मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ फाल्गुण २२ शनिबार १०:१३:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

वडाध्यक्षको ट्रयाक्टरको ठक्करबाट घाइते बालकको उपचार खर्च तिर्न नसक्दा आमाछोरा बन्धक 

Read Time : > 1 मिनेट
२०७७ फाल्गुण २२ शनिबार १०:१३:००

सिराहा नगरपालिका १३ का वडाध्यक्षको ट्रयाक्टरले ठक्कर दिएपछि टाउकोमा चोट लागेर गम्भीर घाइते भएका नाबालकको उपचारमा लागेको पूरा खर्च नदिंदा आमासहित दुईजना अस्पतालमा बन्धक परेका छन् । 

सिराहा नगरपालिका १४ खिरौनाका जगदिश सदायका तीन वर्षीय छाेरा कार्तिक सदायलाई वडाअध्यक्ष सचेन्द्रकुमार साहको ट्रयाक्टरले ठक्कर दिएको थियो । तर, उनले उपचारमा लागेको सबै खर्च नदिँदा पछिल्लो एक महिनाभन्दा बढी समयदेखि विराटनगर अस्पतालमा बालककी आमा र बालक बन्धक परेका हुन् । 

‘अस्पतालले एक महिनाअघि नै डिस्चार्ज गरिदिएको थियो, त्यतिवेला वडाध्यक्षले अस्पतालको उपचार खर्च करिब आठ लाख रुपैयाँ नदिँदा अस्पतालले घर फर्किन दिएन’ नाबालक छोरासँगै अस्पतालमा बन्धक परेकी गेनादेवीले नयाँ पत्रिकासँगको टेलिफोन सम्पर्कमा भनिन् ‘उपचारपछि राम्ररी तंग्रिनसमेत नपाएको छोरालाई खर्च अभावमा राम्ररी खुवाउन पनि सकेको छैन ।’

रकम नतिरिदिँदा अस्पतालमै बस्नु परेकाले रकम बढिरहेको उनले बताइन् । ट्रयाक्टरधनी वडाध्यक्षले फोनसमेत नगरेको उनको गुनासो छ । ‘अस्पतालबाहिरको होटेलमा खाना खाइरहेको भए पनि तिर्ने रकम नहुँदा उधारो खाना बन्द भएको छ’ उनले भनिन् ‘अन्य बिरामीका कुरुवाले उब्रेको खाना दिए त्यही खाएर आमाछोरा बसिरहेका छौं ।’ ‘कहिले घर फर्किन पाइने हो, टुंगो छैन’ उनले भनिन् । 

राम्ररी आँखा देख्न छोडे कार्तिकले
गत २० मंसिरमा वडाध्यक्ष साहको ज२त ७०३ नम्बरको ट्रयाक्टरले घरनजिकै बाटोमा खेलिरहेका कार्तिकलाई ठक्कर दिँदा टाउकोमा गम्भीर चोट लागेको आमा गेनादेवीको भना छ । टाउकोमा ठक्करकै कारण उनी बायाँ आँखा राम्ररी देख्दैन । मुख पनि बांगिएको उनको भनाइ छ । 

ट्रयाक्टरमा मजदुरी गरेर जीविका चलाउँदै आएका पति जगदिश पनि छोराको उपचारका लागि कहिले विराटनगर, कहिले सिराहा दौडधुप गर्दा–गर्दा घरमा भएको दुई वर्षीय कान्छो छोरा हेर्ने मान्छे पनि नभएको उनले सुनाइन् । 
मुसहर समुदायका अगुवा तथा समाजसेवी डा. दिलीप सदाले लगातारको पहलमा ट्रयाक्टरधनीमार्फत पटक–पटक गरी चार लाख रुपैयाँ उपलब्ध गराएको भए पनि बाँकी उपचार खर्च तिर्न आनाकानी गरिरहेको बताए ।

‘वडाध्यक्षले उपचारमा लागेको पूरा खर्च दिन आनाकानी गरेपछि नाबालकका बाबु जगदिशले ऋण खाजेर एक लाख ५० रुपैयाँ उपचारमा खर्चिएका छन्’ डा. सदाले भने ‘गरिब, त्यसमा पनि मुसहरलाई अस्पताललाई तिर्न बाँकी रकम कसले पत्याउने ?’ 

अस्पतालमा लागेको पूरै उपचार खर्च नदिएको विषयमा बुझ्न खोज्दा वडाध्यक्ष साहले ‘म बैठकमा छु, पछि कुरा गरौँला’ भन्दै कुरा गर्न चाहेनन् । वडाध्यक्ष साहले राजनीतिक पहुँचका आधारमा प्रहरीमा मिलापत्र गराउन दबाब दिइरहेको पीडित जगदिशले बताए ।