मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत ६ मंगलबार
  • Tuesday, 19 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ चैत ३० सोमबार १९:२६:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नौलीखोला तेस्रो लघुजलविद्युत् पुनर्निर्माणमा भ्रष्टाचार, जनप्रतिनिधिसहित सातजनाविरुद्ध मुद्दा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ चैत ३० सोमबार १९:२६:००

गोरखाको धार्चे गाउँपालिका– ७ मा रहेको नौलीखोला तेस्रो लघुजलविद्युत आयोजना पुनर्निर्माण तथा मर्मतमा भ्रष्टाचार भएको पाइएको छ । 

पुनर्निर्माणको अनुगमन नै नगरी १० लाख ६३ हजार रुपैयाँ बढी भुक्तानी दिइएको पाइएपछि अख्तियारले सोमबार धार्चे गाउँपालिकाका वडा नम्बर– ७ का वडाध्यक्ष, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत, इन्जिनियर र उपभोक्ता समितिका पदाधिकारीसहित सातजनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

अख्तियारले १० लाख ६३ हजार ५० रुपैयाँ बिगो कायम गरी तत्कालीन प्रमुख प्रशासकीय अधिकृत बाबुराम पाण्डे, इन्जिनियर प्रवीण वस्ती र सबइन्जिनियर रामनारायण चौधरी तथा उपभोक्ता समितिका अध्यक्ष दमाईं गुरुङ, सचिव हसिमान गुरुङ र कोषाध्यक्ष अनिता गुरुङ तथा वडा नम्बर ७ का वडाध्यक्ष सूर्यमान गुरुङविरुद्ध मुद्दा चलाएको हो । 

पाण्डे, वस्ती र चौधरीले झुटा बिल–भर्पाइ सदर गरेको, अनुगमन नै नगरी गलत नापी किताब प्रतिवेदन तयार गरी बढी रकम भुक्तान गरेको आरोप छ ।
उपभोक्ता समितिका पदाधिकारीले प्राविधिकसमेतको मिलेमतोमा कामभन्दा बढी मूल्यांकन गर्न लगाएकोे झुटा बिल–भर्पाइ बनाएको र कामै नभई सम्पन्न भनेर प्रतिवेदन तयार गरेको आरोप अख्तियारको छ । 

वडाध्यक्ष एवं वडास्तरीय अनुगमन तथा सुपरीवेक्षण समितिका अध्यक्ष गुरुङले आफ्नो वडाभित्रका योजनाको अनुगमन÷सुपरीवेक्षण गरी भए–गरेका कार्यको मात्र भुक्तानीका लागि सिफारिस गर्नुपर्दथ्यो । तर, उनले उपभोक्ता समितिका अध्यक्ष र प्राविधिकसमेतको मिलेमतोमा गलत अनुगमन प्रतिवेदन गर्न लगाई भ्रष्टाचार गरेको अख्तियारको दाबी छ । 

सातजनाविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ अनुसार मुद्दा दायर गरिएको अख्तियारका सूचना अधिकारी वेदप्रसाद भण्डारीले जानकारी दिए ।