इलाम माई नगरपालिका–८ मैनाचुलीकी सिर्जना लावती राई खानेपानी बोक्न बिहान झिसमिसेमै आधा घन्टाको बाटो ओरालो झर्छिन् । बिहान ६ नबज्दै खोल्सामा रहेको धारामा पानी थाप्न पुगेकी सिर्जना घर आइपुग्दा १० बज्छ ।
‘एक गाग्रो पानी थाप्न दुई घन्टाभन्दा बढी त पालो नै पर्खनुपर्छ’, सिर्जना भन्छिन् । भरिएको गाग्रो डोकामा बोकेर नाक ठोकिने उकालो झन्डै एक घन्टा हिँडेपछि बल्ल घर पुग्छिन् । यसरी कष्टकर रूपमा पानी बोक्नु उनको एक्लो बाध्यता हैन, सिंगो मैनाचुली गाउँकै नियति हो । ‘पानीको दुःखको त कुरै नगरौँ । बिहान ६ बजे आएको मान्छे १० बजे मात्र घर पुगिन्छ । नाक ठोकिने उकालो ४५ मिनेटसम्म पानी बोकेर जानुपर्छ । हामीलाई अलिक नजिक हो । अरूलाई त दुई घन्टासम्म लाग्छ,’ उनी भन्छिन्, ‘हामीलाई सरकारले कम्तीमा पानीको व्यवस्था गरिदिए हुने । तर, सबैले आश्वासन मात्र दिन्छन् । कसैले पानीको व्यवस्था गरिदिँदैनन्,’ उनी भन्छिन् ।
गाउँमा खानेपानी छैन । खानेपानीका लागि सरकारी तवरबाट कुनै पहल पनि भएको छैन । तर, डाँडाबाट झापासम्मको दृश्य हेर्न प्रदेश सरकारले ४० लाखको योजना त्यहाँ पारेको छ । यद्यपि, काम भने सुर भएको छैन । चुरे क्षेत्रमा पर्ने मैनाचुलीको डाँडो सुक्खा छ । त्यहाँ स्थानीय घन्टौँ अप्ठ्यारो बाटोमा यात्रा गरेर पानी बोकेर दैनिकी चलाउँछन् । यहाँका अधिकांश महिलाको काम नै पानी बोक्ने र भान्सा टार्ने हो । पानी ल्याउँदै बिहान बित्छ । त्यसकारण पनि उनीहरू अरू केही काम गर्न भ्याउँदैनन् ।
मैनाचुलीकी गौरीमाया मुखियालाई पानी बोकेर धाराबाट घर पुग्दा आधा घन्टाभन्दा धेरै लाग्छ । डोकोमा पानी बोक्न निकै मुस्किल छ । बाटो अप्ठ्यारो भएका कारण निकै समस्या हुने गरेको उनी बताउँछिन् । ‘ठुल्ठूला डिल उक्लिनुपर्छ । बाटो अप्ठ्यारो छ । पानी नहुँदा बाली लगाउँदा पनि राम्रो हुँदैन,’ उनी भन्छिन्, ‘अस्ति त पानी ल्याउने भनेर नप्दै हिँड्दै थिए । उनीहरू पनि हराए । डाँडामा पानी ल्याइदिए त हामीलाई कति सजिलो हुने थियो ।’
मान्छेका लागि खानेपानी त जसोतसो बोकेर ल्याउँछन्, मैनाचुलीवासी । तर, घरमा पालेका गाईबस्तुलाई पानी खुवाउन समस्या रहेको गौरीमाया बताउँछिन् । ‘हामीले त बोकेर खाएका छौँ । घरमा गाईबस्तु पाल्नैपर्छ । गाईबस्तुलाई पनि खुवाउनैपर्छ । गाईबस्तुलाई खुवाउन भने समस्या छ,’ उनी भन्छिन्, ‘तल खोला छ त्यहीँ पानी खुवाउन लैजाने गरेका छौँ । तीन घन्टाजति लाग्छ खोला पुग्न ।’
मैनाचुली र लोसे क्षेत्रमा करिब ७० घरपरिवार छन् । अधिकांश जनजाति समुदायका छन् । उनीहरूले यसरी नै दुःख गरेर पानी बोक्नुपर्ने समस्या छ । यहाँ वृद्धवृद्धालाई पानी बोकेर खान निकै मुस्किल छ । ‘पानी लिने पुगेर आउँदा तीन घन्टा लाग्छ । वृद्धवृद्धालाई त त्यो पनि गाह्रो छ । बाटो यस्तो छ कसरी पानी बोक्ने ?,’ वृद्ध सुकबहादुर लावती भन्छन्, ‘छोरा–छोरी तल (झापा) बस्छन् । आएका वेला भरिदिन्छन् । त्यसरी नै चल्दै छ । एक गाग्री पानीले सानो परिवारमा पनि त्यही एक दिन त पुग्छ । पानीको समस्या त कुरै नगरौँ ।’
