मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ बैशाख ७ मंगलबार
  • Tuesday, 15 July, 2025
एजेन्सी नयाँदिल्ली
२o७८ बैशाख ७ मंगलबार o९:o५:oo
Read Time : > 1 मिनेट
विश्व प्रिन्ट संस्करण

नयाँदिल्ली र राजस्थानमा लकडाउन

Read Time : > 1 मिनेट
एजेन्सी नयाँदिल्ली
नयाँ पत्रिका नयाँदिल्ली
२o७८ बैशाख ७ मंगलबार o९:o५:oo

भारतको राजधानी नयाँदिल्ली र राजस्थानमा लकडाउन घोषणा भएको छ । नयाँदिल्लीमा सोमबार राति १० बजेदेखि २६ अप्रिलसम्म लकडाउन हुने मुख्यमन्त्री अरविन्द केजरिवालले पत्रकार सम्मेलनमा जानकारी दिएका छन् । लकडाउन जारी गर्नुअघि नयाँदिल्लीका मुख्यमन्त्री केजरिवालले एक बैठक डाकेका थिए । दिल्लीमा कोरोनाको चौथो लहर तीव्रताका साथ अगाडि बढिरहेका कारण एक साताको लकडाउन गरिएको केजरिवालले बताएका छन् । 

‘दिल्लीमा कोरोनाको चौथो लहर चलिरहेको छ, तेस्रो लहरमा यहाँ दैनिक साढे आठ हजारभन्दा बढी संक्रमित देखिएको थियो, अहिले चौथो लहरमा दैनिक २५ हजारभन्दा माथि केस देखिएपछि यसलाई नियन्त्रण गर्न लकडाउन गरिएको हो,’ पत्रकार सम्मेलनमा केजरिवालले भने । दैनिक २५ हजारभन्दा माथि संक्रमित थप भएपछि नयाँदिल्लीको स्वास्थ्य प्रणालीमा समेत गम्भीर असर परेको उनको भनाइ छ । 

संक्रमण दरमाथि नियन्त्रण नहुँदा दिल्ली डरलाग्दो अवस्थामा पुग्ने उनले बताए । नयाँदिल्लीका नागरिकलाई अत्यावश्यक पर्ने सामग्री सरकारले उपलब्ध गराउने मुख्यमन्त्री केजरिवालले विश्वास दिलाएका छन् । ‘अति नै आवश्यक पर्ने सामग्री सरकारले उपलब्ध गराउनेछ,’ उनले भने । लकडाउनको समयमा नागरिकले अपनाउनुपर्ने प्रोटोकल उनले सार्वजनिक गरेका छन् । अहिले दिल्लीमा अनावश्यक रूपमा घरबाट बाहिर ननिस्कन निर्देशन छ । अति नै आवश्यक परेको अवस्थामा मात्र बाहिर निस्कन केजरिवालले बताएका छन् ।

उनीहरूले बाहिर निस्कनुपर्ने कारण देखाउँदै आफ्नो परिचयपत्र सुरक्षाकर्मीलाई देखाउनुपर्ने हुन्छ । निजी क्षेत्रका कर्मचारीले घरमै बसेर काम गर्नुपर्नेछ । सरकारी कार्यालयमा केवल आधा मात्र कर्मचारीको उपस्थितिमा काम हुनेछ । यसैबीच, कोरोनाविरुद्धको खोप लगाउने व्यक्तिलाई लकडाउनको समयमा छुट दिइएको छ । रेलवे स्टेसन, विमानस्थल र बस स्टेसनमा आउने र जाने छुट छ । यसका लागि यात्रुले मिति ननाघेको टिकट देखाउनुपर्ने हुन्छ । धार्मिक स्थल खुला रहे पनि यहाँ कसैलाई प्रवेशको अनुमति दिइएको छैन । नयाँदिल्लीका मुख्यमन्त्री केजरिवालले दर्शकरहित रंगशालामा खेल सञ्चालन गर्न सकिने बताएका छन् । 

लकडाउनको अवधिमा र्‍याली, सभा तथा धार्मिक कार्यक्रममा पूर्ण प्रतिबन्ध रहेको उनले बताएका छन् । सबै सिनेमा हल, स्पा, जिम, स्विमिङ पुल बन्द रहनेछन् । यसैबीच, अगाडि नै विवाह निश्चित भइसकेको कार्यक्रम गर्न पाइनेछ । केजरिवालले आफू सधैँ लकडाउनको विपक्षमा रहे पनि स्थिति नियन्त्रण लिन निर्णय लिइएको बताएका छन् । उनी भन्छन्, ‘म सधैँ लकडाउनको विरोध गर्छु, तर नयाँदिल्लीको यो अवस्था नियन्त्रणभन्दा बाहिर गइसकेको छ, हामीसँग लकडाउनबाहेक अन्य विकल्प नै छैन, दिल्लीका अस्पतालमा संक्रमित भरिएका छन् ।’ 

लकडाउनका कारण दैनिक ज्यालादारी गर्ने मजदुर समस्यामा पर्ने उनले बताए । ‘यो स्थितिमा दैनिक ज्यालादारी मजदुर धेरै समस्यामा पर्ने देख्छु, म उहाँहरूको समस्या बुझ्छु,’ उनले भने, ‘म ती मजदुरलाई यति भन्न चाहन्छु, तपाईंहरू नयाँदिल्लीबाट बाहिर नजानुस्, यो छोटो अवधिको लकडाउन हो, हामी तपाईंहरूको हेरचाह गर्छौं ।’ 

राजस्थानमा १५ दिनको लकडाउन जारी भएको छ । यो लकडाउन ३ मेसम्म रहनेछ । आइतबार १० हजार संक्रमित बढेपछि राजस्थानले तत्कालै लकडाउन घोषणा गरेको हो । १५ दिन विशेष कामबाहेकका सबै सेवा बन्द रहनेछ । यसअघि, राजस्थानमा शनिबार र आइतबार लकडाउन भइरहेको थियो । नयाँ गाइडलाइनअनुसार राजस्थानमा खानेपानी, दूध, किसान, औषधि, फलफूल, वधशाला तथा होलसेल पसल साँझको ५ बजेसम्म मात्र खोल्न पाइनेछ । 

राजस्थानमा होम डेलिभरीलाई पहिलो प्राथमिकतामा राखिएको छ । पेट्रोल पम्प रातिको ८ बजेसम्म मात्र खोल्ने अनुमति छ । सरकारी खाद्यान्न पसल सातै दिन खुला रहनेछ । यो १५ दिन ठूलो सपिङ मल, सिनेमा घर, धार्मिक स्थल, शिक्षण संस्था, कोचिङ सेन्टर, पुस्तकालय, खेलकुद, मनोरञ्जन र र्‍यालीमा प्रतिबन्ध छ ।