कांग्रेस संसदीय दलले भावी सरकार गठनबारे निर्णय लिन सकेन । सांसदहरूका फरक–फरक धारणा आएपछि संसदीय दलले पनि भावी सरकार गठन र प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्तावबारे निर्णय लिन नसकेको हो ।
शुक्रबार बसेको संसदीय दलको बैठकमा अधिकांश सांसदले प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी ओली समूहसँग मिलेर अघि बढ्न नहुने धारणा राखेका छन् । केही सांसदले भने नेकपामा ओली समूह कमजोर रहेको भन्दै कमजोर समूहसँग मिलेर अघि बढ्नुपर्ने बताएका थिए ।
सभापति शेरबहादुर देउवा पक्षका सांसदहरू ओली समूह कमजोर रहेकाले सोही समूहसँग सहकार्य गरेर अघि बढ्नुपर्ने पक्षमा देखिएका छन् भने वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्ण सिटौला पक्षका सांसदहरू प्रतिगामी कदम चाल्ने ओलीसँग लोकतान्त्रिक पार्टीले सहकार्य गर्न नहुने पक्षमा देखिएका छन् ।
देउवा भने अझै पर्ख र हेरको अवस्था रहेका छन् । देउवाले पार्टीलाई फाइदा पुग्ने गरी अघि बढ्नुपर्ने बताएका छन् ।
नेकपाका दुवै समूहले देउवालाई प्रधानमन्त्रीको प्रस्ताव गरिसकेका छन् । तर, कांग्रेसले निर्णय लिएको छैन । यसअघि बिहीबार बसेको पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठक पनि विनानिष्कर्ष सकिएको थियो ।