मैनाचुलीकी सुम्निमा तामाङ लावती केही वर्षअघि मात्र विवाह गरेर त्यहाँ आएकी हुन् । उनको पानी बोक्ने खासै बानी छैन । त्यसकारण पनि उनलाई पानी बोक्न अरू स्थानीयको तुलनामा दोब्बर समय लाग्छ । ‘पानीको दुःख त कति छ कति । एक गाग्री पानीले एक दिन पनि पुग्दैन,’ उनी भन्छिन्, ‘पहिलादेखि यहीँ बसेर पानी बोकिरहेकालाई त खासै समय लाग्दैन । तर, म त भर्खर विवाह गरेर आएकी हुँ । मलाई त उकालो हिँडेर घर पुग्न डेढ घन्टा लाग्छ ।’
सडक छ, गाडी पुग्दैन
मैनाचुली र लोसे ‘बत्तीमुनिको अँध्यारो’मा पर्छ । यो इलाम निर्वाचन क्षेत्र २ मा पर्छ । यहाँबाट निर्वाचित सुवासचन्द्र नेम्वाङ संविधानसभा अध्यक्ष बने । उनी नेकपामा पहुँचवाला नेताका रूपमा चिनिन्छन् । तर, उनको क्षेत्र अहिले पनि ‘इलामको कर्णाली’ नामले चिनिन्छ । आफ्ना प्रतिनिधि देशमै चर्चामा रहेका नेता हुन् । तर, नेम्वाङको निर्वाचन क्षेत्रका जनता अझै पनि यस्तो अवस्थामा छन् । चुरे क्षेत्रमा पर्ने यो मैनाचुली र लोसे झापादेखि त्यति धेरै टाढा पर्दैन । करिब १० किलोमिटरको यात्रामा यहाँ पुगिन्छ । तर, राम्रो सडक नहुनु र उकालो–ओरालो धेरै भएका कारण झापाको शिवसताक्षीस्थित दूधेबाट करिब तीन घन्टामा मात्र यहाँ पुगिन्छ । इलामको अरू क्षेत्रभन्दा तुलानात्मक रूपमा सुविधासम्पन्न जिल्ला झापा आइपुग्न निकै नजिक छ । तर, विकटताका कारण ‘झापाले नहेरेको, इलामले नदेखेको’ उपमा पाएको छ, यो गाउँले ।
त्यहाँ सडकको ट्र्याक खोलेको छ । तर, गाडी गाउँसम्म पुग्दैन । ट्र्याक खोले पनि समय–समयमा मर्मतमा ध्यान नजाँदा बाटो ठाउँ–ठाउँमा बिग्रिएको छ । स्थानीय तहको ‘डोजरे’ विकासले बाटोमा मोटरसाइकलसमेत कुद्न सक्दैन ।
जंगलको बाटो करिब तीन घन्टा पैदलयात्रा गरेपछि मात्र पुगिन्छ मैनाचुली । यहाँका स्थानीयको मुख्य बजार झापाको दूधे, झिलझिले नै हो । उनीहरू यहाँबाट करिब तीन घन्टा पैदल यात्रा गरेर दैनिक उपभोग्य सामान ल्याउने गरेका छन् । ‘चामल, नुन तेलदेखि खाने सबै कुरा तल (दूधे)बाट डोकोमा बोकेर ल्याउँछौँ,’ उनी भन्छिन्, ‘बाटो छैन । गाडी आउँदैन । तीन घन्टा लगाएर खानेकुरा ल्याउँछौँ ।’
सडक सञ्जालले गाउँ नजोडिँदा सबैभन्दा समस्या गाउँमा मान्छे बिरामी हुँदा हुन्छ । गाउँमा एउटा मेडिकलसम्म छैन । टाउको दुख्दा पनि तीन घन्टाको यात्रा गरेर झापा नै आएर औषधि खानुपर्छ । कोही गम्भीर बिरामी भएमा बोकेर अस्पताल लैजानुपर्ने बाध्यता सुनाउँछन्, मैनाचुलीका लीलानाथ राई । ‘कोही बिरामी भयो भने डोलीमा बोकेर लान्छौँ । बाटो यस्तै छ । गाउँमा ट्र्याक्टरसम्म आउँदैन,’ उनी भन्छन्, ‘गाउँमा स्कुल त राम्रो छैन कहाँबाट हस्पिटल हुनु र ! टाउको दुख्दासम्म तलै जानुपर्छ ।’
