मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ बैशाख ४ शनिबार
  • Monday, 16 December, 2024
निकोलस पाण्डे
२o७८ बैशाख ४ शनिबार १४:३३:oo
Read Time : > 4 मिनेट
Read Time : > 4 मिनेट
निकोलस पाण्डे
नयाँ पत्रिका
२o७८ बैशाख ४ शनिबार १४:३३:oo

निर्माण क्षेत्रलाई मुख्यतः दुई भागमा विभाजन गरेर हेर्न सकिन्छ । एउटा सार्वजनिक निर्माण र अर्को निजी निर्माण क्षेत्र ।सार्वजनिक निर्माण क्षेत्र भन्नाले सरकारले गर्ने बाटो, पुल, खानेपानी, सिँचाइलगायत निर्माण हो । अर्कोतर्फ निजी क्षेत्रले गर्ने निर्माण हो, त्यसमा निजी भवन, निर्माण, जलविद्युत् आयोजनालगायत रहेका छन् ।

सार्वजनिक निर्माणको काम पछिल्लो समय कोभिडले समस्यामा पर्‍यो । खोलेपछि पनि विविध समस्या आउँदा सोचेजसरी अघि बढ्न सकिरहेको छैन । विशेषगरी खोलानालाबाट प्राप्त हुने निर्माण सामग्री अभावले पनि ठप्पजस्तै भयो । त्यसपछि डन्डीको मूल्य वृद्धि भयो । यसकारण निर्माण क्षेत्रमा ठूलो असर परिरहेको छ । 

पछिल्लो समयमा भने सिमेन्ट र डन्डीको मूल्यमा स्थिरता आएको छ । यससँगै निर्माणको कामले पनि गति लिएको छ । अहिले सार्वजनिक निर्माण गर्ने निर्माण व्यवसायीले निर्माण गरेको कामको भुक्तानी भइरहेको छैन । यसले नयाँ काम गर्न सक्ने अवस्थामा निर्माण व्यवसायी छैनन् । रकम प्राप्त नहुनुमा विविध कारण होलान् । त्यसमा एउटा कारण आयोजनाको म्याद सकिएको र काम पनि सकिएको अवस्थामा पनि भुक्तानीमा कानुनी समस्या भइरहेको देखिन्छ । नेपालीमा यस्ता चुनौती आइरहेका हुन्छन् र त्यसलाई चिर्दै काम गर्नुपर्ने अवस्था छ ।

निर्माण क्षेत्रको ५० वर्षे इतिहास
नेपालमा निर्माण क्षेत्रको विकासक्रम व्यवस्थित रूपमा भएको पाइँदैन । अहिले यो क्षेत्र संस्थागत रूपमा अघि बढेको पनि ३० वर्ष नाघिसकेको छ । तर, निर्माण क्षेत्रलाई पहिचान गरेको इतिहास भने ५० वर्ष पुगिसकेको छ । यसकारण यो पनि बृहत् र फैलिएको क्षेत्र हो, तर अझै अपेक्षित रूपमा व्यवस्थित हुन भने सकेको छैन । थालनीमा विदेशी आएर विभिन्न निर्माणको काम गर्दा त्यसका सहयोगी भएर काम थालनी गरेको देखिन्छ । पछि आफैँ सक्षम भएपछि जिम्मेवारी लिएर काम गरिरहेको इतिहास छ । तर, अझै पनि ठूला पूर्वाधार सबै गर्न सक्ने अवस्थामा नेपाली कम्पनीहरू छैनन् । 

यो क्षेत्रलाई अझ व्यवस्थित बनाउन भने आवश्यक छ । आफ्नो कम्पनीलाई कसरी ठूलो बनाउने भन्ने सोच रहे पनि अन्य कानुनी र नैतिक पक्षमा कमजोरी भइरहेको पाइन्छ । योजनाबद्ध काम नगर्दा धेरै निर्माण व्यवसायी समस्यामा परेका पनि छन् । एउटा व्यावसायिक रूपमा अघि बढ्न सकिरहेका छैनन् । व्यवस्थित र व्यावसायिक रूपमा काम भइरहेको पाइँदैन । गुणस्तरमा पनि सम्झौता गर्नुपर्ने अवस्था छ । तर, सबै खराब छन् भन्ने पनि होइन । 

