मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ फाल्गुण २५ मंगलबार २०:२५:००
Read Time : > 1 मिनेट
खेलकुद

आर्मीविरुद्धको महत्वपूर्ण जितसँगै पुलिस शीर्ष स्थानमा

Read Time : > 1 मिनेट
२०७७ फाल्गुण २५ मंगलबार २०:२५:००

नेपाल पुलिस क्लब काठमाडौं मेयर कप क्रिकेट प्रतियोगिताको शीर्ष स्थानमा पुगेको छ । मंगलबार भएको  खेलमा पुलिसले त्रिभुवन आर्मी क्लबलाई तीन विकेटले पराजित गरेको हो ।

मंगलबार नै भएको अर्काे खेलमा एपिएफ पराजित हुँदा पुलिसको शीर्ष स्थान निश्चित भएको हो । एपिएफ बागमती प्रदेशसँग २७ रनले पराजित भएको छ । पाँच टोली सम्मिलित प्रतियोगितामा समान तीन खेल खेलेको पुलिस र एपिएफको समान चार अंक रहेको छ । नेट रनरेटका कारण मात्रै पुलिस शीर्ष स्थानमा पुगेको हो ।

मूलपानी क्रिकेट मैदानमा टस जिती पहिले ब्याटिङ सुरु गरेको आर्मी ३०.१ ओभरमा ८७ रनमै समेटिएको थियो । जवाफमा पुलिसले १८.३ ओभरमा सात विकेट खर्चिएर जित निश्चित गरेको हो । आर्मीका ब्याट्सम्यान पुलिसको बलिङसामु धराशायी बन्यो । 

आर्मीका लागि लोकेश बमले जोडेको ३२ रन नै सर्वाधिक बन्यो । उनीबाहेक विक्रम सोबले १४ र रोहित पौडेलले १३ रन जोडे । अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् । आर्मीको इनिङ धराशायी पार्न पुलिसका सागर ढकाल एक्लैले पाँच विकेट लिए । पवन सर्राफले तीन र ललित राजवंशीले दुई विकेट लिए । 

पुलिसका लागि सुनिल धमलाले ३९ रन जोड्दा पवन सर्राफ २२ रनमा अविजित रहे । बल र ब्याटमा सशक्त प्रदर्शन गरेका पवन म्यान अफ दी म्याच चुनिए । दिलीप नाथले १५ रन जोडे । पुलिसको सातै विकेट शाहब आलमले लिएका हुन् । 

बागमतीको पहिलो जित
कीर्तिपुरस्थित क्रिकेट मैदानमा भएको अर्काे खेलमा बागमती प्रदेशले प्रतियोगिताकै पहिलो जित हात पारेको छ । टस हारी पहिले ब्याटिङ गरेको बागमतीले निर्धारित ओभरमा ६ विकेट गुमाएर दुई सय ३३ रनको योगफल तय गरेको थियो । 

जवाफी ब्याटिङमा आएको एपिएफ ४४.५ ओभरमा दुई सय ६ रनमै समेटिन पुग्यो । प्रतियोगितामा एपिएफको यो पहिलो पराजय हो । अघिल्लो दुई खेलमा विजयी भएको एपिएफलाई यो पराजयले तत्काललाई शीर्ष स्थानमा उक्लनबाट रोकेको छ ।

बागमतीका लागि ब्याटिङतर्फ नन्दन यादवले ५६ बलमै ६० रनको अर्धशतीय योगदान दिए । यस्तै, कप्तान ज्ञानेन्द्र मल्लले पनि ५७ रनको महत्वपूर्ण योगदान दिए । बलिङतर्फ सोनु देवकोटा एक्लैले ६ विकेट लिए । १० ओभर बलिङ गरेका उनले मात्रै ४१ रन खर्चिएका थिए । उनीबाहेक रामनरेश गिरी र अरियो पौडेलले दुई–दुई विकेट लिए । 
एपिएफका लागि आसिफ शेखले ३८ बलमा ५० रन जोडेका थिए । अन्य खेलाडीले भने गतिलो प्रदर्शन गर्न सकेनन् । बलिङतर्फ किशोर महतो र अमरसिंह रौटेलाले दुई–दुई विकेट लिएका थिए ।