१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
प्रेमराज सिलवाल
२०७७ चैत २२ आइतबार ०९:५०:००
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

आधुनिकता, समाज र संविधान

Read Time : > 2 मिनेट
प्रेमराज सिलवाल
२०७७ चैत २२ आइतबार ०९:५०:००

विश्वको आधाभन्दा बढी जनसंख्या सहरी क्षेत्रमा बसोवास गर्छन् । सन् २०३० सम्ममा यो संख्या बढेर दुईतिहाइनजिक पुग्ने अनुमान छ । नेपालमा सहरी जनसंख्याको औसत वार्षिक वृद्धिदर ६.६५ प्रतिशत छ भने समुच्च देशको जनसंख्या वृद्धिदर २.२५ प्रतिशत छ (जनगणना, २०६८) । यही प्रवृत्ति रहे आउँदा दशकमा थुप्रै बस्तीको सहरीकरण हुनेछ र सन् २०३५ सम्ममा नेपालको आधा जनसंख्या सहरमा बस्नेछ ।

नेपालमा पछिल्लोपटक भएको स्थानीय, प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनका क्रममा दलहरूले चुनावी घोषणापत्रमा ग्रामीण क्षेत्रको आधुनिकीकरण तथा सहरीकरणको विषयलाई प्रमुखतासाथ उठाएका थिए । कतिपय सन्दर्भमा सरकार र स्वयं प्रधानमन्त्रीको बुझाइ चिल्ला सडक र ठूला–ठूला भवन मात्रै आधुनिकता हो भन्ने देखियो ।

आधुनिकतासम्बन्धी धारणा १९औँ शताब्दीमा आएको हो । आधुनिकीकरण र आधुनिकतामा सहरीकरण, शिक्षा, अनुुसन्धान, स्वास्थ्य, धर्म निरपेक्षता, कर्मचारीतन्त्रको सबलीकरण, सार्वजनिक सञ्चारमाध्यमको विकास तथा विस्तार, सरकारी सेवा र सुविधाको विस्तार, जनतालाई सेवा र सुविधाको उपलब्धता पर्छन् । जसमा जन्मदरमा कमी, जीवन आयुमा वृद्धि, सहभागिता, समता, न्याय, लोकतन्त्र, श्रमको विभाजन, पूर्वाधार तथा वाणिज्य सुविधाको विस्तार, निजी क्षेत्रको सहभागिता, सबै लिंग र जातिलाई संरचना र विकासमा सहभागिता, आशावादी जनता, सुरक्षा, सुविधा, व्यक्तिगत अधिकार र स्वतन्त्रता, नागरिक कर्तव्यप्रति सचेतता पनि आधुनिकताका आधारभूत पक्ष हुन् ।

टेलिफोन, टेलिभिजन, इन्टरनेट, मोबाइलजस्ता सञ्चारका माध्यमहरूको विकास र विस्तारका माध्यमबाट नेपाली समाजमा आधुनिकीकरणको प्रभाव परेको अध्ययनहरूले देखाएका छन् । आधुनिकीकरण निरन्तर चल्ने विषय भए पनि सामाजिक, राजनीतिक, आर्थिक तथा सांस्कृतिक कारणले पनि यसमा प्रभाव पारिरहेको हुन्छ । यो सर्वव्यापी र अत्यधिक जटिल प्रक्रिया पनि हो ।

अमेरिकी समाजशास्त्री डेनियल लर्नरले आधुनिकीकरणलाई विवेकपूर्ण परिवर्तनको प्रक्रिया भनेका छन् । केहीले यसलाई मानिसको गतिविधि र विचारका सबै क्षेत्रमा परिवर्तन सम्मिलित हुने बहुपक्षीय प्रक्रिया हो । नेपाली समाज परम्परागत विकासको मान्यतामा विश्वास राख्ने समाज हो । 

लोकतन्त्रका विश्वव्यापी मूल्यलाई स्वीकार गरी नेपालको संविधानले गरेका व्यवस्था आधुनिक नेपाली समाजका लागि चौतर्फी ढोका खोल्ने कोसेढुंगा हुन सक्ने पर्याप्त सम्भावना छ 

प्रा.डा. अतीन्द्र दाहाल आधुनिकता कहिल्यै नभेटिने तर कहिल्यै नमेटिने एक अनन्त अनुभव हो भन्छन् । संसारका केही देश गरिबी निवारण, भ्रष्टाचार नियन्त्रण, मानवअधिकार, विश्व व्यापार, शान्तिसुरक्षा, सुशासनका हिसाबले हामीभन्दा तुलनात्मक रूपमा आधुनिक र विकसित होलान् । तर, उनीहरूले पनि अब केही गर्न बाँकी नरहेको भन्नेचाहिँ होइन । आधुनिकता र विकासको स्वरूप देशको भूराजनीति, संस्कार, समृद्धिको सम्भावनाअनुसार फरक हुन सक्छ । चीनले अहिले आधुनिकताको नयाँ अभ्यास गर्दै छ । चीनको गरिबी निवारण, औद्योगीकरण तथा आर्थिक विकासको सफल प्रयोगबाट हामीले शिक्षा लिनुपर्छ । आधुनिकता कुनै मुलुक वा समाजको अन्धानुकरण नभई सामाजिक व्यवहारको वैज्ञानिक चिन्तन र अभ्यास हो । बेलायती दार्शनिक जेरेमी बेन्थमका अनुसार अधिकतम मानिसको बृहत्तर हितको सम्भावनाका सबै पक्ष आफैँमा आधुनिकता हो । 

