१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
२o८१ बैशाख २४ सोमबार o६:२९:oo
Read Time : > 2 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

पाँच वर्षमा नेपालमा १०७ गैँडा बढे, अब नेपालमा एकसिंगे गैँडाको संख्या ७५२ 

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार o६:२९:oo

नेपालमा एकसिंगे गैँडाको संख्या सात सय ५२ पुगेको छ । ९ देखि २८ चैतसम्म गरिएको गैँडा गणनाको नतिजा शनिबार सार्वजनिक गर्दै वन मन्त्रालयका सचिव विश्वनाथ ओलीले यसअघिको गणनामा भन्दा एक सय सातवटा गैँडा बढेको नयाँ तथ्यांक सार्वजनिक गरेका हुन् । 

गणनामा चितवन निकुञ्ज, मध्यवर्ती क्षेत्र र आसपासको वनमा मात्र ६ सय ९४ वटा गैँडा भेटिएको छ । बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रमा ३८, शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा १७ र पर्सा राष्ट्रिय निकुञ्जमा तीनवटा गरी सात सय ५२ गैँडा भएको तथ्यांकमा उल्लेख छ । 

यसअघि सन् २०१५ मा गैँडा गणना देशभरमा ६ सय ४५ वटा गैँडा भेटिएका थिए । उक्त गणनामा चितवनमा ६ सय पाँच, बर्दियामा २९, शुक्लाफाँटामा आठ र पर्सामा तीन गैँडा भेटिएका थिए ।

नयाँ तथ्यांकअनुसार नेपालमा भेटिएका गैँडामध्ये एक सय ४६ भाले र एक सय ९८ पोथी छन् । चार सय आठको लिंग पहिचान नभएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले बताए । जसमध्ये पाँच सय २० वटा वयस्क, ९६ वटा अर्धवयस्क र एक सय ३६ केटाकेटी रहेको उनले जानकारी दिए ।

गणनामा दुर्घटना 
गैँडा गणनाका क्रममा ‘ध्रुवे’ नामको जंगली हात्तीले आक्रमण गर्दा चितवन निकुञ्जमा पाँचजना कर्मचारी घाइते भए । उनीहरूमध्ये एकजना गणक राष्ट्रिय प्रकृति संरक्षण कोषका कार्यक्रम अधिकृत विनोद श्रेष्ठको अझै पनि काठमाडौंमा उपचार भइरहेको छ । गणनाकै क्रममा बर्दिया राष्ट्रिय निकुञ्जका हात्तीसारका कर्मचारी पुलिसराम थारूको बाघको आक्रमणबाट मृत्यु भएको थियो ।

यसरी गरिएको थियो गणना
गैँडा पाइने क्षेत्रलाई १९ वटा ब्लकमा विभाजन गरी १० स्थानमा क्याम्प राखेर गणना गरिएको थियो । गणनामा व्यवस्थापन सहयोगी, हात्तीसारका कर्मचारी र स्वास्थ्यकर्मीसहित प्रत्येक दिन दुई सयभन्दा बढी जनशक्ति परिचालन थिए । यसका लागि ५७ वटा हात्ती एउटा हात्तीले अर्को हात्तीलाई देखिने गरी लस्करै बढ्दै जाने र हात्तीमाथि रहेका गणकहरूले एक–एक गरी गैँडा गनेका थिए ।

गणकहरूले जिपिएस, दूरबिन, वाकीटकी, एन्ड्रोइड मोबाइल फोन र डिजिटल क्यामेरालगायत आधुनिक उपकरण प्रयोग गरिएको थियो । गणनाले गैँडाको संख्या, प्रजनन अवस्था, विचरण र आहाराको अवस्था थाहा हुने हुँदा गणनापछि गैँडाको वासस्थान, व्यवस्थापन बुझ्न र सुधार गर्न सहज हुने वनसचिव ओलीले बताए । हामीले अहिलेसम्म संरक्षणमा गरेको लगानी खेर नभएको पुष्टि बढेको गैँडाको संख्याले गरेको उनले दाबी गरे ।

मानव र वन्यजन्तुको द्वन्द्वलाई कम गर्दै गैँडाको वासस्थान सुधार, घाँसे मैदानलगायत कार्यक्रम तीव्र पारिनेसमेत उनले बताए । गणनाले गैँडाको व्यवस्थामा सरकारी निकायलाई नीतिगत रूपमा अघि बढ्न सहज हुने राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा. दीपककुमार खरालले बताए ।

कहाँ कति गैँडा ?

-चितवन निकुञ्ज, मध्यवर्ती क्षेत्र र आसपासको वनमा ६९४

-बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रमा ३८

 -शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा १७

- पर्सा राष्ट्रिय निकुञ्जमा ३

पहिलोपटक आफ्नै लगानीमा गैँडा गणना 

चितवन राष्ट्रिय निकुञ्जसहित गैँडा पाइने नेपालका विभिन्न निकुञ्जमा ६ वर्षपछि निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको नेतृत्वमा सरकारले पहिलोपटक आफ्नै लगानीमा गैँडा गणना गरेको हो । यसअघि हरेक पाँच वर्षमा गैँडा गणना हुँदै आएकोमा कोभिड महामारीका कारण गत आर्थिक वर्षमा गणना हुन सकेन ।

सरकारले गैँडा गणनाका लागि अघिल्लो वर्षमै छुट्याएको एक करोड १० लाख बजेट यस वर्ष गैँडा गणनाका लागि खर्च गरेको हो । गणनाका लागि संरक्षण साझेदार संस्थाहरूको रूपमा राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटिएनसी), विश्व वन्यजन्तुु कोष (डब्लुडब्लुएफ), नेपाल र जेडएसएल नेपाल संस्थाको ३० लाखसहित एक करोड ४० लाख खर्चमा गैँडा गणना गरिएको निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीले जानकारी दिए ।

यसअघि नेपालमा सन् १९५० मा आठ सय, १९५५ मा चार सय, १९६० मा तीन सय, १९६५ मा सय, १९७० मा एक सय आठ, १९७५ मा एक सय ४७, १९८० मा तीन सय १०, १९८५ मा तीन सय १०, १९९० मा तीन सय ५८, १९९५ मा चार सय ६६ रहेको विभागको तथ्यांकमा उल्लेख छ ।

सन् २००० मा ६ सय १२, २००५ मा चार सय नौ, २०१० मा चार सय ३५ थियो । गैँडा विश्वबाट लोप हुने खतरामा पुगेको दुर्लभ वन्यजन्तु हो । विश्वमै दुर्लभ मानिएको एकसिंगे गैँडा हेर्न ठूलो संख्यामा पर्यटक चितवन आउने गर्छन् ।

यहाँको पर्यटनको ठूलो हिस्सा वाइल्डलाइफ पर्यटनमा आधारित छ । बरालका अनुसार सन् २०१५ को गणनायता चितवन निकुञ्जमा मात्रै एक सय ६१ वटा गैँडा मरिसकेका छन् । तीमध्ये ६ वटालाई सिकारीले मारेका थिए । अन्य प्राकृतिक कारणले मरेको निकुञ्जले बताउने गरेको छ । यस वर्ष मात्रै प्राकृतिक कारणबाट २२ र सिकारीबाट चारवटा गैँडा मरेका छन् । 

ad
ad