
जसपा अध्यक्ष उपेन्द्र यादवले वर्तमान सरकारसँग कुनै पनि किसिमको सहकार्य तथा सहयात्रा नहुने स्पष्ट पारेका छन् । संसद् भवनबाट बाहिरिने क्रममा पत्रकारहरूसँग कुरा गर्दै यादवले वर्तमान सरकारलाई सत्ताबाट हटाउने नै आफ्नो पार्टीको मूल ध्येय भएको बताए ।
उनले भने, ‘लोकतन्त्रको रक्षाका लागि, संघीय गणतन्त्रको रक्षाका लागि, संघीयता पक्षधर शक्तिहरूसँग सहकार्य गर्न सक्छौँ । जसले हाम्रा मधेसका मुद्दाहरूलाई समर्थन गर्दछ । संविधान संशोधनलाई अगाडि बढाउँछ । त्यस्ता शक्तिहरूसँग सहकार्य गर्ने हो । त्यो शक्ति भनेको नेकपा (एमाले) होइन । त्यो विगतदेखि हामीले अहिलेसम्म टेस्ट गरेर व्यवहारमा हेरिसकेका छौँ । अहिलेको सरकारसँग कुनै किसिमको सहकार्य, सहयात्रा हुन सक्दैन ।’
जसपाका वरिष्ठ नेता राजेन्द्र महतोले रेशम चौधरीलगायतकाको मुद्दा फिर्ता, मधेस–थरुहट आन्दोलनका मुद्दाहरू फिर्ता, संविधान संशोधनलगायतका सवालहरू केपी ओलीसमक्ष पटक–पटक राखिएको भए पनि ओलीले ठग्नेबाहेक केही काम नगरेको बताए ।
जसपाका नेता लक्ष्मणलाल कर्णले आफ्ना सबै विषयमा सरकारसँग कुरा गर्दै आएको र वर्तमान सरकारसँग पनि आग्रह गरिएको बताए । नेकपा (एमाले)सँग सत्तासमीकरणबारे छलफल गर्न कार्यदल नबनेको उनको जिकिर छ । सत्तासमीकरणको सम्बन्धमा जसपा कुनै पक्षसँग नभएको उनले बताए ।