१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
२०७७ फाल्गुण २६ बुधबार २१:२९:००
Read Time : > 1 मिनेट
खेलकुद

काठमाडौं मेयर कप क्रिकेट : पुलिस फाइनलमा

Read Time : > 1 मिनेट
२०७७ फाल्गुण २६ बुधबार २१:२९:००

विभागीय टोली नेपाल पुलिस क्लब काठमाडौं मेयर कप क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बुधबार भएको खेलमा काठमाडौं मेयर ११ लाई एक सय तीन रनको भारी अन्तरले पराजित गर्दै पुलिस प्रतियोगिताको अन्तिम दुईमा पुगेको हो ।

 तीन विभागीय टोलीसहित पाँच टोली सहभागी रहेको प्रतियोगिताको राउन्ड रोविन लिगमा शीर्ष दुई स्थानमा रहने टोलीले प्रतियोगिताको उपाधिका लागि प्रतिस्पर्धा गर्ने प्रावधान छ । 

फाइनल पुग्ने दोस्रो टोलीको टुंगाे बिहीबार हुने राउन्ड रोविन लिगको अन्तिम चरणको खेलमार्फत लाग्नेछ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारी पहिले ब्याटिङ गरेको पुलिसले ४७.४ ओभरमा सबै विकेट गुमाउनुअघि एक सय ९७ रनको योगफल तय गरेको थियो । जवाफमा आएको काठमाडौं मेयर ११ ले ३१.२ ओभर सबै विकेट खर्चेर ९४ रन मात्रै जोड्न सक्यो । 

पुलिसलाई यो महत्वपूर्ण जित दिलाउन पवन सर्राफले अलराउन्ड प्रदर्शन गरे । ब्याटिङतर्फ २८ रन जोडेका उनले काठमाडौं मेयर ११ को चार विकेटसमेत लिए । यही प्रदर्शनका कारण उनी म्यान अफ दी म्याच चुनिए ।

उनीबाहेक योगेन्द्रसिंह कार्कीले ४०, कुशल भुर्तेलले ३४, दीपेन्द्रसिंह ऐरीले २४ र सुनील धमलाले २२ रनको योगदान दिए । पवनपछि बलिङमा दीपेन्द्रले केही ठूला सफलता दिलाए । उनले पनि तीन विकेट लिए । ललित राजवंशीले दुई र सागर ढकालले एक विकेट लिए । 

काठमाडौंका लागि कप्तान सन्दीप लामिछानेले २६ रनको योगदान गर्नुबाहेक अन्य खेलाडीले गतिलो प्रदर्शन गर्न सकेनन् । कृष्ण कार्की १९ र सिद्धान्त लोहनी १८ रनमा आउट हुँदा अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । 

सन्दीपले बलिङतर्फ पनि तीन विकेट लिएका थिए । यद्यपि, उनको योगदान टोलीलाई पराजयबाट जोगाउन पर्याप्त भएन । उनीसँगै हरिशंकर शाहले पनि तीन विकेट लिए ।