Skip This
कर्णालीको समृद्धि मार्ग 
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ फाल्गुण २८ शुक्रबार
  • Tuesday, 26 November, 2024
नरजन तामाङ कर्णाली
२o७७ फाल्गुण २८ शुक्रबार o९:५२:oo
Read Time : > 4 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

कर्णालीको समृद्धि मार्ग 

Read Time : > 4 मिनेट
नरजन तामाङ, कर्णाली
नयाँ पत्रिका
२o७७ फाल्गुण २८ शुक्रबार o९:५२:oo

आफ्नै मौलिक स्रोत–साधनको उच्च सदुपयोगबाट मात्रै कर्णालीको समृद्धि मार्ग तय हुन सक्छ

नेपालमा राज्य पुनर्संरचनाले सिंगो मुलुकलाई सात प्रदेशमा विभाजन गरेपछि मध्यपश्चिमबाट छुट्टिएको कर्णाली प्रदेश तुलनात्मक रूपले कमजोर प्रदेश हो । मुलुकमै पिछडिएको कर्णाली अञ्चल यसै प्रदेशमा छ । मुलुकका ७७ जिल्लामध्ये १० जिल्ला रहेको कर्णाली प्रदेशमा सरकारले पछडिएको क्षेत्र निर्धारण गरेका नौ जिल्लामध्ये कर्णालीका पॉच र जाजरकोटसहित ६ जिल्ला यसैमा पर्छन् । यो विवरणले कर्णाली प्रदेश अन्य प्रदेशभन्दा पछाडि रहेको देखाउँछ । तर, कर्णालीको विपन्नताको निराशाजनक तस्बिर खिचिरहँदा हामी यहाँको सम्पन्नताको अथाह सम्भावनालाई भने नजरअन्दाज गरिरहेका हुन्छौँ । कर्णाली सम्पन्नताको उच्च सम्भावना बोकेको प्रदेश पनि हो । 

तत्कालका लागि पछाडि परेको देखिए पनि स्रोत–साधनका दृष्टिले यो प्रदेशका अवसर धेरै छन् । उपलब्ध अवसरको सदुपयोग गर्दै चुनौतीको सामना गर्न सके समृद्ध हुने सम्भावना प्रचुर छ । कर्णाली प्रदेशबाट निर्वाचित जनप्रतिनिधिले निर्वाचित भएलगत्तै गरेका अभिव्यक्ति र प्रतिबद्धता व्यवहारमै उतारेर देखाए, प्रत्येक जिल्लामा यातायातको पहुँच पुगाउन सके यो प्रदेश समृद्ध हुने सम्भावना धेरै छन् । अहिलेका लागि पहुँच (कनेक्टिभिटी) कर्णालीको समृद्धिको ठूलो अड्चन हो । 

कृषिमा सम्भावना : कर्णालीको समृद्धिका आधार धेरै छन् । पर्यटन, अन्य प्रदेशमा उत्पादन हुन नसक्ने कृषि उत्पादन, दुर्लभ वनस्पति तथा जडीबुटी, लोपोन्मुख पशुपक्षीको संरक्षण, जलविद्युत्, खानी, भाषा तथा संस्कृति, दुर्लभ मानवबस्ती, अन्तर्राष्ट्रिय सीमाजस्ता कैयौँ पहिचान नै समृद्धिका मुख्य आधार हुन् । कृषि पनि कर्णालीको समृद्धिको एउटा आधार हो । संसारमै उच्च हिमाली भेगमा उत्पादन हुने मार्सी धान यहॉ फल्छ, जसको बजारमा माग उच्च छ । कर्णाली सरकारले यो प्रदेशलाई अर्गानिक प्रदेश बनाउने लक्ष्यसहित पहिलोपटक ११ करोड ९० लाख बजेट खर्चिएको छ ।

