मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
तस्बिर : ज्ञानेन्द्र कार्की/नयाँ पत्रिका
२०७७ चैत २६ बिहीबार ०९:४६:००
Read Time : > 2 मिनेट
खेलकुद प्रिन्ट संस्करण

श्रीलंका पुलिसविरुद्ध आर्मीको सानदार जित

Read Time : > 2 मिनेट
२०७७ चैत २६ बिहीबार ०९:४६:००

घरेलु मैदान दशरथ रंगशालामा श्रीलंका पुलिसलाई ५–१ गोलले बुधबार पराजित गरेको आर्मीले एएफसीकप प्रारम्भिक चरणको दोस्रो खेल आगामी बुधबार भारतको बेंग्लोर एएफसीविरुद्ध गोवामा खेल्नेछ

त्रिभुवन आर्मी फुटबल क्लबले एसियाली फुटबल महासंघ (एएफसी) कपअन्तर्गत प्रारम्भिक चरणको पहिलो खेलमा ठूलो गोलअन्तरको जित हात पारेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको खेलमा आर्मीले श्रीलंका पुलिस स्पोर्टस् क्लबलाई ५–१ गोलअन्तरले पराजित गरेको हो । 

आर्मीले अब प्रारम्भिक चरणको दोस्रो खेलमा इन्डियन सुपर लिग (आइएसएल) टोली बेंगलुरु एफसीविरुद्ध खेल्नेछ । यो खेल एक सातापछि (१४ अप्रिलमा) गोवामा हुनेछ । यो खेलमा विजयी टोली अर्काे एउटा प्लेअफ खेलमा प्रतिस्पर्धा गर्दैै एएफसीकपको समूह चरणमा पुग्नेछ । 

घरेलु मैदानमा सुरुवातमै एक गोलले पछि परेको आर्मीले उत्कृष्ट पुनरागमन गर्दै जित हात पारेको हो । आर्मी खेलको २८औँ मिनेटमा पछि परेको थियो । आइज्याक एडिभुको लामो प्रहारलाई नेपालतर्फको डी बक्स लाइननजिक नियन्त्रणमा लिएर इभान्स असन्तेले गरेको प्रहार गोलमा परिणत भएको थियो । त्यसपछि खेलमा फर्किएको आर्मी रोकिएन ।

आर्मीले दुई मिनेटको अन्तरमा दुई गोल गर्दै पहिलो हाफमै २–१ को अग्रता लियो । आर्मीका लागि खेलको ४१औँ मिनेटमा सन्तोष तामाङले बराबरी गोल फर्काए । उनको यो गोल निकै आकर्षक रह्यो । आर्मीका रक्षक विकास खवासले फ्याकेको ‘थ्रो’ बललाई श्रीलंका पुलिसका खेलाडीले फर्काइदिएका थिए । सोही बललाई झन्डै ३० यार्ड दूरीबाट सन्तोषले प्रहार गरेको ‘हाफ भली सट्’ उत्कृष्ट गोलमा परिणत भएको थियो । 

हामीसँग राष्ट्रिय टोलीका खेलाडी छैनन् । यो प्रतियोगिताका लागि राम्रो तयारीसमेत गर्न पाएका थिएनौँ, हामी कम अनुभवी भएका कारणले पनि गोल अन्तर धेरै भयो । यद्यपि, खेलाडीको प्रदर्शनमा सन्तुष्ट छु ।
 रोहन थिलक अल्पोन्स
प्रशिक्षक, श्रीलंका पुलिस

त्यसको दुई मिनेटपछि नै भरत खवासको क्रसमा हेडिङ गोल गर्दै नवयुग श्रेष्ठले आर्मीलाई अग्रता दिलाएका थिए । दोस्रो हाफमा आर्मी सुरुवातबाटै सशक्त रूपमा प्रस्तुत भयो । खेलको ५०औँ मिनेटमा नवयुगले मिलाइदिएको एउटा उत्कृष्ट पास सदुपयोग गर्दै टंक बस्नेतले आर्मीका लागि गोल गरे । श्रीलंकन पुलिसका गोलरक्षक दिनेश महेन्द्रनलाई समेत नाघेर आएको नवयुगको क्रस बललाई टंकले खाली पोस्टमा गोल गरेका थिए । 

