मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ५ बुधबार
  • Wednesday, 17 April, 2024
मनीष झा
२०७७ चैत ९ सोमबार ०९:१७:००
Read Time : > 6 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

साहित्य महोत्सव र सञ्जालमा निन्दा

समग्रमा जतिसुकै महिला सहभागिता भए पनि फरक पर्दैन, प्रत्येक सत्रमा एकजना महिला हुनैपर्छ भनिन्छ भने त्यो कर्मकाण्डी कुरा होे

Read Time : > 6 मिनेट
मनीष झा
२०७७ चैत ९ सोमबार ०९:१७:००

आफन्तसँग घर पुग्दा बुबा घरकै भुइँतलामा रहेको अमित दाइको अफिसमा दाइकै कुर्सीमा बसिरहनुभएको थियो । दाइ अब त्यो कुर्सीमा बस्न आउनेवाला थिएनन् । दाइको शरीर शववाहनमा जनकपुरतिर आउँदै थियो । आफन्त र शुभेच्छुकहरू पनि भेला भएका थिए । मलाई देखेपछि बुबाको आँसु थामिएन । बुबालाई त्यस्तो अवस्थामा देख्दा भक्कानिएर रुन मन नलागेको होइन । तर, जिन्दगीकै सबभन्दा पीडामा रहेका बुबालाई सम्हाल्नुपर्ने वेला पहिले आफैँँ सम्हालिनुपर्ने थियो । मान्छेलाई सबैभन्दा पीडा आफ्ना सन्तानको मृत्युको खबरले दिन्छ भन्नेमा विमति नहोला ।

आमा जिन्दगीको सबैभन्दा पीडादायी क्षण खप्नबाट मुक्त भइसक्नुभएको थियो, ६ वर्षअघि नै हामीलाई छाडेर बिदा भइसक्नुभएको थियो । दाइले ४२ वर्षमै ३७ वर्षकी श्रीमती, १३ वर्षको छोरा अनि चार वर्षकी अबोध छोरीलाई छाडेर यो संसारलाई गुडबाई गरेका थिए । भेन्टिलेटरमा एक साता संघर्ष गरेपश्चात् दाइले फागुन १९ गते त्यही दिन मृत्युसँग आत्मसमर्पण गरे, जुन दिन उनै अध्यक्ष रहेको नव मिथिला फाउन्डेसनको आयोजनामा केही बेरमै ‘जनकपुर साहित्य महोत्सव’ सुरु हुँदै थियो ।

महोत्सवको उद्घोष गर्न माघ ३० गते काठमाडौंमा अमित दाइकै अध्यक्षतामा कार्यक्रम सम्पन्न गरेका थियौँ । कार्यक्रम सुरु हुने दिन बिहानै उनले संसार त्यागे । जिन्दगीकै सबैभन्दा पीडादायी त्यो क्षणमा महोत्सवका विरुद्ध सामाजिक सञ्जाल (विशेषगरी ट्विटर)मा निन्दा भइरहेको थियो, तमासा भइरहेको थियो । महिला सहभागिता नभएको भनेर सुरु गरिएको टीकाटिप्पणीलाई आलोचना नभनी तमासा वा निन्दा किन भन्नुपर्‍यो भन्नेबारे तथ्यबाटै पुष्टि गर्नेछु । 

बुबाको हजुरबुबा ज्योतिष जुगेश्वर झा जनकपुरमा संस्कृत विद्यालयको संस्थापक हुनुहुन्थ्यो । जनकपुरको शिक्षा विकासमा योगदान गरेबापत त्यसैवेला सरकारले सम्मान गरेको थियो । जनकपुरको ज्ञान परम्परामा केही गर्न सकिन्छ कि भनेर दाइ–भाइ मिलेर साहित्य महोत्सवको योजना बुनेका थियौँ । नेपाल लिटरेचर फेस्टिभलको आयोजकसँग मिलेर जनकपुरमा पोहोर महोत्सव गरेका हामी दोस्रोचोटि स्वतन्त्र रूपले आफैँँ महोत्सव गर्न कस्सियौँ । दाइ जनकपुर, म काठमाडौं बस्ने भएकाले कार्यविभाजन गरी काम गर्न तुलनात्मक रूपमा सजिलो पनि थियो । 