उद्यमशील विकासका लागि प्रशस्त ठाउँ
नेपाल अहिले विकासको प्रारम्भिक चरणमा छ । यस चरणमा हिँडिरहेका देशका लागि निर्माण एउटा महत्वपूर्ण क्षेत्र हो । पूर्वाधार विकासविना मुलुकले अपेक्षा गरेको समृद्धि हासिल गर्न सक्दैन । यसकारण पनि विकासको चरणमा अघि बढ्दै गएको देशका लागि निर्माण क्षेत्र अपेक्षित उद्देश्य प्राप्त गर्न सहयोग पुर्‍याउने आधार हो । कुनै पनि देश विकसित अवस्थामा पुग्नुभन्दा अघि त्यस देशको पूर्वाधार तयार हुनुपर्छ । पूर्वाधार निर्माण नभएसम्म अन्य कुनै पनि क्षेत्र फस्टाउन सक्दैन ।

तर, अहिलेसम्म सबै कामलाई एउटै निर्माण कम्पनीले समट्ने वा काम गर्ने गरी अघि बढ्दै आएका छौँ । यसको सट्टा अब भवन निर्माण छ भने त्यसको भवन एउटाले बनाउने, तर त्यसमा गर्नुपर्ने विद्युतीकरणको काम अर्कोले गर्ने, ट्वाइलेटको काम अर्कोको जिम्मा दिने, फर्निचर अर्कोले गर्ने गर्न सकियो भने लागत पनि घट्छ । उद्यमशीलता भने बढेर जानेछ । यसले काममा पनि प्रभावकारिता आउँछ । एउटै कम्पनीले सबै काम गर्न खोज्दा घाटा वा धेरै लागत पुग्न सक्छ । यसकारण अब नयाँ तरिकाले कुनै कामविशेष भइरहँदा उद्यमशीलताको विकास र यस क्षेत्रको विस्तार गर्न सकिन्छ । देश विकासको एउटा उच्च चरणमा नपुगेसम्म यो क्षेत्र विस्तार हुँदै अघि बढ्नुको विकल्प छैन । 

हाम्रो देशका  युवा खाडी मुलुकमा छन् । तर, देशभित्र नै हामीले ठूला आयोजना निर्माणलाई अघि बढाउनुपर्ने आवश्यकता पनि आइपरेको छ । एकैचोटि धेरै आयोजना आए भने दक्ष कामदारको त कुरै छाडौँ, अदक्ष कामदार पनि नपाउने अवस्था छ ।

अहिले निर्माण क्षेत्रसहित कृषि, उद्योगलगायतमा पनि अधिकतम उत्पादकत्व वृद्धि गर्ने सरकारको चाहना छ । देशभित्र नै यस्तो अवस्था सिर्जना गर्न सकियो भने रकम बाहिर जानबाट बच्छ । एउटा उद्योग स्थापना भएपछि त्यसले उत्पादन गरेका सामग्री बजारमा प्रतिस्पर्धी बनाउन र अर्को ठाउँमा पुर्‍याउन सडक पूर्वाधार आवश्यक हुन्छ । यसलाई यसरी पनि भन्न सकिन्छ कि कुनै पनि कलकारखाना सञ्चालन गर्न पनि पूर्वाधार निर्माण गरिएको हुनुपर्छ ।

