
कांग्रेस पदाधिकारी तथा पूर्वपदाधिकारी बैठक सरकार गठनबारे निर्णय नगरी टुंगिएको छ । बिहीबार साँझ बसेको बैठक निर्णयविनै सकिएको हो ।
सर्वोच्च अदालतले प्रतिनिधिसभाको पुनस्र्थापना गरेपछिको अवस्थाका विषयमा पार्टीको धारणा तयार गर्न सभापति शेरबहादुर देउवाले पार्टीका पदाधिकारी तथा पूर्वपदाधिकारीहरूको बैठक बोलाएका थिए । बैठकमा प्रतिनिधिसभा पुनस्र्थापना गरिसकेपछि आइतबारबाट सुरु हुन लागेको संसद्को अधिवेशनका विषयमा कांग्रेसले खेल्नुपर्ने भूमिकाबारे विभिन्न कोणबाट छलफल भएको, तर निर्णयमा नपुगिएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।
‘पार्टीले अहिले संयमतापूर्ण ढंगले एकीकृत रूपमा संविधान, लोकतन्त्र र जनताको दूरगामी भविष्य हेरेर निर्णय लिने निष्कर्ष निकालेको छ । बृहत्तर रूपमा संविधान, जनता र लोकतन्त्रलाई केन्द्रमा राखेर निर्णय लिनुपर्ने विषयमा छलफल भएको छ,’ प्रवक्ता शर्माले भने ।
उनले यी विषयहरूमाथि शुक्रबार बस्ने संसदीय दलको बैठकमा समेत छलफल भएपछि मात्रै पार्टीले निर्णय लिने बताए । ‘कांग्रेसले सबै घटना, गतिविधि र नेकपाभित्रको विवादलाई गहिराइसँग हेरिरहेको छ, ती विषयहरूमाथि विभिन्न कोणबाट छलफल पनि गरेको छ,’ शर्माले भने, ‘कांग्रेसले विवेकसम्मत् ढंगले ‘इन्जुरी टाइम’मा गोल गर्छ, समय आएपछि उपयुक्त निर्णय लिन्छ ।’