१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २४ सोमबार १o:o५:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

युरेनियमको कारोबार गर्ने  तीनजना जेल चलान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १o:o५:oo

बहुमूल्य युरेनियम कारोबारको आरोपमा पक्राउ परेका तीनजना जेल चलान भएका छन् । करिब दुई किलो युरेनियमको कच्चा पदार्थसहित पक्राउ परेका नारायणसिंह तामाङ, जानुका तामाङ, प्रकाश चौहान जेल चलान भएका हुन् । काठमाडौं जिल्ला अदालतले तीनजनालाई थुनामा राख्ने र पक्राउ परेकामध्ये एक मनोज न्यौपानेलाई भने दुई लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ ।

महानगरीय प्रहरी कार्यालयले एक महिनाअघि उनीहरूलाई बौद्धबाट पक्राउ गरेको थियो । उनीहरूबाट बरामद वस्तु युरेनियमको कच्चा पदार्थ भएको पुष्टि भइसकेको छ । उनीहरूविरुद्ध रेडिओधर्मी पदार्थको उपयोग तथा नियमनसम्बन्धी ऐनअनुसार मुद्दा दायर भएको थियो । नेपालमा यो ऐनअनुसार मुद्दा चलेको यो पहिलो घटना भएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी रमेश बस्नेतले बताए ।

सो ऐनअनुसार अनुमतिबिना युरेनियमको कारोबार गरे पाँच देखि १० वर्ष कैद र सातदेखि १२ लाख रुपैयाँसम्म जरिवाना हुने प्रावधान छ । गम्भीर प्रकृतिको सजाय भएको अपराध भएकाले पक्राउ परेका तीनजनालाई अदालतले थुनामा पठाएको हो । 

नेपाल विज्ञान तथा प्रविधि–प्रज्ञा प्रतिष्ठानमा गरिएको परीक्षणमा बरामद वस्तुमा युरेनियम रहेको पुष्टि भएको थियो । ग्राहक बनेर प्रहरीले गत बिहीबार बौद्धस्थित एक घरबाट युरेनियमको कच्चा पदार्थ बरामद गरेको थियो । हाल अमेरिकामा रहेका अमरबहादुर लामाले करिब २० वर्षअघि सो पदार्थ भारतबाट ल्याएको बताइएको छ । लामाविरुद्ध पनि प्रहरीले मुद्दा दायर गरेको छ । उनकै बुहारी जानुका तामाङले नारायणमार्फत ग्राहक खोजी गरेपछि प्रहरी आफैँ ग्राहक बनेर गएका थिए ।

यो घटनाले युरेनियमको दुरुपयोगको ठूलो जोखिम नदेखिएको, तर यसको दुरुपयोगबारे भने गम्भीर छानबिनको खाँचो देखिएको नाष्टका वैज्ञानिकहरूले बताएका छन् । भारतबाट ल्याइएको बताइए पनि नेपालमै कतै उत्खनन भएको हुन सक्नेसमेत आकलन गरिएको छ । नेपालका विभिन्न हिमाली जिल्लामा युरेनियम रहेको वैज्ञानिकहरूले बताएका छन्, जसको उत्खनन हुन सकेको छैन ।
 

ad
ad