१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
तस्बिर : ज्ञानेन्द्र कार्की/नयाँ पत्रिका
२०७७ चैत ११ बुधबार ०८:३१:००
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

थ्री नेसनकप : बंगलादेश फाइनलनजिक

१३औँ सागअन्तर्गत दशरथ रंगशालामा भएको फुटबलतर्फको प्रतिस्पर्धामा बंगलादेशले कांस्यपदक जितेको थियो

Read Time : > 1 मिनेट
२०७७ चैत ११ बुधबार ०८:३१:००

कोरोना भाइरस (कोभिड–१९) महामारीपछि त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा पहिलोपटक भएको अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा बंगलादेशले सुखद् नतिजा आत्मसात् गरेको छ । मंगलबार भएको थ्री नेसनकपको उद्घाटन खेलमा बंगलादेश किर्गिस्तानको यु–२३ टोलीलाई १–० गोलले पराजित गर्दै फाइनलनजिक पुगेको हो । 

यो जितसँगै बंगलादेश तीन टोली सहभागी प्रतियोगिताको फाइनलनजिक पुगेको छ । बिहीबार हुने खेलमा किर्गिस्तान नेपालसँग बराबरीमै रोकिएको अवस्थामा पनि बंगलादेश फाइनलमा पुग्नेछ । ०७६ मंसिर अन्तिम साता १३औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत दशरथ रंगशालामै भएको फुटबलतर्फको  प्रतिस्पर्धामा बंगलादेशले कांस्यपदक जितेको थियो । १३औँ सागमा फाइनलमा भुटानलाई पराजित गर्दै नेपालले स्वर्णपदक जितेको थियो । 

सोही प्रतियोगितापछि रंगशालामा आयोजना भएको यो पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता हो । १३औँ साग सकिएको केही समयपछिबाट सुरु भएको कोरोना महामारीले खेलकुद गतिविधि ठप्प बनेको थियो । किर्गिस्तान र बंगलादेशबीचको खेलमा पनि कोरोना महामारीको असर देखियो । लामो समयपछि प्रतिस्पर्धामा फर्किएका दुवै टोलीले सशक्त रूपमा फुटबल खेल्न सकेनन् । ६ नयाँ खेलाडी लिएर आएको बंगलादेश र उमेर समूहको टोली लिएर आएको किर्गिस्तानले प्रायः समय मैदानको मध्यभागतिरै बिताए । 

खेलको एक मात्र गोल पनि त्यस्तै अवस्थामा सम्भव भएको थियो । खेलको ३०औँ मिनेटमा बंगलादेशका मोहम्मद साद उदिनले क्रस गरेको बललाई रोक्ने प्रयास गर्दा किर्गिस्तानका कुमारबाज उलु बइअमनले आफ्नै पोस्टमा छिराएका थिए । बल किर्गिस्तानका गोलरक्षक तोकोतइभ इर्झानको शरीरमा ठोक्किएर पनि गोल लाइन पार गरेको थियो ।

त्यसपछि ६ मिनेट थप गरिएको इन्जुरी समयको अन्तिम मिनेटमा किर्गिस्तानले एउटा उत्कृष्ट अवसर पाएको थियो । कर्नरमार्फत आएको बललाई किर्गिस्तानका तासिब कमोलिदिनले सिक्स यार्डबाट कसैको निगरानीमा नरहेको अवस्थामा हेडिङको अवसर पाएका थिए । यद्यपि, उनको हेडिङ क्रस बारभन्दा निकै माथिबाट बाहिरियो । 

खेलमा सम्भव भएको उत्कृष्ट अवसर यही दुईवटा रह्यो । त्यसबाहेक दुवै टोलीले राम्रो अवसर निकाल्न सकेनन् । दुवै टोलीले आफ्ना खेलाडीलाई परीक्षण गर्नै प्रयास गरेको देखियो । बंगलादेशले पहिलो रोजाइमै तीन नयाँ खेलाडीलाई अवसर दिएको थियो । दुवै टोलीले दोस्रो हाफमा नियमित खेलाडी परिवर्तन गरेका थिए ।