गाउँमा ४ कक्षासम्म मात्र विद्यालय
मैनाचुलीमा ४ कक्षासम्म मात्र विद्यालय छ । ०६१ सालमा स्थापना भएको जोरपोखरी आधारभूत विद्यालयमा एकजना मात्र शिक्षक छन् । विद्यार्थी पनि कमै छन् । ४ कक्षासम्मको अध्ययन गरिसकेका विद्यार्थी त्यसमाथिको शिक्षा लिन तीन घन्टाको यात्रा गरेर दूधे आउनुपर्छ । जंगलको बाटो । त्यसमा पनि उकालो–ओरालो बालबालिकालाई विद्यालयसम्म पुग्न मुस्किल छ । ‘जंगलको बाटो तीन घन्टा हिँडेर स्कुल जानुपर्छ । कहिलेकाहीँ त घर आइपुग्दा राति हुन्छ,’ छात्रा सुष्मा लावती भन्छिन्, ‘तल (दूधेमा) डेरा बसेर पढ्न पैसा पनि हुँदैन । यहाँ स्कुल आए त हामीलाई धेरै सजिलो हुन्थ्यो ।’
विद्यालय टाढा भएका कारण छोराछोरीलाई विद्यालयबीचमै छाड्न लगाउनुपर्ने बाध्यता रहेको स्थानीय लीलानाथ राई बताउँछन् । ‘स्कुल ४ कक्षासम्म मात्र छ । बाँकी तल गएर पढ्नुपर्छ । हामी खेती–किसानी गर्ने मान्छे । तल राखेर केटाकेटी पढाउन सकिँदैन,’ उनी भन्छन्, ‘सधैँ आउ–जाउ गर्न पनि मुस्किल पर्छ । त्यही भएर ७–८ पढेर छाड्ने धेरैजना छन् ।’
वडा कार्यालय पुग्न एक दिनको बाटो
स्थानीय जनतालाई वडा कार्यालय रहेको कलकत्ते पुग्न एक दिन लाग्छ । मैनाचुली र लोसे क्षेत्रका जनता सरकारी काम लिएर जानुप¥यो भने एक दिन हिँडेर मात्र वडा कार्यालय पुग्छन् । स्थानीय सरकारको निर्वाचनपछि गाउँ–गाउँमा सिंहदरबार आयो । तर, यहाँका जनताले भने यसको अनुभूति गर्न पाएका छैनन् । ‘बूढाबूढी लिएर जाँदा त एक दिन नै लाग्छ । वडा कार्यालय जान धेरै टाडा छ,’ स्थानीय धनबहादुर राई भन्छन्, ‘वडा कार्यालय जाने बाटो पनि छैन । धेरै खोला छन् । वर्षामा जान पनि सकिँदैन ।’
निर्वाचित भएपछि वडाध्यक्ष भक्तबहादुर आङ्देम्बे पनि एकपटक मात्र त्यहाँ पुगेको स्वीकार गर्छन् । भौगोलिक हिसाबले सबैभन्दा विकट ठाउँ भएकाले जान मुस्किल परेको उनी बताउँछन् । ‘म निर्वाचित भएपछि एकपटक मात्र त्यहाँ पुगेको छु । भौगोलिक विकटता छ । त्यहाँका जनताले पनि बुझ्नुहुन्छ,’ उनले भने, ‘त्यहाँको विकासबारे तल (झापा) आएका वेला जनतासँग बसेर कुरा गर्छौँ ।’
गाउँमा खानेपानीका लागि जनताले दुई घन्टासम्म हिँड्नुपर्छ । सडक सञ्जालले जोडिएको छैन । दैनिक उपभोग्य सामग्री बोकेर झापाबाट लिएर जान्छन् । बिजुलीको तार भर्खर टागिँदै छ । तर, पर्यटकलाई आकर्षण गर्ने उद्देश्यले मैनाचुलीको डाँडामा भ्युटावर बनाउने तयारी भइरहेको छ । वडाध्यक्ष आङ्देम्बेका अनुसार आर्थिक वर्ष ०७६÷०७७ मा प्रदेश सरकारले भ्युटावर निर्माणका लागि ४० लाखको योजना यस ठाउँमा परेको थियो । ‘अहिलेसम्म बजेट आएको छैन । काम पनि सुरु भएको छैन । खोइ किन नभएको हो,’ उनी भन्छन्, ‘बजेट परेपछि त हुनुपर्ने हो । अब के भएको रहेछ म बुझ्छु ।’