मिथिला संस्कृतिको केन्द्र, शास्त्रार्थ हुने जनकपुर, मन्दिरैमन्दिरको सहर, तालैतालको सहर, अध्यात्मको सुगन्ध आउने जनकपुर, हाम्रो जनकपुर राम्रो जनकपुर । अर्कोतिर अस्तव्यस्त, फोहोर जनकपुर । यसबाहेक मधेस आन्दोलनको इपिसेन्टरमा रहने जनकपुर यसै पनि मधेस आन्दोलनविरोधीले पृथकतावादी आन्दोलनको इपिसेन्टरसरह बुझेको जनकपुर । साहित्य महोत्सवमार्फत जनकपुरको गौरवशाली संस्कृति, संस्कार, परम्परा पर्वद्धन गर्ने प्रयास हो ।

विचार मन्थन र विचार उत्पादनको थलो बनाउने सानो प्रयास थियो । काठमाडौंका साथै अरू भेगका बुद्धिजीवी र जनकपुरका बुद्धिजीवीबीच अन्तरक्रिया गराउने र मतभेद कायमै रहे पनि कम्तीमा मनभेद हटाउने सानो प्रयास पनि हो, जनकपुर साहित्य महोत्सव । दुईवटा फरक चरित्रभित्र रुमल्लिएको जनकपुरलाई सफा चित्रण गराउने प्रयास हो, हाम्रो ।

 जनकपुरको समाजमा दुई फरक पक्ष संघर्षरत छन् । जीविकोपार्जन र अस्तित्वका लागि संघर्षरत अनि परिवर्तन र पहिचानका लागि संघर्षरत । समाजको चरित्र र सहरको संघर्षलाई बुझेर थालिएको अभियान हो, जनकपुर साहित्य महोत्सव । दाइ जनकपुरमा तयारीमा सक्रिय हुनुहुन्थ्यो । म पनि फुर्सद मिल्नासाथ दाइलाई सघाउन जनकपुर पुग्थेँ । शारीरिक रूपमा असहज महसुस गर्दै छु भन्दाभन्दै पनि उहाँ चिकित्सकसँग परामर्श गरीगरी खट्न छाड्नुभएको थिएन । तर, गाह्रो हुन थालेपछि कार्यक्रमको एक साताअघि काठमाडौं आउनुभयो । केही घन्टामै भेन्टिलेटरमा पुर्‍याइए पनि उहाँ फर्किनुभएन । 

जनकपुर साहित्य महोत्सवमा महिला वक्ता/प्रस्तोताको सहभागिता ३८ प्रतिशत थियो, सबै सहभागी भइदिएको भए ४५ प्रतिशत हुने थियो । जब कि कर्णाली महोत्सवमा २२, नेपाल लिटरेचर फेस्टिभलको पछिल्लो संस्करणमा २७, झापा कला साहित्य उत्सवको पछिल्लो संस्करणमा २३ र चितवन मेडिकल साहित्य महोत्सवमा २७ प्रतिशत सहभागिता रहेछ । तैपनि जनकपुरकै महोत्सवको निन्दा किन ?
 

दाइ बितेको खबर पाएर बिहानै अस्पताल पुगेका साथीहरूबीच महोत्सवलक्षित आलोचना, निन्दा, नफरत ट्विटरमा भाइरल भएकोमा कुराकानी भइरहेथ्यो । जिन्दगीकै सबैभन्दा पीडादायी क्षणमा यो सबमा ध्यान दिने स्थिति र अवस्थामा थिइन“ । अस्पतालको सबै औपचारिकता पूरा गरी दाइको शरीर जनकपुर लैजानु थियो, घर–परिवार सम्हाल्नु थियो । जनकपुरतर्फ प्रस्थान गर्दैगर्दा मोबाइलमा महिला पत्रकारले सोधिन्, ‘मनीषजी, म बिबिसीबाट बोल्दै छु, तपाईं जनकपुर साहित्य महोत्सवमा महिला सहभागिताबारे के भन्नुहुन्छ ? बोल्ने जाँगर थिएन, तर जवाफ दिन आवश्यक ठानेँ ।

‘जनकपुर साहित्य महोत्सवको आयोजक संस्थाको अध्यक्ष अमित झाको आज निधन भयो । म उहाँको भाइ र महोत्सवको संयोजक एक हप्तादेखि भेन्टिलेटरमा रहेका अमितको उपचारमा व्यस्त भएँ । कार्यक्रमका लागि आफैँँले समय दिन नसक्ता धेरै कमीकमजोरी भए होलान्,’ यस्तै आशयको जवाफ थियो । महोत्सवमा समावेशितालाई प्राथमिकता दिइएको थियो, महिला सहभागितामा त झन् सम्झौताको कुरै थिएन ।

