Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
२०७७ फाल्गुण २० बिहीबार १०:०२:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

घलेगाउँमा दैनिक दुई सय पर्यटक

Read Time : < 1 मिनेट
२०७७ फाल्गुण २० बिहीबार १०:०२:००

कोरोनाका कारण सुनसान बनेको सार्क राष्ट्रकै नमुना स्मार्ट भिलेज घलेगाउँमा पर्यटकको चहलपहल बढेको छ । कोरोनाका कारण चैतदेखि बन्द भएको घलेगाउँ होमस्टे १ भदौदेखि   खुला गरिएको थियो । 

घरवास खुला गरे पनि दैनिक पाँच–सातजना पर्यटक आउने घलेगाउँमा अहिले दैनिक डेढ सयदेखि दुई सय आन्तरिक पर्यटक आउन थालेको घलेगाउँ पर्यटन व्यवस्थापन समितिका अध्यक्ष प्रेमबहादुर घलेले बताए । उनले भने, ‘कोरोनाको त्रासले नआएका पर्यटक यतिवेला आउन थालेपछि घरवासमा चहल–पहलसँगै आम्दानी बढ्न थालेको छ । पर्यटक आगमनमा वृद्धि भएसँगै पर्यटन व्यवसायीले केही राहतको अनुभूति गरेका छन् ।’

घलेगाउँ पर्यटन व्यवस्थापन समितिका सचिव उमलबहादुर विकले सुरक्षा सतर्कता अपनाएर पर्यटकलाई प्रवेश गराएको बताए । घलेगाउँमा वार्षिक २५ हजार पर्यटक आउने घलेगाउँ पर्यटन व्यवस्थापन कार्यालयसचिव दीर्घ घलेले बताए । उनले भने, ‘पर्यटकको चहल–पहल हुँदा प्रतिघरवास सञ्चालकले ५० हजारदेखि एक लाखसम्म मासिक आम्दानी गर्छन् ।’

१२ वटा घरबाट सुरु गरिएको होमस्टे हाल ३७ वटा घरमा सञ्चालन गरिएको छ । समुद्री सतहदेखि करिब २ हजार १ सय मिटर उचाइको घलेगाउँमा २०५७ सालबाट पर्यटन प्रवद्र्धनका कार्यक्रमसहित होमस्टे सञ्चालनमा ल्याइएको हो । 

न्यानो आतिथ्यताका माध्यमद्वारा घलेगाउँमा गरिने परम्परागत संस्कृति, रहनसहन तथा मौलिक उत्पादन तथा सेवाले पर्यटकलाई होमस्टेले आकर्षित गरेको छ । घलेगाउँमा नमुना चियाबगान, प्रांगारिक खेती, परम्परागत गुरुङ संग्रहालय, हिमाली दृश्यावलोकन, सुधारिएको होमस्टे रहेको छ ।

हिमशृंखलाको काखमा अवस्थित घलेगाउँको झ्यालबाटै मनोरम सेताम्य हिमालको टाकुरा देखिन्छ । माछापुच्छ्रे  अन्नपूर्ण, हिमालचुली, मनास्लु, लमजुङ, बौद्धलगायतका हिमशृंखलाको मनोरम दृश्यले पर्यटकलाई आनन्दित बनाउँछ । लमजुङको सदरमुकाम बेँसीसहरबाट मोटरमा दुई घन्टामा घलेगाउँ पुग्न सकिन्छ ।