मिर्गौला रोगीहरूका लागि गण्डकी प्रदेश सरकारले प्रदान गरेको निःशुल्क डायलाइसिस सेवा वरदान साबित भएको छ । सरकारी प्रयासले महँगो र जटिल उपचार सर्वसाधारणको पहुँचमा पुर्याएपछि बिरामी लाभान्वित भएका हुन् ।
पोखरा महानगरपालिका– १६ लामाचौरकी पूर्णकुमारी गुरुङलाई अब बाँच्ने आस जागेको छ । पोखरास्थित लेखनाथको सरुवा तथा संक्रामक अस्पतालमा डायलाइसिसको उपचारत गुरुङलाई अहिले निःशुल्क उपचार सेवाले सहज भएको हो । ज्यामी काम गर्ने श्रीमानकाे कमाइले उपचार गर्न नसक्ने अवस्थामा पुगेकी गुरुङले यसअघि उपचारका लागि थुप्रै रकम ऋण गरेर खर्च गरिसकेको बताइन्।
‘धेरै अस्पताल पुगियो, उपचारमा थुप्रै रकम खर्च भइसक्यो, अब उपचार गर्न सकिँदैन भनेर आस मारेर बसेका वेला सरकारले निःशुल्क डायलाइसिसले सुविधा दिएपश्चात् बाँच्ने आशा जागेको हो,’ गुरुङले भनिन्, ‘कति ऋण गरियो कति अलिअलि जोरजाम गरेको रकम थियो सबै सकियो, अहिले अलिअलि खर्च गर्न परे पनि ऋण खोज्न हिँड्नुपरेको छैन ।’
सोही अस्पतालमा आमाको उपचारका लागि आएका पोखरा– १४ चाउथेका ट्याक्सीचालक राजकुमार खड्कीले पनि डायलाइलिस सेवा निःशुल्क हुँदा धेरै सहज भएको बताए । उनले भने, ‘उपचार निःशुल्क हुँदा ठुलो राहत मिलेको छ, दिनभर ट्याक्सी चलाउँछु, कहिले दुई–चार हजार, कहिले पाँच–सात सयमा चित्त बुझाउनुपर्छ, यस्तो कमाइले परिवार पाल्न र आमाको उपचार गर्न मलाई गाह्रो भएको थियो, अहिले सहज भएको छ ।’ खड्कीले ०७७ सालमा आमालाई मिर्गौलामा समस्या देखिएपछि विभिन्न अस्पतालमा उपचार गराउँदै आएको बताए।
पोखरा– १३ बाँझापाटनका तारानाथ बराल अहिले डायलाइसिस उपचार गराइरहेका छन् । विगत पाँच वर्षदेखि मिर्गौलाको समस्या झेलिरहेका बरालले निःशुल्क डायलाइसिस सेवा जनताको हितका लागि सरकारको सकारात्मक कदम भएको प्रतिक्रिया दिए । ‘आर्थिक अभावले डायलाइसिस गर्न नसक्नेका लागि यो वरदानजस्तै भएको छ, म सन्तुष्ट छु, मजस्तै अरू पनि लाभान्वित भएका छन्,’ ७१ वर्षीय बरालले भने ।
विगत पाँच वर्षदेखि मिर्गौलाको समस्या खेपिरहेका बराल पोखराको पृथ्वीनारायण क्याम्पसबाट प्रोफेसरको अवकाशप्राप्त व्यक्ति हुन् । बरालले पेन्सनकै भरमा काठमाडौंका विभिन्न अस्पतालमा डायलाइसिस गराउँदै आएका थिए । निकै महँगो उपचार पद्धतिले आजित भएका बराल निःशुल्क सेवाबाट लाभान्वित भएको बताउँछन् ।
डायलाइसिस सेवाका लागि १७२ मेसिन उपलब्ध भए पनि १३७ मात्र सञ्चालनमा छन् । ३४ मेसिन बिग्रिएको अवस्थामा छन् भने एक मात्र ‘ब्याकअप मेसिन’ छ । यस्तै, १५२ सञ्चालनयोग्य शय्या रहेका छन् । दक्ष जनशक्तिका हिसाबले डायलाइसिस सेवामा आठ नेफ्रोलोजिस्ट, नौ एमडिजिपी (तीन तालिमप्राप्त), २६ मेडिकल अफिसर (सात तालिमप्राप्त), ११९ स्टाफ नर्स (८३ तालिमप्राप्त), १० बायोमेडिकल प्राविधिक(आठ तालिमप्राप्त) र ४० सहायक (२१ तालिमप्राप्त) कार्यरत छन् ।
शर्माका अनुसार एकजना बिरामीले प्रत्येक हप्ता दुईपटक डायलाइसिस गर्नुपर्छ । महिनामा आठदेखि केही बिरामीलाई १२ पटकसम्म गर्नुपर्ने हुन्छ । त्यसको महिनाको खर्च ८० हजारसम्म पर्न जान्छ । गण्डकी प्रदेशमा संक्रामक तथा सरुवा रोग अस्पताललाई सरकारी तालिम केन्द्रका रूपमा विकसित गर्दै डायलाइसिससम्बन्धी तालिम प्रदान गर्ने आफ्नै केन्द्र स्थापना गर्ने रणनीति अघि बढाइएको र यसले प्रदेश स्वास्थ्य सेवा सुधारमा ठुलो टेवा पुग्ने विश्वास लिइएको उनको भनाइ छ ।
लेखनाथस्थित संक्रामक तथा सरुवा रोग अस्पतालका कार्यकारी निर्देशक डा. विकास गौचनले मिर्गौला बिरामी निःशुल्क उपचारबाट निकै लाभान्वित भएको बताए । ‘यो महँगो उपचार पद्धति सरकारले निःशुल्क गरेदेखि बिरामीलाई राहत मिलेको छ,’ उनले भने । उनका अनुसार उक्त अस्पतालमा हाल २४ डायलाइसिस मेसिन र १७ शय्या उपलब्ध छन् । एकैपटक १६ मेसिनले सेवा दिन सक्ने व्यवस्था छ भने बाँकी मेसिन ‘ब्याकअप’का रूपमा राखिएका छन् । त्यसले सेवा निरन्तरता सुनिश्चित गर्न मद्दत गर्ने उनले बताए ।
गण्डकी प्रदेशको स्वास्थ्य सेवासम्बन्धी जानकारीअनुसार प्रदेश सरकारले सन् २०२० देखि डायलाइसिस सेवा निःशुल्क उपलब्ध गराउने निर्णय गरेको थियो । मिर्गौला रोगबाट पीडित बिरामीको उपचार लागत घटाउनु र सर्वसाधारणलाई आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराउनु यसको मुख्य उद्देश्य रहेको छ । पोखरा– ३० स्थित संक्रामक तथा सरुवा रोग अस्पतालमा २०७९ असार ९ गतेदेखि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मिर्गौला प्रत्यारोपण सेवासमेत सुरु भएको छ । अहिलेसम्म १३ जनाको सफल मिर्गौला प्रत्यारोपण भइसकेको प्रतिष्ठानका सूचना अधिकारी सुशीलकुमार अर्यालले जानकारी दिए।