अब कर्णालीले जिल्लाको भूगोलअनुसार कृषि क्षेत्रमा कुन उत्पादन कहाँ हुन्छ भन्ने निर्क्योल गरेर तिनको उत्पादनलाई बढावा दिने गरी कार्यक्रमको योजना तर्जुमा गर्नुपर्छ । अध्ययन गरेर सुविचारित योजनामार्फत अग्र्यानिक उत्पादनमा जोड दिन आवश्यक छ । यहाँको उत्पादन अहिले नै पनि महँगो मूल्यमा बिक्री भइरहेका छन् । निर्यात गर्न सकिने अवस्था पनि छ । उच्च हिमाली भेगमा उत्पादन हुने तिते र मिठे फापरलगायत चिनोको पनि निकै सम्भावना छ । यी खाद्यान्न मधुमेहका रोगीका लागि उपयुक्त मानिएका छन् । कर्णालीका यी मौलिक उत्पादनलाई औषधीजन्य खाद्यका रूपमा बेच्न सक्छाैँ । हिउँदमा सुर्खेत, दैलेख र वर्षायाममा हिमाली जिल्लाले कृषि उपजको उत्पादन गर्छ । त्यसैले, यो प्रदेशमा सदाबहार हरियो तरकारी उब्जाउन सकिन्छ । अन्य स्थानमा नपाइने मुला जातको चोतो यहाँका हिमाली जिल्लामा पाइन्छ । यसको औषधीय महत्व र स्वादबारे जानकारी गराउन सके बजारको सम्भावना छ ।

उच्च हिमाली भेग हुम्लाको लिमी, डोल्पाको छार्का, मुगुको मुगुम भेगमा नाफल पाइन्छ । तिब्बतमा पाइने गहुँ आकारको नाफल अन्त कतै पाइएको जानकारीमा छैन । यहाँको हिमाली भेगमा पाइने आलु र सिमीको स्वाद अन्तको भन्दा भिन्न छ । यहाँको आलु र सिमीको काठमाडौंलगायतका सहरमा माग र मूल्य दुवै राम्रो छ । अत्यन्त स्वादिलो स्याउ मनाङ, मुस्ताङपछि कर्णालीमै पाइन्छ । कर्णालीको स्याउ एक समय बंगलादेशसम्म पुगेको थियो । अनेक समस्याका कारण नियमित हुन नसकेको कर्णालीको स्याउको निकासीले अन्तर्राष्ट्रिय बजार सजिलै लिन सक्ने सम्भावना छ । दैलेखमा सुन्तला खेतीको सम्भावना राम्रो देखिएको छ ।

जडीबुटी र वनपैदावार : कर्णालीको समृद्धि यात्रामा वनपैदावारले पनि योगदान गर्न सक्छ । यहाँ प्रशस्त जडीबुटी पाइन्छन्, जसको प्रशोधन गरेर बेच्न सके राम्रै मूल्य पाउन सकिन्छ । जुम्ला डोल्पा र मुगुमा यार्सागुम्बा प्रशस्तै पाइन्छन् । बर्सेनि करोडौँ मूल्यका यार्सा संकलन भएर निर्यात हुँदै आएका पनि छन् । शाकाहारीलाई आकर्षित गर्ने महँगो गुच्ची च्याउ पाइने प्रदेश पनि यही हो । यो च्याउको व्यावसायिक खेतीतर्फ प्रदेश सरकारले ध्यान दिन आवश्यक छ । सरकारी अध्ययनले पनि यो प्रदेशलाई बहुमूल्य औषधीका कच्चापदार्थ (जडीबुटी)को भण्डारका रूपमा देखाउँछ । वन विभागका पूर्वमहानिर्देशक केशवराज कँडेलका अनुसार हुम्लामा बहुमूल्य जडीबुटी कटुकी, पॉचऔँले, सुगन्धवाल, सतुवा, विष, निरमसी, वन लसुन, लौठ सल्ला, भूतकेस, जटामसी प्रशस्त पाइन्छन् । यस्ता बहुमूल्य र औषधीजन्य जडीबुटीको व्यवस्थित संकलन र निकासी गर्ने हो भने नागरिकको साथै सरकारको आयस्रोतमा समेत वृद्धि हुनेछ । प्रदेश पनि समुद्धितर्फ अग्रसर हुने देखिन्छ । 