तैपनि, आफैँ एक हप्तादेखि समय दिन नसकेकाले कमजोरी धेरै भए कि भन्ठानेको थिएँ । तर, वास्तविकता सामाजिक सञ्जालमा निन्दा गरिएजस्तो थिएन । महोत्सवमा महिला सहभागिता (वक्ता/प्रस्तोता) ३८ प्रतिशत थियो, केही महिला वक्ता/प्रस्तोताले अन्त्यमा सहभागिता जनाउन अस्वीकार गर्दा पनि । सबै सहभागी भइदिएको भए सहभागिता ४५ प्रतिशत हुने थियो ।

जबकि, लगत्तैजसो सुरु भएको कर्णाली महोत्सवमा २२ प्रतिशत, नेपाल लिटरेचर फेस्टिभलको पछिल्लो संस्करणमा २७ प्रतिशत, झापा कला साहित्य उत्सवको पछिल्लो संस्करणमा २३ प्रतिशत र चितवन मेडिकल साहित्य महोत्सवमा २७ प्रतिशत रहेछ । तैपनि, जनकपुरकै महोत्सवको निन्दा किन ? कुनै मधेसीले प्रत्येक कुरामा मधेसी भनेर हेप्यो भन्दा चित्त बुझ्दैन, तर जनकपुर साहित्य महोत्सवमा महिला सहभागितालाई लिएर गरिएको निन्दाले सोच्न बाध्य पारेको छ । समग्रमा जतिसुकै महिला सहभागिता भए पनि फरक पर्दैन, प्रत्येक सत्रमा एकजना महिला हुनैपर्छ भनिन्छ भने त्यो कर्मकाण्डी कुरा भयो । 

महोत्सवमा सहभागी गराइएकामध्ये अर्चना थापा ससुराको शोकमा परेका कारण सहभागी हुन सक्नुभएन । महोत्सवको तीन महिनाअघि नै कन्फर्म गरिएकी हिमा विष्टले पछिल्लो समयमा आफू सुरक्षा थ्रेटमा रहेको भन्दै असमर्थता व्यक्त गर्नुभयो । पटक–पटक अनुरोध गर्दा पनि आन्विका गिरीले कार्यक्रममा उपस्थित भए पनि वक्ता वा प्रस्तोताको भूमिका निर्वाह गर्दिन“ भन्नुभयो । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले घरायसी कामका कारण काठमाडौं छोड्न असमर्थता देखाउनुभयो । एकजना महिला वक्ताले आफू कार्यरत गैरसरकारी संस्थाको आचारसंहिताअनुसार यस्ता फोरममा बोल्न नपाइने भनेर अस्वीकार गर्नुभयो, तर सामाजिक सञ्जालमा उहाँ महोत्सवको आलोचना होइन, नफरत गर्ने भाषा बोलिरहनुभएको थियो । 

सहभागिता जनाउन असमर्थ कसैकसैले आफ्नो विकल्प खोज्न नसकेकामा आयोजककै कमजोरी देखाए । हो पनि, अन्तिम–अन्तिम समयमा सहभागितामा असमर्थता देखाइनुका साथै म स्वयं दाइको उपचारमा व्यस्त हुनुपरेकाले सकिएन । ट्विटरमार्फत महोत्सवमाथि धावा बोलिन थालेपछि आदर गरिएका एक बुद्धिजीवीले आफ्नो सत्र महिलाविहीन हुन गएकाले महोत्सवमा सहभागी नहुने ट्विट गर्दिनुभयो । अचम्म के लाग्यो भने उहाँ सहभागी हुने सत्र १० दिन पहिले उहाँकै सल्लाहमा फाइनल गरिएको थियो । ट्विटरमा कोही महिला नभएका एकाध सत्र औँल्याएर महोत्सव नै महिलारहित भएको भ्रम फैलाउने, कोही त्यही आधारमा महोत्सव सुरु हुने दिन सहभागी नहुने घोषणा गर्दिने भए ।

आयोजक संस्थाले जब महोत्सवमा उल्लेख्य महिला सहभागिता रहेको प्रमाण पेस गरे अनि ‘ए हामीले दबाब दिएपछि महिलालाई राखिस्’ भनेर तमासा गर्न थालियो । तमासा गर्नुअघि यति त सोचिदिए हुने कार्यक्रम सुरु हुन एकाध घन्टाअघि मात्र महिलालाई समावेश गरी सत्रहरू डिजाइन गर्न सम्भव हुँदैन ।

