मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ बैशाख १ बुधबार
  • Monday, 16 December, 2024
करिडोर जाम हुने गरी पार्किङ गर्ने एक सयभन्दा बढी सवारी दैनिकजसो कारबाहीको दायरामा परेका छन् । जथाभावी पार्किङ गर्ने प्रवृत्ति बढेपछि ट्राफिक प्रहरीले अपरेसन थालेको छ । तस्बिर : संजित परियार/नयाँ पत्रिका
मञ्जु टेलर काठमाडौं
२o७८ बैशाख १ बुधबार ११:१३:oo
Read Time : > 3 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

राजधानीका मुख्य सडकमा सवारी चाप कम गर्न बनाइएका करिडोर नै अस्तव्यस्त

Read Time : > 3 मिनेट
मञ्जु टेलर, काठमाडौं
नयाँ पत्रिका
२o७८ बैशाख १ बुधबार ११:१३:oo

काठमाडौंका मुख्य सडकमा हुने सवारी चाप कम गर्न प्रयोगमा आएका सडक करिडोर नै जथाभावी पार्किङले अस्तव्यस्त बन्न थालेका छन् । उपत्यकाका विष्णुमती, बागमती, धोबीखोला र मनोहरा करिडोरसँगै १० वटा खोलाकिनारको सडकमा स्थानीयले जथाभावी पार्किङ गरिँदा सडक जाम बढ्न थालेको हो । 

सहरी विकास मन्त्रालय र अधिकारसम्पन्न बागमती सभ्यता आयोजनाअन्तर्गत निर्माण भएका र निर्माणाधीन करिडोरमा पार्किङको व्यवस्थापन नहुँदा सडकको दायाँबायाँ लस्करै सवारीसाधन पार्किङ गरिँदै आएको छ । सवारी जाम व्यवस्थापनका लागि विकल्प बनेका करिडोरमै १० देखि १५ मिनेटसम्म जाम हुन थालेको छ ।

बागमती करिडोरबाहेक धोबीखोला, विष्णुमती र मनोहरासँगै अन्य सहायक खोला गरी १० वटा खोलाकिनारमा करिडोर सञ्चालनमा आइसकेका छन् । अधिकारसम्पन्न बागमती सभ्यता आयोजना, काठमाडौं उपत्यका विकास समितिअन्तर्गत निर्माण भइरहेका करिडोरमा लगभग ७० प्रतिशत निर्माण सम्पन्न भइसकेको छ । निर्माण भएका सडकखण्डमा सवारी सञ्चालनमा आइसकेका छन् ।

एसपी श्यामकृष्ण अधिकारी प्रवक्ता, ट्राफिक प्रहरी महाशाखा 

सडक नै जाम हुने गरी पार्किङ गर्ने सवारीधनीलाई कारबाही गर्दै आए पनि अव्यवस्थित पार्किङ गर्ने प्रवृत्ति घट्न सकेको छैन । महाशाखामा एउटै सवारीधनी एक सय ४१ पटक ट्राफिक कारबाहीमा परेको तथ्यांक छ । जनशक्तिको अभावमा सबै स्थानमा एकैचोटि ट्राफिक परिचालन गर्न सकिँदैन, बढी भिडभाड भएका स्थानमा हामीले कारबाही गरिरहेका छौँ । 

हाल ३८ किलोमिटर लामो बागमती करिडोरअन्तर्गत सुन्दरीजलदेखि चोभारसम्मको सडकखण्ड १० किलोमिटर र बागमतीको तल्लो क्षेत्रमा सिनामंगलदेखि थापाथलीछेउमा रहेको सुकुम्बासी बस्ती नहटाइएकाले करिब ३.५ किमि अझै बाँकी रहेकाले १३.५ किलोमिटर सडक मात्र निर्माणाधीन छ । योबाहेकको सडकमा ढल र अन्य निर्माण कार्य सम्पन्न भएर प्रयोगमा आइसकेको छ । 