पर्यटन : विश्वमा लोप भइसकेका जंगली जनावर र चराचुरुंगी पनि हुम्लाको लिमीमा पाइएका अध्ययनमा देखाउँछ । वन तथा भू–संरक्षण मन्त्रालयको सहयोगमा प्रकृतिका साथी नामक गैरसरकारी संस्थाले ०७३ सालमा गरेको अध्ययनमा विश्वमै दुर्लभ मानिएका स्तनधारी जनावर र नयॉ प्रजातिका चरा कर्णालीमा फेला परेका छन् । विश्वमा दुर्लभ र संवेदनशील मानिएको वनचाैरी सन् २००१ मा मुस्ताङमा रेकर्ड गरिएको छ । त्यसपछि ५५/६० वर्षको बीचमा पहिलोपटक लिमीमा भेटिएको अध्ययनले भन्छ । हुम्लाको लिमी उपत्यकामा जंगली कुकुर, जंगली घोडा पाइन्छन् । यिनको संरक्षण गर्न सके अध्ययन अनुसन्धानकर्ता र पर्यटकहरू भित्र्याउन सकिने सम्भावना छ । उच्च हिमाली भेगमा पाइने नाउर, हिउँ चितुवा, कस्तुरीजस्ता दुर्लभ जंगली जनावर यो प्रदेशको आकर्षण मात्रै होइनन्, आयका सम्भावना पनि हुन् । कर्णालीमा डॉफे, मुनाल, च्याखुराजस्ता चराचुरुंगी पनि प्रशस्तै पाइन्छन् । यसर्थ, कर्णाली प्रकृतिक स्रोत–साधनले भरिपूर्ण छ । कर्णालीलाई सबैभन्दा बढी चाहिएको सडक हो । सडकले कर्णालीको सम्भावनाको प्रस्फुटन गराउन महत्वपूर्ण भूमिका खेल्न सक्छ । 

पर्यटनमा पर्याप्त सम्भावना छन् । मुलुककै ठूलो ताल रारा र गहिरो ताल सेफोक्सुन्डो कर्णालीमै छ । सल्यान जिल्लाको स्फस्टिक जस्तो सफा कुपिण्डे दहले पनि उत्तिकै सम्भावना बोकेको छ । हुम्लाको चाङला, गोरख हिमाल, डोल्पाको कान्जिरोवा, मुगु र हुम्ला जिल्लाको बिचमा पर्ने चंखेली हिमाल, रुकुमको सिस्ने हिमाल पनि पर्यटक भित्र्याउने माध्यम हुन् । बझाङ, बाजुरा र हुम्लाको समाना पर्ने सइपाल हिमाललाई पनि कर्णालीले पर्यटनमा उपयोग गर्न सक्नुपर्छ । 

कर्णालीको स्याउ एक समय बंगलादेशसम्म पुगेको थियो । अनेक समस्याका कारण नियमित हुन नसकेको कर्णालीको स्याउको निकासीले अन्तर्राष्ट्रिय बजार सजिलै लिन सक्ने सम्भावना छ । 

आधुनिकताले नछोएको, आफ्नै पौराणिक परम्परा बोकेका हुम्लाको लिमी, मुगुको मुगम, डोल्पाको छार्काभोट भर्जिन स्थान हुन् । अनेकौँ प्राकृतिक, ऐतिहासिक तथा धार्मिक स्थल, गुफा, ताल, छहराले कर्णालीलाई विशिष्ट पहिचान दिएको छ । यहाँको प्रकृति मात्रै मोहक छैन । संस्कृति र ऐतिहासिकता पनि उत्तिकै महत्वपूर्ण र रोचक छ ।

