मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७७ चैत २९ आइतबार ११:०३:००
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

एपिएफलाई ललितपुर मेयर महिला टी–२० क्रिकेटको उपाधि

Read Time : > 1 मिनेट
२०७७ चैत २९ आइतबार ११:०३:००

- विजेता : एपिएफ क्लब
- उपविजेता : सुदूरपश्चिम प्रदेश
- सर्वाेत्कृष्ट खेलाडी : सीता रानामगर (एपिएफ)
- उत्कृष्ट ब्याट्सम्यान : रुबिना क्षेत्री बेलवासे (प्रदेश १)
- उत्कृष्ट बलर : बिनु बुढा (एपिएफ)

विभागीय टोली एपिएफले ललितपुर मेयर महिला टी–२० क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनल खेलमा सुदूरपश्चिम प्रदेशलाई आठ विकेटले पराजित गर्दै एपिएफले उपाधि पक्का गरेको हो ।

नेपाल क्रिकेट संघ (क्यान)ले ललितपुर महानगरपालिकाको आर्थिक सहयोगमा पहिलोपटक आयोजना गरेको यो प्रतियोगिताको पहिलो उपाधि एपिएफले जितेको हो ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जिती पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय ६ रनको योगफल तय गरेको थियो । जवाफमा एपिएफले १६.२ ओभरमा मात्रै दुई विकेट गुमाएर जित हासिल गरेको थियो । एपिएफको जितमा प्रारम्भिक ब्याट्सम्यान ज्योति पाण्डेले सर्वाधिक ३६ र कप्तान सीता रानामगरले २७ रनको योगदान दिए ।

ज्योतिले आफ्नो इनिङमा पाँच र सीताले चार चौका प्रहार गरेकी थिइन् । इन्दु बर्मा १९ र ममता चौधरी १५ रनमा अविजित रहे । टोलीको जितमा महत्वपूर्ण योगदान पुर्‍याएकी ज्योति फाइनल खेलको उत्कृष्ट खेलाडी चुनिइन् ।

सुदूरपश्चिमका लागि भने बिन्दु रावलले अविजित रहँदै सर्वाधिक ४४ रनको योगदान गरे पनि टोलीको जितका लागि पर्याप्त भएन । डोली भट्टले १४, कविता कुँवरले १३ र रेवती धामीले १० रन जोडेका थिए । अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् ।

बलिङतर्फ एपिएफका रेखा रावल, करुणा भण्डारी, सुष्मा श्रेष्ठ, सीता रानामगर र बिनु बुढाले समान एक–एक विकेट लिए । सुदूरपश्चिमले एपिएफको दुवै विकेट रनआउटको रूपमा प्राप्त गरेको हो । उपाधिसँगै एपिएफले तीन लाख रुपैयाँ प्राप्त गरेको छ । उपविजेता सुदूरपश्चिमले एक लाख ५० हजार प्राप्त गरेको छ । 

प्रतियोगितामा प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेका चार टोली र प्रायोजक ललितपुर महानगरपालिकाको एक गरी पाँच टोलीको सहभागिता थियो । आठ दिनसम्म चलेको प्रतियोगितामा पाँच टोलीले राउन्ड रोबिन लिग प्रणालीमा एक–अर्काविरुद्ध प्रतिस्पर्धा गरेका थिए । लिगको शीर्ष दुई स्थानमा रहेका टोलीले फाइनलमा उपाधिका लागि प्रतिस्पर्धा गरेका हुन् । 

प्रतियोगितामा एपिएफकी कप्तान सीता सर्वाेत्कृष्ट खेलाडी बनिन् । त्यसबापत उनले २५ हजार रुपैयाँ प्राप्त गरिन् । प्रदेश १ की कप्तान रुबिना क्षेत्री बेलवासे प्रतियोगिताको उत्कृष्ट ब्याट्सम्यान र एपिएफकी बिनु उत्कृष्ट बलर घोषित भइन् । उत्कृष्ट घोषित दुवै खेलाडीले जनही १५ हजार रुपैयाँ प्राप्त गरेका छन् ।