१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७७ चैत ६ शुक्रबार १९:०४:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

स्वास्थ्य मन्त्रालयमा प्राविधिक सचिवको दरबन्दी नै गायब

मन्त्रीपरिषदले नयाँ दरबन्दी सृजना गरेपछि मात्रै सचिव नियुक्ती हुने

Read Time : > 1 मिनेट
२०७७ चैत ६ शुक्रबार १९:०४:००

तत्कालीन स्वास्थ्यसचिव डा. पुष्पा चौधरी र सरकारबीचको विवादले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा प्राविधिक सचिवको दरबन्दी गुमेको छ । शुक्रबार स्वास्थ्यसचिव सिफारिस गर्न बसेको सिफारिस समितिले स्वास्थ्यको दरबन्दी नभेटेपछि प्रक्रिया रोकिएको हो । अब मन्त्रिपरिषद्ले नयाँ सचिवको दरबन्दी सिर्जना गरेपछि मात्रै सचिव नियुक्ति हुने सिफारिस समितिले जनाएको छ । योसँगै स्वास्थ्यको प्राविधिक सचिव बन्ने बाटो तत्कालका लागि अन्त्य भएको छ । 


सिफारिस समितिका एक सचिवले भने, ‘स्वास्थ्यमा ३५ हजार स्वास्थ्यकर्मी छन्, उनीहरूको प्रतिनिधित्व गर्ने एक सचिव बनाउनुपर्छ भन्नेमा हामी छौँ । तर, सरकारले स्वास्थ्यको दरबन्दी हटाएको पाइयोऽ त्यसैले तत्काल निर्णय गर्न सकिएन । स्वास्थ्यबाट हटाएर प्रधानमन्त्री कार्यालयमा अस्थायी दरबन्दी सिर्जना गरेको देखियो, तर स्वास्थ्यमा स्वास्थ्यको दरबन्दी देखिएन,’ ती सचिवले भने । 

‘अहिले स्वास्थ्य मन्त्रालयमा प्रशासनतर्फको मात्रै सचिवको दरबन्दी छ । नयाँ सचिव बनाउँदा नयाँ दरबन्दी सिर्जना गरेर मात्रै बनाउन सकिने देखियो,’ लोकसेवा आयोगका एक सदस्यले भने । प्रधानमन्त्री कार्यालयमा पनि अस्थायी दरबन्दी सिर्जना गरेकाले शुक्रबार सचिव सिफारिस गर्न सकिने उनले भने । 

सरकारले तत्कालीन स्वास्थ्यसचिव डा. पुष्पा चौधरीको राजीनामा ०७६ पुसमा स्वीकृत गरेसँगै स्वास्थ्यतर्फको सचिव बनाउने कुनै तदारुकता देखाएको थिएन । ‘२८ असोज ०७५ मा डा. पुष्पा चौधरीको सरुवापछि प्रशासन क्षेत्रका सचिवले स्वास्थ्य मन्त्रालय चलाउँदै आएका छन् । त्यही वेला स्वास्थ्य मन्त्रालयमा भएको स्वास्थ्यको दरबन्दी खारेज गरिएको रहेछ,’ ती सचिवले नयाँ पत्रिकासँग भने । 

आयोगका सदस्यहरूको समयावधि  आगामी १० गतेबाट सकिएकाले स्वास्थ्यसचिव बन्नेबाट सम्भवत: रोकिएको अधिकारीहरूले बताएका छन् । ३९ हजार निजामतीलाई ६९ सचिव हुँदा ३५ हजार स्वास्थ्यकर्मीका लागि शून्य सचिव छ । देशभर ७५ हजारको संख्यामा सरकारी कर्मचारी छन् । त्यसको आधा हिस्सा स्वास्थ्य क्षेत्रमा आबद्ध कर्मचारीको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय कर्मचारी प्रशासन शाखाका सहसचिव दामोदर रेग्मीका अनुसार हाल करिब ७५ हजारको संख्यामा निजामती कर्मचारी छन् । यसमा सबै विधा समेटिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमातहत मात्रै  ३५ हजार पाँच सय ४४ स्वास्थ्य जनशक्ति छन् । बाँकी ३९ हजार चार सय ५६ जना स्वास्थ्यभन्दा बाहेकका विधाका छन् । रेग्मीका अनुसार कुल सचिवको संख्या ७० जना भएकोमा स्वास्थ्य क्षेत्रको मात्रै सचिव रिक्त छ ।