धार्मिक पर्यटक मात्रै भित्र्याउन सक्ने हो भने पनि कर्णाली प्रदेशको पर्यटन फस्टाउन सक्छ । सञ्चारको पहुँच नहुँदा प्रचारप्रसार हुन नसकेका अनेकौँ धार्मिक स्थलको प्रचारप्रसार अहिलेको सूचना प्रविधिको युगमा सजिलै गर्न सकिन्छ । कर्णालीले ध्यान दिन आवश्यक छ । जुम्लाको चन्दननाथ, हुम्लाको खार्पूनाथ, मुगुको छायानाथ भारतीय पर्यटकका लागि आकर्षक र प्राथमिकताका गन्तव्य हुन सक्छन् । डोल्पाको छल मस्टो, जुम्ला सिंजाको पाण्डव गुफा, सुर्खेतको देउती बज्यै, दैलेखका पादुका जस्ता तीर्थले पनि धार्मिक पर्यटनको सम्भावना राख्छन् । हुम्लालगायत जिल्लामा सदियौँ पुराना गुम्बा, हजाराैँ वर्ष पुराना गुफा जस्ता महत्वका सम्पदा छन् । हुम्ला लिमी हल्जीको ११औँ शताब्दीमा निर्माण भएको हल्जी गुम्बा, हुम्लाकै रल्लिङ गुम्बा, यालबाङको नाम्खाख्याम्जुङ गुम्बा, डोल्पाको डोल्पु गुम्बा, बौद्ध धर्मावलम्बीका निम्ति पवित्र तीर्थ हुन् । मानसरोवर कैलाश प्रवेशद्वार हिल्सा र नेपाली भूमिबाटै मानसरोवर कैलाश पर्वत दर्शन गर्न सकिने लिमी लाप्चालाई अवसरका रूपमा लिन सकिन्छ । नेपालको राष्ट्रिय भाषा ‘नेपाली’ यही प्रदेश अन्तर्गतको जुम्ला जिल्लाको सिन्जाबाट उत्पत्ति भएको मानिन्छ । जुम्लाका राजा अशोक चल्लद्वारा लिखित ताम्रपत्रले हुम्लाको रलिङगुम्बाको महत्वलाई उजागर गर्छ, यस्ता प्राचीन गुम्बालगायत सम्पदाले सजिलै आन्तरिक तथा बाह्य पर्यटकको ध्यान तान्न सक्नेछन् । 

जलविद्युत्, खानी र उद्योग : दैलेख जिल्लाको दुल्लुमा पेट्रोलियम पदार्थको खानी रहेको आकलनमा सर्वेक्षण सुरु भएको छ । पेट्रोलियम पाइए त्यो प्रदेश सरकारको मूल सम्पत्ति हुनेछ । विद्युत्को सम्भावना पनि यो प्रदेशमा धेरै नै छन् । नेपालका ठूला नदीमध्येको कर्णालीबाट हजारौँ मेघावाट क्षमताको विद्युत् उत्पादनको सम्भावना छ । तिलानदी, मुगु कर्णाली, भेरीजस्ता साना नदी पनि जल विद्युत्का सम्भावना हुन् । चीन र भारतजस्ता दुई ठूला छिमेकीबीचको सेतु बनेर लाभ उठाउन सकिने सम्भावना पनि कर्णाली प्रदेशमा छ । कर्णाली कोरिडोरले उत्तर चीन र दक्षिण भारतलाई जोड्दा व्यापारको सम्भावना छ । 

यो प्रदेशमा कच्चा पदार्थ आयात गर्न नपर्ने उद्योग स्थापनाको सम्भावना छ । यहाँ औषधी, मदिरा, जुस, वाइन, बियरजस्ता उद्योग सञ्चालनमा ल्याउँदा कच्चापदार्थ आयात गर्नुपर्नेछैन । यसबाट स्थानीयस्तरमै रोजगारी सिर्जना हुने अवस्था छ । तर, यावत् सम्भावनालाई वास्तविकतामा परिणत गर्न कर्णाली प्रदेशबाट निर्वाचित जनप्रतिनिधिको सोच, प्रतिवद्धता, उत्साह र मिहिनेत आवश्यक हुन्छ । तर, उनीहरूको शक्ति र समय काठमाडौंको सत्ताराजनीतिमै अलमलिएको अवस्था छ । महत्वपूर्ण कुरा, कर्णालीले अरूको सिको गरेर वा मागेर होइन, आफ्नै मौलिक स्रोत र साधनको उच्च सदुपयोग गरेर समृद्धिको मार्ग तय गर्नुपर्नेछ । त्यो नै कर्णालीको समृद्धिको दिगो धरातल हुन्छ ।