जलविद्युत् आयोजना निर्माण गनुपर्‍यो भने आयोजना निर्माणस्थलसम्म पुग्ने पहुँचमार्ग तयार भएको हुनुपर्छ । यसले उत्पादित सेवा वा सामानलाई पनि सस्तो र सहज उपलब्ध बनाउन सहयोग पुग्छ । होइन भने उत्पादन नेपालमा गर्ने, तर आफ्नै देशमा उत्पादन गरिएको सामानभन्दा भारतबाट ल्याएको सामान सस्तो हुनुभएन । यसकारण पनि निर्माण क्षेत्रको महत्वलाई बुझेर सरकारले प्राथमिकताहरूको अग्रभागमा राखेर निर्माण क्षेत्रलाई हेर्नुपर्छ । त्यसले समग्र विकासलाई सहयोग पुर्‍याउँछ । 

अर्कोतर्फ आर्थिक विकासमा निर्माण व्यवसायको भूमिका महत्वपूर्ण छ । अहिले पनि निर्माण व्यवसायमा करिब १० लाख मानिसले प्रत्यक्ष र अप्रत्यक्ष रूपमा रोजगारी पाइरहेका छन् । त्यस्तै, अहिले देशमा आत्मनिर्भर भएका उद्योगहरू, जस्तै : डन्डी, सिमेन्टलगायतलाई यो अवस्थामा पुर्‍याउन भूमिका खेल्ने निर्माण क्षेत्र नै हो । निर्माण उद्योग क्रियाशील रहेकाले नै ती उद्योग सुचारु भइरहन पाएका हुन् । यसकारण आत्मनिर्भर उद्योग क्षेत्र बनाउन पनि निर्माणले नै सहयोग गरिरहेको छ । सरकारले निर्माण क्षेत्रका लागि भनेर ढुंगा, गिट्टी, बालुवाको खानी तोकिएको छैन । त्यसले गर्दा आयोजना निर्माण गरिरहेको ठाउँमा कहाँबाट निर्माण सामग्री ल्याउने स्पष्ट छैन । निर्माण सामग्री प्राप्त गर्न गाह्रो पर्ने, पाए पनि भनेजस्तो गुणस्तरको नपाउने समस्या छ । यसलाई सुधार गर्नुपर्नेछ । 

दक्ष जनशक्ति उत्पादनको स्रोत
हाम्रो देशका युवा खाडी मुलुकमा छन् । तर, देशभित्र नै हामीले ठूला आयोजना निर्माणलाई अघि बढाउनुपर्ने आवश्यकता पनि आइपरेको छ । एकैचोटि धेरै आयोजना आए भने दक्ष कामदारको त कुरै छाडौँ, अदक्ष कामदार पनि नपाउने अवस्था छ । तर, व्यावसायिक निकाय वा सरकार र निजी क्षेत्र मिलेर दक्ष जनशक्ति उत्पादन गर्ने संस्था स्थापना गर्नु आवश्यकता भइसकेको छ । त्यसले नेपालमै काम गरे पनि दक्षतापूर्वक गर्न सक्ने बनाउँछ । विदेश नै जाने हो भने पनि काममा सीप भएपछि थोरै तलबमा जानुपर्दैन । 

अदक्ष रूपमा खाडी मुलुक गइरहेका छन्, त्यसरी जानेलाई दक्ष बनाएर पठाउन सकिन्छ । निर्माण क्षेत्रमै गएकालाई पनि दक्ष बनाएर पठाउन सकिएमा उनीहरू फर्किएर आउँदा अनुभव र दक्षता लिएर आउँछन् । त्यसले देशको निर्माणमा पनि टेवा पुर्‍याउन सक्छ । अर्कोतर्फ नेपालकै विभिन्न आयोजनामा काम गरिरहेका मजदुर पनि काम गर्दै जाँदा दक्ष कामदार हुन्छन् । त्यसले अन्ततः हामीलाई नै फाइदा गर्छ । 

