१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
धरानस्थित कृषिउपज बजारमा बिक्रीका लागि कृषकहरूले ल्याएको अम्रिलो कुचो ।
२o८१ बैशाख १९ बुधबार १o:१६:oo
Read Time : > 1 मिनेट
ad
ad
प्रदेश प्रिन्ट संस्करण

९० प्रतिशत अम्रिसो कुचो भारत निर्यात, ५६ करोड आम्दानी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार १o:१६:oo

पूर्वी पहाडी जिल्लामा उत्पादन हुने नगदेबाली अम्रिसो कुचो ९० प्रतिशत भारत निकासी हुने गरेको छ । गत वर्षभन्दा तीन गुणा मूल्य बढेको अम्रिसो कुचो भारतीय बजारमा बढी बिक्री हुने गरेको धरानस्थित कृषिउपज बजारका व्यवस्थापक लक्ष्मण भट्टराईले जानकारी दिए । उनका अनुसार गत वर्ष ४० रुपैयाँ रहेको कुचो यस वर्ष १ सय ३० रुपैयाँसम्ममा बिक्री भएको छ । उनले भने, ‘अम्रिसो कुचो भारतीय मजदुरहरू आएर प्याक गरेर लैजान्छन् । नेपाली बजारमा १० प्रतिशत मात्र बिक्री हुने गरेको छ ।’ 

चालू आर्थिक वर्षको फागुन पहिलो सातासम्ममा ४ हजार ५ सय मेट्रिकटन कुचो कारोबार बिक्री भइसकेको उनले जानकारी दिए । कुचो बिक्रीबापत किसानले ५६ करोडभन्दा बढी आम्दानी गर्ने देखिन्छ । गत वर्ष ३ हजार ७ सय मेट्रिकटन कुचो बिक्री हुँदा १५ करोड आम्दानी भएको थियो । कुचोको मुख्य सिजन माघदेखि वैशाखसम्म मानिन्छ । आर्थिक वर्ष ०७४/७५ मा पूर्वीनाका हुँदै ४२ करोड २६ लाख ५६ हजारको १३ हजार २ सय टन अम्रिसो निर्यात भएको प्लान्ट क्वारेन्टाइन कार्यालय काँकडभिट्टाको तथ्यांक छ ।

धरान–२०, विष्णुपादुका तामाखाममा करिब ५ बिघा जग्गाको पाखाभित्तामा अम्रिसो खेती हुँदै आएको छ  । यो वर्ष कुचोको मूल्य राम्रो पाउँदा उनी दंग छन् । एकपटक रोपेपछि करिब २० वर्ष खासै स्याहार, गोडमेल, मल–पानी लगाउनुनपर्ने भएकाले खर्च पनि कम हुन्छ । लागत कम भए पनि भाउ बढिरहँदा कृषकहरू निराश हुनुनपर्ने कुचो व्यवसायी विनोद कुलुङ बताउँछन् । 

अम्रिसो व्यवसायी विनोद कुलुङले फागुन पहिलो सातासम्ममा करिब १० टन अम्रिसोे बिक्री गरेको बताए । यो वर्ष १३ लाख रुपैयाँको कुचो बिक्री गरेको उनको भनाइ छ । पूर्वी नेपालका पहाडी जिल्ला धनकुटा, तेह्रथुम, भोजपुर, संखुवासभा, खोटाङ, उदयपुर र पाँचथर तथा तराईका सुनसरीको विष्णुपादुका, सेर्गे, मोरङको उत्तरी क्षेत्रमा उत्पादित कुचो धरानमा संकलन हुन्छ । कृषकबाट कच्चा मालका रूपमा अम्रिसो थोक मूल्यमा खरिद गरेर झापाको धुलाबारी र मोरङको विराटनगरका व्यापारीलाई बिक्री हुन्छ । त्यहाँका व्यापारीहरूले थप ब्रान्डिङ, प्याकेजिङ गर्ने र ५० किलो बन्डल बनाएर भारतीय व्यापारीलाई बिक्री गर्ने कृषिउपज बजारका व्यवस्थापक भट्टराईले बताए ।  

भारत निर्यात भएपछि बन्डलबाट अम्रिसोको स्टिक झिकेर सानो–सानो मुठाको कुचो बनाएर उपभोक्ताको घरसम्म पु¥याउने गरिन्छ । त्यसको मूल्य भारतीय बजारमा दोब्बर हुने व्यवसायी बताउँछन् । बजार व्यवस्थापक भट्टराईले भने, ‘नेपालमै तयारी अवस्थाको कुचो बनाएर ब्रान्डिङ, प्याकेजिङ, मार्केटिङ र लेबलिङ गर्ने हो भने वार्षिक अर्ब रुपैयाँको कुचो भारत निर्यात गर्न सकिन्छ । तर, त्यसका लागि सरकारले पूर्वाधार तयार गर्नु जरुरी छ ।’ 

कृषक र व्यापारीलाई नेपालमा उत्पादित अम्रिसो कुचो निर्यातमा सहजीकरण गरिदिने हो भने खेर गएका आफ्ना डाँडापाखा, कान्लामा अम्रिसो रोपेर लाखाँै कमाउन सक्ने भट्टराई बताउँछन् । नेपाली अम्रिसो भारतको पश्चिम बंगाल, गुजरात, राजस्थान, पन्जाब, बेंगलोर, दिल्ली, आन्द्रप्रदेशलगायत राज्यहरूमा जाने गरेको छ । 

ad
ad