इलाम–२ ‘ख’का प्रदेश सभा सदस्य धिरेन शर्माले अघिल्लो आर्थिक वर्षमा बजेट छुट्टिए पनि कोरोना महामारीले काम हुन नसकेको बताए । योजना परेपछि कार्यान्वयन हुनुपर्ने उनी बताउँछन् । तर, जनताका आवश्यकतामा बजेट खर्च गरिनुपर्ने उनको भनाइ छ । ‘म पनि भ्युटावर बनाउनुपर्छ भन्नेमा छैन । त्यहाँ धेरै समस्या छन् । त्यतातर्फ ध्यान दिनुपर्छ,’ उनले भने ।
प्रदेश सरकारले योजना पारे पनि काम गरेको छैन । तर, वडाले भने त्यहाँ ६ लाखमा दुईवटा बस्ने फलैँचा बनाइदिएको छ । डाँडामा भएका कारण त्यहाँ बसेर झापाका दृश्य हेर्न सकिन्छ । जनतालाई खानेपानी छैन स्थानीय सरकारले भ्यु–पोइन्टका लागि पैसा खर्च गरेको छ । त्यो पनि ६ लाखमा दुईवटा साना प्रतीक्षालय (फलैँचा) मात्र । ‘हामीलाई खानेपानी, बिजुली र बाटोको समस्या छ । तर, सरकारले भ्युटावर बनाइदियो । कामविनाको यो के गर्ने ?,’ स्थानीय नरबहादुर कोइराला भन्छन्, ‘दिने र लिनेको सन्तुलन नै मिलेन । हामी कृषिले बाँचेका छौँ । बरु कृषिमा लगानी गरिदिएको भए हुने नि !’
बिजुलीको पोल छ, बत्ती छैन
गाउँमा अहिले बिजुली छैन । स्थानीय वर्षौँदेखि टुकीको भरमा छन् । गाउँको आधारभूत विद्यालयमा सोलार छ । स्थानीय त्यही विद्यालयमा मोबाइल चार्ज गर्छन् । साँझ टुकीका भरमा बस्छन् । अहिले बल्ल गाउँमा बिजुलीको पोल जाँदै छ । बिजुलीको तार आउँदै छ गाउँमा । जसले स्थानीयलाई उत्साह थपेको छ । तर, गाउँमा कहिले बत्ती आउने हो भन्ने टुंगो छैन । ‘बल्ल बिजुलीको पोल आयो । अब त बिजुली बाल्न पनि पाइन्छ होला,’ सुकबहादुर लावती भन्छन्, ‘तर, अस्तिदेखि तार टागिँदै छ । बिजुली कहिले आउने भन्ने टुंगो छैन ।’
‘समस्या धेरै छ, काम गर्न सकिएन’
विद्युत् विस्तारमा सोचेजस्तो काम हुन नसकेको माई नगरपालिका–८ का वडाध्यक्ष भक्तबहादुर आङ्देम्बे बताउँछन् । ‘सोचेजस्तो काम हुन सकेको छैन । मैले पनि घचघच्याइरहेको छु,’ उनी भन्छन्, ‘कोरोनाका कारण काम हुन सकेको छैन । अब हुन्छ होला ।’
उनका अनुसार यो क्षेत्र सम्भवतः इलामकै सबैभन्दा विकट हो । यो क्षेत्रमा समस्या धेरै छ । तर, यस क्षेत्रको विकासका लागि पर्याप्त काम भने गर्न नसकिएको वडाध्यक्ष आङ्देम्बे बताउँछन् । ‘सबैभन्दा धेरै पानीको समस्या छ । बाटोको पनि छ । तर, काम गर्न बजेट छैन । वडामा ४० लाखको सिलिङ तोकिएर बजेट आउँछ । त्यसले के गर्ने ? त्यहाँ सबै बजेट खर्च गर्दा पनि पानी ल्याउन सकिँदैन,’ उनी भन्छन्, ‘हाम्रो संघीय सांसद सुवास नेम्वाङ हो । उहाँले पनि बजेट त दिनुभएको छ । तर, त्यो ठाउँमा मात्र खर्च गरेर अरूमा गर्दिनँ भन्न नमिल्ने ।’ मैनाचुलीको खानेपानीका लागि तीन लाख बजेट छुट्याइएको उनले बताए । ‘खानेपानीको कुवा व्यवस्थित गर्न तीन लाख छुट्याएका थियौँ । तर, कति काम भयो थाहा छैन,’ उनी भन्छन्, ‘कामका बारेमा स्थानीयलाई नै सोध्नुस् न !’