रामकुमारी झाँक्रीको कन्फर्मेसन प्राप्त हुनुअघि नै एकजना वक्ताले गगन थापा, रवीन्द्र मिश्र, तुलानारायण साह सम्मिलित सत्रको बारेमा ट्विट गरेका कारण झाँक्रीलाई पछि समावेश गरिएको भ्रम पर्न गएको थियो । आ–आफ्नो संसदीय दलको बैठक परेका कारण थापा जनकपुर पुगे पनि सत्रमा सहभागी नभई फर्किनुभयो, प्रयास गर्दा पनि नसकेपछि झाँक्रीले हामीसँग सरी भन्नुभएको थियो । 

सामाजिक सञ्जालमा आलोचनाभन्दा महोत्सवविरुद्ध निन्दा र तमासा थियो भनेर किन पनि भन्छु भने वक्ता राजेन्द्र विमललाई महिला स्वयंसेवीले छाता ओढाएको तस्बिर राखेर निन्दा गर्ने काम भयो । ७० वर्ष नाघेका राजेन्द्र सर पूर्ण स्वस्थ हुनुहुन्न । आफ्नै सहरमा कार्यक्रम भएकाले सहभागिताका लागि तयार हुनुभएको थियो । जाडोबाट गर्मीमा प्रवेश गर्न थालेको जनकपुरको मौसम अनुमान गर्न आयोजक चुके, मञ्चको माथि पाल थिएन ।

केही मान्छेले गलत आरोप लगाए भन्दैमा जनकपुर साहित्य महोत्सव भेन्टिलेटरमा पुग्ने, सिद्धिने हुँदैन । हामीले आउने वर्ष फागुन ५, ६ र ७ गते साहित्य महोत्सव गर्ने घोषणा गरिसकेका छौँ । यसपालि महसुस गरिएका कमीकमजोरी सम्बोधनको प्रयास हुनेछ । मधेसी दलितमा पनि महादलित भनिने समुदायका महिला वक्ताहरूको पनि सहभागिता गराउने प्रयास हुनेछ । 
 

एक्कासि घाम चर्किएपछि राजेन्द्र सरलाई गाह्रो भएको देखी एकजना महिला स्वयंसेवीले मञ्चमा पुगेर छाता ओढाइन् । एकछिनपछि पुरुष स्वयंसेवीले पालो दिए । धन्न आयोजकसँग महिला र पुरुष दुवै स्वयंसेवीले छाता ओढाएका फोटो थियो र बचियो । तर, मनमा प्रश्न उब्जिएको छ, के आपत्विपत्मा उद्धारमा पुरुष कि महिला भन्नु समावेशिताको मर्मअनुरूप हो ? बाटोमा कोही लड्यो भने उठाउने महिला कि पुरुष हेरेर टीकाटिप्पणी, आलोचना, निन्दा गर्ने अवस्थामा समाजलाई पुर्‍याउन खोजिँदै छ ? 

सामाजिक सञ्जाल नै पूर्ण रूपमा यथार्थ संसार हो भन्ने मान्न सकिँदैन । ‘क्यापिटल हिल’मा ट्रम्पसमर्थकहरूको हमलापश्चात् ‘हार्वर्ड बिजनेस रिभ्यु’मा ह्वाइटहाउसका पूर्वसल्लाहकार र फेसबुकका कर्मचारी यल एजेन्स्ततले लेखेका थिए, ‘सामाजिक सञ्जालले लोकतन्त्रलाई ओझेलमा पार्दै छ ।’ लोकतन्त्रका पाँच आधारभूत सिद्धान्तमध्येको एक वाक स्वतन्त्रतालाई सामाजिक सञ्जालले स्थान त दिएको छ, तर बाँकी सिद्धान्तको भने सम्मान गरेको छैन । लोकतन्त्रमा त बहुलवाद पनि हुन्छ, जहा“ सबैले सबैको अस्तित्व स्विकार्नुपर्छ । अरू दलविशेषको साइबर सेनाको विरोध गर्ने जमात कुन वेला आफैँ साइबर सेना भइदिन्छ थाहा नै हुँदैन । 

