मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
काठमाडाैं
२०७७ फाल्गुण २२ शनिबार ०९:५७:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

महाशिवरात्रि मनाउन पशुपति क्षेत्र विकास कोषद्वारा ११ समिति गठन

Read Time : > 1 मिनेट
काठमाडाैं
२०७७ फाल्गुण २२ शनिबार ०९:५७:००

फागुन कृष्ण त्रयोदशीका दिन मनाइने महाशिवरात्रि यस वर्ष फागुन २७ गते बिहीबार परेको छ

कोरोनाको त्रास कायमै रहेका वेला यस वर्षको महाशिवरात्रि पर्व मनाउन पशुपति क्षेत्र विकास कोषले ११ वटा समिति गठन गरेको छ । कोष कार्यसम्पादन समितिको बैठकले सदस्यसचिव डा. प्रदीप ढकालको संयोजकत्वमा सुरक्षा व्यवस्थापन तथा अनुगमन समिति गठन गरेको छ ।  

यसैगरी, कोषाध्यक्ष डा. मिलनकुमार थापाको संयोजकतवमा प्रचार–प्रसार व्यवस्थापन समिति गठन गरिएको छ भने परिषद् सदस्य भगवती देवको संयोजकत्वमा दर्शन, चन्दन व्यवस्था मन्दिर एवं रात्रिकालीन व्यवस्था समिति बनाइएको छ । 

त्यस्तै परिषद् सदस्य ध्रुव उप्रेतीको संयोजकत्वमा आवास, भोजन तथा भौतिक पूर्वाधार समिति, परिषद् सदस्य अर्जुनप्रसाद बाँस्तोलाको संयोजकत्वमा साधुसन्त तथा धार्मिक कार्यक्रम व्यवस्थापन समिति, परिषद् सदस्य आशा पाण्डेको संयोजकत्वमा वातावरण, सरसफाइ तथा जुत्ता चप्पल व्यवस्थापन समिति र परिषद् सदस्य विश्वकरण जैनको संयोजकत्वमा स्वास्थ्य सेवा व्यवस्था समिति गठन गरिएको छ ।     

यसैगरी परिषद् सदस्य देवी बरालको संयोजकत्वमा सरकारी निकाय समन्वय समिति, परिषद् सदस्य उद्धवप्रसाद बरालको संयोजकत्वमा मेला, बजार तथा सजावट व्यवस्था समिति, कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाको संयोजकत्वमा स्वयंसेवा परिचालन समिति र मूल्यांकन तथा तथ्यांक संकलन समिति गठन गरिएको कोषाध्यक्ष थापाले जानकारी दिए ।

पशुपति क्षेत्रमा सफाइ तीव्र

महाशिवरात्रिको तयारीस्वरुप पशुपति क्षेत्रमा सफाइ तीव्र बनाइएको छ । शनिबार बिहान बागमती सफाइ महाअभियानले समेत पशुपति क्षेत्रमै सफाइ गर्न लागेको अभियानकर्मी किशोरसिंह शाहीले जानकारी दिए  । 

कोषले महाशिवरात्रिमा पशुपतिमा आउनेजति भक्तजनलाई दर्शन गराउने गरी तयारी सुरु गरेको छ । महाशिवरात्रिका दिन महँगा गरगहना लगाएर र बालबालिका लिएर पशुपति क्षेत्रमा नआउनसमेत कोषले भक्तजनमा अनुरोध गरेको छ ।  

फागुन कृष्ण त्रयोदशीका दिन मनाइने महाशिवरात्रि यस वर्ष फागुन २७ गते बिहीबार परेको छ । महाशिवरात्रिकाे अवसरमा गत वर्ष चैतदेखि कोरोनाका कारण पशुपतिनाथ मन्दिरमा रोकिएको विशेष पूजा कोषले फागुन २५ गतेदेखि सुरु गर्दै छ । महाशिवरात्रिका दिन भने  पाँच हजार १०० र  ११ हजारको मात्र विशेष पूजा गर्ने कोषले घोषणा गरेको छ।     

पाँच हजार १०० को रसिद काटेर विशेष पूजा गर्ने भक्तजनका तर्फबाट दुईजना र  ११ हजारको रसिद काटेर गरिने विशेष पूजाको रसिदका चारजना कर्तालाई पशुपतिनाथको दर्शन गराइने कोषाध्यक्ष थापाले बताए । 

पशुपतिमा महाशिवरात्रिमा दर्शन गर्न आउने भक्तजनले अनिवार्य रूपमा मास्कसहित स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउनुपर्ने छ । मूल मन्दिरभित्र भौतिक दूरीसमेत कायम गरेर दर्शन गराउने कोषको तयारी छ ।  रासस