१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
२०७७ चैत ७ शनिबार ०८:३७:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

चितवनको १० बिघामा जमिनमा मेसीनबाट धान रोपाइँ, मेसिनको प्रयोगले प्रतिबिघा १० हजार बचत

Read Time : > 1 मिनेट
२०७७ चैत ७ शनिबार ०८:३७:००

चितवनका किसानहरूले मेसिनको प्रयोगमार्फत चैतेधान रोपेका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत चितवनको धान जोनअन्तर्गत रत्ननगर नगरपालिका र खैरहनी नगरपालिकाभित्र अत्याधुनिक चारचक्के मेसिनबाट १० बिघा जमिनमा धान रोपाइँ भएको हो ।

मेसिनबाट रोप्ने धानको बीउमा माटो र समयको गुणस्तर मिलाउनुपर्ने हुँदा यस वर्ष सामुदायिक नर्सरीमा राखिएको धानको बीबाट परिक्षणस्वरुप रोपाईं गरिएको थियो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ चितवनका सूचना अधिकृत माधव पौडेलका अनुसार चैतेधानको रोपाईंसँगै मेसिनको परीक्षण पनि भएको छ ।

उनले भने ‘गत वर्षहरूमा पनि चितवनका केही जमिनमा मेसिनबाट धान रोपाईं भएको थियो । तर, यस वर्ष नै खरिद गरिएको यो धान रोप्ने मेसिन विगतको मेसिनभन्दा चितवनको जमिन र कृषकका लागि बढी व्यावहारिक देखियो ।’ अब असारेधान रोप्न यो मेसिनको  प्रयोग हुने उनले बताए ।

‘हामीले यस पटक १० बिघा जमिनमा रोपाईं गर्दा मेसिनको मात्र हैन, धानको बीउको नर्सरीबारेमा पनि ज्ञान भयो । किसानस्तरमा प्रविधि हस्तान्तरण भएको छ । अब किसान आफैँ चलाएर रोपाईं गर्न सक्ने भएका छन्’ उनले भने ।किसानले आफ्नो खेतमा आफैँ बीउ राख्न र मेसिन चलाउन सक्ने भएकाले मेसिनको प्रयोग जनस्तरसम्म पुगेको उनको दाबी छ । जसले आगामी वर्षबाट मेसिनबाट नै खेत रोप्नेको संख्या बढाउदै लैजानेछ ।

चारवटा चक्का भएको यो मेसिनमा १२ वटा ट्रेमा बीउ राख्न सकिन्छ । पौडेलका अनुसार आठवटा ट्रेको बीउले एक कट्ठा जमिनलाई पुग्छ । ६ लाइनमा एकैपटक रोपाईं गर्ने यो मेसिनबाट एक घन्टामा १५ कट्ठा जमिन रोप्न सकिन्छ ।

लागत कम लाग्ने 

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ चितवनको ५० प्रतिशत अनुदानमा साना किसान कृषि सहकारी बछौली र खैरहनीलाई  एक–एकवटा गरी दुईवटा धान रोप्ने मेसिन यही वर्ष प्रदान गरिएको थियो ।

प्रति मेसिन २० लाख ९० हजार लागत रहेको यो आधुनिक मेसिनबाट कृषिमा आधुनिकीकरणका साथै उत्पादन लागत घटाउने उद्देश्य राखिएको छ । मेसिनको प्रयोग गर्दा प्रत्यक्ष रूपमा किसानलाई प्रतिबिघा १० हजार बचत हुने पौडेल बताउँछन् । उनका अनुसार परम्परागत ढंगबाट खेती गर्दा प्रतिबिघा १६ हजार खर्च हुन्थ्यो । तर, मेसिनले ६ हजारमा नै एक बिघा जमिन रोपाईं हुन्छ । 

मेसिनबाट धान रोपाईं हुँदा लाइनमा हुने र यसले रोग किराको प्रकोपमा पनि कमी आउने हुँदा उत्पादन वृद्धि हुने उनी बताउँछन् । मेसिनबाट धान रोपाईं गर्दा धेरै जमिन र ठूलो जग्गामा सजिलो र कम लागत पर्छ ।  कृषि ज्ञान केन्द्र चितवनका प्रमुख राजन ढकालका अनुसार चितवनमा सात हजारभन्दा बढी हेक्टरमा चैतेधान खेती हुँदै आएको छ । तीन हजारभन्दा बढी हेक्टर जमिन चितवनको धान जोन क्षेत्र अन्तर्गत पर्दछ । उनका अनुसार चितवनमा चैतेधान प्रतिहेक्टर चार टन उत्पादन हुन्छ । यहाँ उत्पादन भएका धान छिमेकी जिल्लामा समेत निर्यात हुने गरेको छ ।