व्यावसायिक निर्माण क्षेत्रको आवश्यकता 
सानासाना काम गर्ने र त्यसलाई उद्यमका रूपमा विकास गर्नुपर्ने आवश्यकता छ । अहिले क्रियाशील निर्माण व्यवसायीसँग पनि केही न केही खुबी छन् । अधिकांश मानिस निर्माण क्षेत्रमा अध्ययन गरेर दक्ष बनेका होइनन् । काम गरेर दक्षता हासिल गरेका मानिस छन् । यसकारण काम गरेरै साना निर्माण व्यवसायीमा काम लगाउन सक्ने, गर्न सक्ने, खट्न सक्ने क्षमता छ ।

अहिले पनि निर्माण व्यवसायमा करिब १० लाख मानिसले प्रत्यक्ष र अप्रत्यक्ष रूपमा रोजगारी पाइरहेका छन् । त्यस्तै, 
देशमा आत्मनिर्भर भएका उद्योग, जस्तै : डन्डी, सिमेन्टलगायतलाई यो अवस्थामा पुर्‍याउन भूमिका खेल्ने निर्माण क्षेत्र नै हो ।

उनीहरूलाई पनि सम्बोधन हुने खालको नीति आवश्यक छ । अहिले १२ हजारभन्दा बढी निर्माण व्यवसायी रहेकोमा त्यसलाई व्यवस्थित बनाउन मर्ज हुने खालको वातावरण बनाउन आवश्यक छ । समायोजन गरेर कम्पनीको क्षमता वृद्धि हुने, तर सबै अटाउने गरी अघि बढाउनुपर्छ । त्यसो गर्नका लागि प्रोत्साहन गर्ने खालको नीति आवश्यक देखिएको छ । अर्को विषय यो क्षेत्रमा काम गर्ने मानिसलाई यो व्यवसायप्रति सम्मानको अनुभव होस् । यो पेसा गर्दा सम्मान पनि पाउँछु र रकम पनि पाउँछु भन्ने वातावरण सिर्जना गर्नुपर्छ । 

त्यस्तो गर्न सकेमा अन्ततः फाइदा सरकारलाई नै हुन्छ । अहिले निर्माण क्षेत्र घरघरको आवश्यकता पूरा गर्ने अवस्थामा नै छैन । त्यसो गर्न सकिएको पनि छैन । पानीको पाइप फुट्यो वा विद्युत्को कुनै मर्मत गनुपर्दा कहाँ सम्पर्क गर्ने नै थाहा छैन । अब सबै मर्मतसम्भारको कामलाई जोड्ने केन्द्रहरू विकास गर्नुपर्छ । जसले काम गर्नेको रोजगारी पनि होस् अनि खोजेको सेवा पनि पाइयोस् । यसको उद्यमशीलताको पनि विकास गर्छ । 

यो क्षेत्रलाई अनौपचारिक रूपमा हेरिएको छ । काम परेपछि निर्माण गर्ने, कामदार खोज्ने होइन, तथ्यांकमा आधारित भएर कुन क्षेत्रमा के काम आवश्यक छ, कति कामदार चाहिन्छ, कति निर्माण सामग्री आवश्यक छ भन्ने अग्रिम जानकारी लिने र त्यसअनुसार तयार गर्न पाइयोस् ।

आवश्यक जनशक्ति विकास गर्न पाइयोस्, यसका लागि सरकारले नीति बनाइदिनुप¥यो । निजी क्षेत्र र सरकारले लगानी गर्ने र आवश्यक संस्थाहरूको निर्माण गर्न आवश्यक छ । कुनै युवा निर्माण क्षेत्रमा आउँदाखेरि पुरानो शैली र त्यही ढर्रामा काम गर्नलाई नआए पनि हुन्छ । तर, अलि भिन्न गर्छु भन्ने हो भने जति पनि ठाउँ छन् । फरक सोच र प्रविधिलाई उतार्ने सोच हुनुपर्छ । निर्माणका नयाँ मोडललाई ल्याउने र काम गर्न सक्नुपर्छ । यस्तो काममा सरकारले पनि सहयोग गर्नुपर्छ ।