नो सपना मात्रै पूरा गरेकी छैनन्, कीर्तिमान बनाउनसमेत सफल भइन् । म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ४ नारच्याङमा अवस्थित अन्नपूर्ण (प्रथम) हिमालमा वैशाख ३ गते श्रेष् सहित ६ जना नेपाली महिलाले पहिलोपटक अन्नपूर्णको चुचुरोमा पाइला टेकेर कीर्तिमान बनाएका हुन् । यसअघि नेपाली महिला कसैले पनि अन्नपूर्णको सफल आरोहण गर्न सकेका थिएनन् । 

आरोहणका लागि जोखिमयुक्त हिमालको रूपमा चिनिएको अन्नपूर्ण प्रथमको चुचुरोमा वैशाख ३ गते पूर्णिमा श्रेष्ठसहित दावा याङजुम शेर्पा, पासाङल्हामु शेर्पा, माया शेर्पा, शर्मिला स्याङतान र डाबुटी शेर्पा गरी ६ जना नेपाली महिलाले सफल आरोहण गर्न सफल भएका हुन् । 

‘दुई वर्षदेखिको दृढ इच्छाशक्तिले अन्नपूर्ण हिमाल आरोहण सफल भएको छ, नेपालमा आठ हजारभन्दा अग्ला दुई हिमाल अन्नपूर्ण र धौलागिरिमा नेपाली महिलाको आरोहण सफल भएको थिएन, यसपटक हामी ६ जना महिला एकैसाथ अन्नपूर्णको चुचुरोमा पाइला राख्न सफल भयौँ,’ आरोही श्रेष्ठले भनिन् । काठमाडौंबाट यात्रा सुरु गरेको एक महिनामा आरोहण सकेर बेनी फर्किएको उनको भनाइ छ । हिमाल आरोहण महिला र पुरुष दुवैका लागि उत्तिकै अप्ठ्यारो, जोखिम र चुनौतीपूर्ण हुने बताउँदै हिमाल आरोहण गर्नु आर्थिक व्यवस्थापनको रूपमा दुईवटा हिमाल चढ्नुजत्तिकै हुने श्रेष्ठले बताइन् ।

 ‘अन्नपूर्ण प्रथमको आरोहणलाई डेन्जर मात्रै होइन डेथ जोनको रूपमा लिने गरिन्छ । अधिकांश आरोहीले अन्य सबै हिमालको आरोहण गरिसकेपछि मात्रै अन्नपूर्णमा जाने गर्छन्, आधार शिविर पुगेपछि मलाई पनि कतै आफ्नो प्राण आफैँ किनेर धरापमा राखेको त छैन भन्ने लाग्थ्यो, तर हिम्मत, साहस र संकल्पसँगै टिमवर्कका कारण सकुशल आरोहण सफल भयो,’ श्रेष्ठले भनिन् ।