हाम्रा संस्कृति र व्यवहार प्राकृतिक विकासको दृष्टिकोणले उच्च वैज्ञानिक छन् । पश्चिमाहरू पाउरोटी खान्छन् । हामी दालभात खान्छौँ । दालभात खानु पौष्टिक हिसाबले बढी महŒवपूर्ण त छँदै छ । पारिवारिक सद्भावको पक्षबाट पनि अर्थपूर्ण छ । दालभात छिटै सेलाउने हुँदा फरक–फरक समय गरेर खान मिल्दैन, पकाउनेबित्तिकै खानुपर्छ । तसर्थ, खाना खाँदा सबै एकजुट भइन्छ । पारिवारिक आत्मीयतासमेत झन् सघन हुन्छ । तर, पाउरोटी खानेहरूका लागि त्यस्तो सौभाग्य हुँदैन । 

विकसित हुनु पश्चिमा नै हुनु मात्र होइन भन्ने उदाहरण चीनले दिँदै छ । हामीले नेपाली मौलिकतामा आधारित फरक आयामको आधुनिकता र विकासको खोजी गर्नुपर्छ । आफ्नो मौलिक परिचय निर्माण गर्दै त्यसको वैज्ञानिक प्रस्टीकरणबाट मात्र आधुनिकता र विकास सम्भव हुन्छ । केवल सरकार वा कुनै एक पक्षको प्रयासले हैन, आमनागरिकको संस्कृति र संस्कारले नै आधुनिकता र विकास प्राप्त हुन्छ । 

चिल्ला सडक, ठूला भवन मात्र आधुनिकता होइन । आधुनिकतासँग मानिसका आयस्तर, खानपान, फेसन, वस्तु तथा सेवाको प्रयोगमा पहुँच, शिक्षा, स्वस्थ्यलगायतका समग्र मानव विकासलाई तौलेर मूल्यांकन गरिन्छ । आधुनिकता समग्र मानव विकास, राजनीतिक, सामाजिक, सांस्कृतिक एवं मानवीय संस्कारमा आएको परिवर्तन हो । व्यापक रूपमा भन्नुपर्दा आधुनिकताले औद्योगीकरण, सहरीकरण, प्रजातन्त्र, पुँजीवाद, विधिको सर्वाेच्चता, खुला बजार, वस्तुगत ज्ञानको खोजी, बौद्धिकता, विवेक आदिलाई बुझाउँछ । मानवशास्त्री मार्क लिट्चीले आफ्नो ‘स्विटेब्ली मोडर्न’ नामको पुस्तकमा नेपाली सहरिया समाज विशेष गरी काठमाडौंका मध्यमवर्गीय समाजको दैनिक खानपान, रहनसहन, संस्कृति, प्रथा परम्पराजस्ता विषयले सामाजिक परिवर्तनलाई सहयोग गरेको विवेचना गरेका थिए । 

नेपालमा आधुनिकता र संविधान : सन् २०१५ मा बनेको नेपालको संविधानमा मानवअधिकार, नागरिक स्वतन्त्रता, मौलिक हक अधिकार, नागरिक सुरक्षा, अन्तर्राष्ट्रिय कानुन, मानवअधिकारसम्बन्धी विश्वव्यापी घोषणामा भएका सबैजसो महत्वपूर्ण अधिकारहरूलाई समावेश गरिएका छन् । जुन आधुनिक समाजका लागि आवश्यक विषय हुन् । संविधानको प्रस्तावनामै नागरिक स्वतन्त्रता, मौलिक हक, मानवअधिकार, बालिग मताधिकार, आवधिक निर्वाचन, पूर्ण प्रेस स्वतन्त्रता तथा स्वतन्त्र निर्वाचन, निष्पक्ष र सक्षम न्यायपालिका र कानुनी राज्यलगायत लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित भन्ने वाक्य स्पष्ट रूपमा उल्लेख गरिनुले मानवअधिकारको विश्वव्यापी मान्यता तथा मूल्यलाई स्वीकार गरिएको छ । संविधानको धारा १६ देखि ४७ सम्मका मौलिक हक र धारा ४८ मा उल्लेखित नागरिकका कर्तव्यसमेतले हाम्रो आधुनिकतालाई दर्साउँछ । फ्रान्सेली समाजशास्त्री इमाइल दुर्खिमले भनेजस्तै नेपाली समाज पनि परम्परागत तथा धार्मिक चिन्तनबाट विकास, श्रम विभाजन र आधुनिकतातर्फ अग्रसर छ । 

(सिलवाल पिएचडी स्कलर हुन्)