खोलाको बहाव क्षेत्र निर्धारण गरेर तटबन्ध लगाउने र ढल व्यवस्थापन गरी खोलाको दुवैतर्फ निर्माण भएका सडकखण्डले उपत्यकाको ट्राफिक जामलाई पूर्ण रूपमा व्यवस्थापन गर्न सकिने अपेक्षा गरिएको थियो । अझै बल्खु खोला, नख्खु, कर्मनाशा, हनुमन्तेजस्ता खोलाकिनारका करिडोर निर्माणाधीन अवस्थामा छन् । खोलाकिनार व्यवस्थित हुन थालेपछि निजी कार्यालय, होटेल, रेस्टुराँ, फुटसल, व्यावसायिक मल खुलेसँगै करिडोर भिडभाड देखिन थालेको हो ।

मुख्य सडकको घन्टौँसम्म हुने जाम हट्यो 
करिडोर र शाखा सडक सञ्चालनमा आएपछि उपत्यकामा घन्टौँसम्म हुने जाम हटेको छ । मुख्य चोकहरूमा निश्चित समय निर्धारण गरेर राखिएका ट्राफिक लाइटले गर्दा लामो समय जाममा बस्नुपर्ने भन्झट हटेको हो । तर, ‘सब वे’का रूपमा सञ्चालनमा आएका सडकहरू व्यवस्थित नहुँदा जामले अस्तव्यस्त बन्न थालेका छन् । शाखा सडकबाट यात्रा गर्दा समय कम लाग्ने, जाम नहुने र भिडभाड नहुने हुँदा सुरक्षित हुने भनिए पनि जथाभावी पार्किङ, सडक क्षमताभन्दा ठूला सवारी चलाउने प्रवृत्तिले करिडोरसँगै शाखा सडकमा पनि जाम हुन थालेको छ । काठमाडौं उपत्यकामा हाल लगभग १३ लाख सवारी गुड्छन् । बर्सेनि अत्यधिक सवारी आयात हुने र सडक व्यवस्थित नहुँदा सडकमा जाम व्यवस्थित गर्न नसकिएको ट्राफिक प्रहरीको भनाइ छ । 

अव्यवस्थित पार्किङबाट दैनिक तीनदेखि पाँच लाख जरिवाना
महानगरीय ट्राफिक महाशाखाका अनुसार अव्यवस्थित पार्किङबाट दैनिक तीनदेखि पाँच लाख रुपैयाँसम्म जरिवाना संकलन गरिँदै आएको छ । उपत्यकामा मात्रै दैनिक पाँच सयभन्दा बढी सवारी अव्यवस्थित पार्किङ गरिएको भन्दै ट्राफिक प्रहरीले कारबाही गर्दै आएको छ । यसबाहेक महानगरभित्र सडकखण्डमा रहेका अव्यवस्थित पार्किङ नगर प्रहरीले समेत व्यवस्थापन गरिरहेको छ । सडक नै ढाक्ने गरी गरिएका पार्किङमा भने महाशाखाले ट्राफिक परिचालन गरेर प्रतिसवारी एक हजार रुपैयाँ जरिवाना गर्दै आएको छ । ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता एसपी श्यामकृष्ण अधिकारी भन्छन्, ‘सडक नै जाम हुने गरी पार्किङ गर्ने सवारीधनीलाई कारबाही गर्दै आए पनि अव्यवस्थित पार्किङ गर्ने प्रवृत्ति घट्न सकेको छैन । महाशाखामा एउटै सवारीधनी एक सय ४१ पटक ट्राफिक कारबाहीमा परेको तथ्यांक छ ।’ 