महोत्सव कमजोरीरहित थियो भन्ने हैन । धेरै कमजोरी थिए । ३८ प्रतिशत महिला सहभागिता थियो, क्या गज्जब गरियो भन्ने लागेको छैन । प्रत्येक सत्रमा एकजना महिला वक्ता/प्रस्तोताको कर्मकाण्ड पूरा गरेर समावेशीकरण पूरा हुने होइन । जनकपुर साहित्य महोत्सवमा महिला सहभागितामा प्रश्न गर्ने क्रममा नारी दिवसमा महिलैमहिला सहभागी अन्तरक्रिया कार्यक्रमको टेम्प्लेट राखेर तुलना गरेको पनि देखियो ।

स्वतन्त्र महिला समूह आयोजक रहेको त्यही कार्यक्रममा १३ महिला वक्तामा सातजना त खस–आर्य महिला मात्र देखिए । मुस्लिम, मधेसी, दलित आदि धेरै छुटेका थिए । महिलामा खस–आर्य महिलाको वर्चस्वमा प्रश्न उठ्ने नै छ । दलितमा पनि पहाडी दलित मात्रै किन भनेर मधेसी दलित महिलाले प्रश्न गर्नेछन्, गर्नु पनि पर्छ । मधेसी दलितमा पनि पासवान मात्र किन, मुसहर, हलखोर खोइ भनेर सोधिने दिन आउनेवाला छ । सामाजिक सञ्जालमा भोकल केही महिला राखेपछि समावेशीकरण पूरा हुने हैन । 

म एक पुरुष, अझ महिलावादीको शब्दमा भाले, ४५ प्रतिशत महिला सहभागिता सुनिश्चित गरी ३८ प्रतिशत गराउन सक्दा आउने वर्ष कम्तीमा ५८ प्रतिशत महिला सहभागिता गराउने लक्ष्य राखेको छु । शतप्रतिशत महिला सहभागिताको यस्तै महोत्सव गर्न महिला नै किन अघि नसर्ने ? म स्वयं जनकपुरबाट आएर काठमाडौंमा संघर्ष गरिरहेको मधेसी । स्रोत जुटाएर महोत्सवको दुई संस्करण गर्न सकेँ । मभन्दा कता हो कता स्रोत परिचालन गर्न सक्ने, सक्षम महिलाहरू आफैँ पनि किन अघि नसर्ने ? 

आलोचकहरूले काठमाडौंबाट मान्छे ओसार्ने किन भनेर प्रश्न गरेको पनि पाइयो । मैले माथि नै उल्लेख गरेँ, हाम्रो उद्देश्य नै जनकपुरको अरू भेग (खासगरी काठमाडौंसँग) अन्तरक्रिया गरी मनभेद कम गर्ने पनि हो । अर्को कुरा, स्थानीय दर्शक–श्रोतालाई स्थानीयभन्दा काठमाडौंबाट आउने अझ नाम चलेका व्यक्तिलाई प्रत्यक्ष सुन्ने, मिले सेल्फी खिच्ने सामाजिक सञ्जालमा पोस्ट गर्ने रहर हुन्छ । आयोजकले श्रोता–दर्शक आकर्षित गर्नेतिर पटक्कै ध्यान नदिइरहन सक्तैनन् । तैपनि, स्थानीय स्रोत व्यक्तिको सहभागिता प्राथमिकतामै राखेका छौँ । 

कुनै काम गर्दा हतोत्साहित गर्ने निन्दकहरू मात्र फेला पारि“दैन, दिलोज्यान दिएर सघाउन तयार पनि भेटिन्छन् । आयोजक संस्थाको अध्यक्ष नै भेन्टिलेटरमा अनि संयोजक उसको उपचारमा व्यस्त रहेको अवस्थामा जनकपुरमा डेराडन्डा कसेर सघाइदिने दिलभूषण पाठक, दीपेन्द्र चौलागाईं, भूपेन्द्र खड्काहरू पनि भेटिन्छन् ।

जनकपुरकै आयोजक, स्वयंसेवी, शुभचिन्तक आदि त थिए नै । तर, केही मान्छेले गलत आरोप लगाए भन्दैमा जनकपुर साहित्य महोत्सव भेन्टिलेटरमा पुग्ने, सिद्धिने हुँदैन । हामीले आउने वर्ष फागुन ५, ६ र ७ गते साहित्य महोत्सव गर्ने घोषणा गरिसकेका छौँ । यसपालि महसुस गरिएका कमीकमजोरी सम्बोधनको प्रयास हुनेछ । मधेसी दलितमा पनि महादलित भनिने समुदायका महिला वक्ताहरूको पनि सहभागिता गराउने प्रयास हुनेछ ।