खेलको ८३औँ मिनेटमा आर्मीका परिवर्तित खेलाडी सुदिल राई र सन्तोषले उत्कृष्ट पास खेल्दै अर्काे आकर्षक ‘मुभ’ बनाए । उक्त असरमा सन्तोषले प्रहार गरेको बललाई श्रीलंका पुलिसका गोलरक्षक निदेशले रोकेका त थिए, तर राम्रोसँग नियन्त्रणमा लिन सकेनन् । त्यही बल खोसेर सुदिलले टोलीको लागि चौथो गोल गरे । त्यसपछि अन्तिम इन्जुरी समयमा नवयुगले झन्डै ३० यार्ड दूरीबाट प्रहार गरेको बल गोलमा परिणत भएपछि आर्मीले ५–१ गोलको ठूलो अन्तरको जित निश्चित गरेको हो ।

यसअघि दुवै टोलीको एक–एक उत्कृष्ट प्रहारमा क्रस बार बाधक बनेको थियो । खेलको अधिकांश समय आर्मीको नियन्त्रणमा रह्यो । आर्मीले आधा दर्जनभन्दा बढी राम्रा अवसरलाई सदुपयोग गर्न सकेन ।  श्रीलंका पुलिसका प्रशिक्षक रोहन थिलक अल्पोन्सुले हारको ठूलो अन्तरका बाबजुद आफ्नो खेलाडीको प्रदर्शनमा सन्तुष्टि जनाए । ‘हामीसँग कुनै राष्ट्रिय टोलीका खेलाडी छैनन् । हामीले यो प्रतियोगिताका लागि राम्रो तयारीसमेत गर्न पाएका थिएनौँ,’ पराजयपछि प्रशिक्षक रोहनले भने, ‘हामी कम अनुभवी भएका कारणले पनि गोलअन्तर धेरै भयो । यद्यपि, खेलाडीको प्रदर्शनमा सन्तुष्ट छु ।’

भर्खरै नेपाली राष्ट्रिय टोलीले यही मैदानमा थ्री नेसनकप जितेर सबैलाई खुसी दिएको छ । हामी त्यही खुसीलाई निरन्तरता दिन चाहन्थ्यौँ । खेलाडीले दिएको जिम्मेवारी पूरा गरे ।
 नवीन न्यौपाने, प्रशिक्षक
त्रिभुवन आर्मी फुटबल क्लब

आर्मीका प्रशिक्षक नवीन न्यौपानेले आफ्नो योजनाअनुसारको नतिजा आएको बताए । ‘भर्खरै नेपाली राष्ट्रिय टोलीले यही मैदानमा थ्री नेसनकप जितेर सबैलाई खुसी दिएको छ । हामी त्यही खुसीलाई निरन्तरता दिन चाहन्थ्यौँ,’ नवीनले भने, ‘त्यसका लागि खेलाडीले दिएको जिम्मेवारी पूरा गरे । अझ धेरै अवसर खेर गए, ती अवसर पनि सदुपयोग भएको भए जितको अन्तर अझ ठूलो हुने थियो । य

द्यपि, खेलाडीको मिहिनेतबाट खुसी छु ।’ उनले बेंग्लोरविरुद्धको खेल कठिन हुने औँल्याए । ‘अबको प्रतिस्पर्धा अझ कठिन हुनेछ । आइएसएलको खेलेको बेंग्लोरको खेल अझ राम्रो छ । उनीहरूका विदेशी खेलाडी पनि राम्रा छन्,’ नवीन भन्छन्, ‘यद्यपि हाम्रो पनि तयारी राम्रो छ । खेलाडी लयमै छन् । आजको खेलमा देखिएका कमजोरीलाई सुधार्न सकिए आगामी खेलमा हामी राम्रै चुनौती पेस गर्दै छौँ ।’