मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ बैशाख १ बुधबार ०६:५३:००
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

राजनीतिक नैतिकता  निर्वाह होस् : पूर्वराजा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ बैशाख १ बुधबार ०६:५३:००

पूर्वराजा ज्ञानेन्द्र शाहले निषेध र प्रतिशोधको चक्रव्यूहबाट बाहिर आउनुपर्नेमा जोड दिएका छन् । नयाँ वर्ष ०७८ का अवसरमा भारतको हरिद्वारबाट सन्देश जारी गर्दै उनले सबैले जनताप्रति उत्तरदायित्व निर्वाह गर्नुपर्नेसमेत बताएका छन् । हरेकपटक नयाँ वर्षमा रहने सुख, समुन्नति, शान्ति र सन्तुष्टिको अपेक्षा चकनाचुर हुँदै गएको भन्दै उनले असन्तुष्टि व्यक्त गरेका छन् । हिमाल, पहाड र तराईमा नेपाली विनाभेदभाव र विनासंकोच मिलेर जानुपर्ने उनको भनाइ छ । 

‘राजनीतिक नैतिकता, जनताप्रतिको उत्तरदायित्व, निष्ठा र इमानदारी हामी सबैमा हुनुपर्छ । यसका लागि आपसी भाँडभैलो, अनमेल र द्वन्द्वको अन्त्य हुनुपर्छ, अनि समन्वय, सामञ्जस्य पनि रहनुपर्छ,’ पूर्वराजाको सन्देशमा छ, ‘हाम्रा पितापुर्खा तथा त्यागी वीर–वीरांगनाले जोगाएको हाम्रो साझा बारी नेपाललाई सबै मिलेर स्याहारसुसार गर्नु र सजाउनु छ । यसका निम्ति हिमाल, पहाड, तराई सबै नेपाली विनाभेदभाव र विनासंकोच मिलेर जानु छ ।’ 

उनले दोहन, आर्थिक अपचलन एवं वैदेशिक प्रभाव र परनिर्भरता त्याग्दै जानुपर्नेमा पनि जोड दिएका छन् । ‘टाठाबाठा मात्र सुखी, सम्पन्न, सुविधाभोगी हुँदै जाने, अरू निमुखा सर्वसाधारणको जीवनस्तर कहिल्यै नउठ्ने गतिविधि र पद्धति पनि त्याग्नैपर्ने हुन्छ,’ उनको सन्देशमा छ, ‘नेपाली हामी फुटेर होइन, जुटेर शक्ति संरक्षण गरौँ । एकतामा हाम्रो सफलता छ, यसैमा देशको कल्याण छ ।’ पूर्वराजाले पहाडमा आधुनिकताको लहर विस्तार गर्न, तराईका फाँटहरूलाई झुलाउन र हिमाली तथा उच्च पहाडी क्षेत्रमा फलफूल प्रशोधन, जडीबुटी उद्योग खोल्न आह्वानसमेत गरेका छन् ।