सडकछेउमा सवारी आवागमनलाई असर नपर्ने गरी गरिएका पार्किङलाई ट्राफिकले कारबाही गरेको छैन । तर, करिडोरमा चल्ने सवारीको संख्या बढेसँगै अव्यवस्थित पार्किङ पनि बढेको छ । ट्राफिक प्रहरी महाशाखासँग अव्यवस्थित पार्किङबाट एउटै व्यक्तिले ७० हजारभन्दा बढी रकम जरिवाना तिरेको उदाहरण छ । ट्राफिकले समय–समयमा विभिन्न अपरेसन नै गरेर सवारी व्यवस्थापनमा लागे पनि शाखा सडक र करिडोरमा हुने अव्यवस्थित पार्किङमा कमी आएको पाइँदैन । 

ट्राफिक प्रहरी महाशाखाका अनुसार सीमित ट्राफिक जनशक्ति र उच्च सवारी चापका कारण सवारी व्यवस्थापनमा कठिनाइ भइरहेको छ । विशेषगरी कार्यालय जाने–आउने समयमा सडकमा अत्यधिक जाम हुने गर्छ । यस्तै करिडोरनजिक बनेका व्यावसायिक स्थल र पार्टी प्यालेसले गर्दासमेत एउटै स्थानमा सडक नै जाम हुने गरी पार्किङ गरिएको भेटिन्छ । महाशाखाका प्रवक्ता अधिकारी भन्छन्, ‘जनशक्तिको अभावमा सबै स्थानमा एकैचोटि ट्राफिक परिचालन गर्न सकिँदैन, बढी भिडभाड भएका स्थानमा हामीले कारबाही गरिरहेका छौँ ।’ 

करिडोर व्यवस्थित हुन नसकेपछि मुख्य सडकमा सवारी चाप
जथाभावी पार्किङ बढेसँगै ट्राफिक महाशाखाले करिडोर व्यवस्थापनका लागि विशेष अपरेसन सञ्चालनमा ल्याएको छ । तर पनि अनधिकृत पार्किङ भने रोकिएको छैन । महानगरीय ट्राफिक प्रहरी महाशाखाले करिडोर सडक व्यवस्थापनका लागि २४ खण्डमा विभाजन गरी १७ जना ट्राफिक प्रहरीको टोली खटाइएको छ । टोलीले मोटरसाइकलमा यी क्षेत्रको निरन्तर अनुगमन गर्दै आए पनि सडक जाम हुने गरी गरिने पार्किङ रोकिएको पाइन्न । करिडोरमा हुने सवारी चाप, सवारी दुर्घटनामा शीघ्र ट्राफिक परिचालन तथा अव्यवस्थित रूपमा हुने पार्किङलाई नियन्त्रण गर्न डेडिकेटेड टिम परिचालन गरिएको महाशाखाका प्रवक्ता एसपी अधिकारीले बताए ।

काठमाडौंमा मुख्य सडकमा हुने जामलाई लक्षित गरी सञ्चालनमा ल्याइएका करिडोरहरू नै व्यवस्थित हुन नसकेपछि मुख्य सडकमा सवारीको चाप बढेको छ । ट्राफिक प्रहरी महाशाखाले भने करिडोर व्यवस्थापनका लागि छुट्टै अपरेसन थालेकाले पूर्ण व्यवस्थापनका लागि केही समय लाग्ने बताएको छ । प्रवक्ता एसपी अधिकारी भन्छन्, ‘करिडोरमा ट्राफिक प्रहरीले अनुगमन गरेर दैनिक पार्किङ हटाइरहेको छ । खोलाकिनारमा सशुल्क पार्किङ नहुँदा सडकछेउको पार्किङ धेरै बढेको पाइएको छ । महानगरपालिकाले पार्किङको व्यवस्था गर्नुपर्ने आवश्यकता देखिएको छ ।’ महाशाखाले करिडोरमा मात्रै सडक जाम हुने गरी पार्किङ गरिएका दैनिक एक सयभन्दा बढी सवारीलाई कारबाहीको दायरामा लिँदै आएको छ ।