![](https://nayapatrika.blr1.cdn.digitaloceanspaces.com/news/images/Rajesh2021-02-23-03-50-41.gif)
प्रदेश २ का नवनियुक्त प्रमुख राजेश अहिराजले सवारी दुर्घटनामा परेर घाइते भएकाहरूको उद्धार गरेका छन् । अहिराजले पूर्व–पश्चिम राजमार्गअन्तर्गत बाराको निजगढ–पथलैया सडकखण्डमा दुर्घटनामा परेर घाइते भएका पाँचजनाको उद्धार गरेका हुन् ।
रौतहटबाट वीरगन्ज आउँदै गर्दा घाइतेहरू सडकमा छटपटाइरहेको देखेपछि गाडी रोकेर उद्धार गरेको उनले बताए । आफ्नो सुरक्षामा खटिएका सुरक्षाकर्मीको जिम्मा लगाएर घाइते पाँचजनालाई उपचारका लागि चन्द्रनिगाहपुरस्थित अस्पताल पठाएको उनले बताए ।
ना.५६प ७३६५ मोटरसाइकल र भारतीय नम्बर प्लेटको बिआर ३०जे९३९७ नम्बरका मोटरसाइकल ठोक्किएर जितबहादुर पहरी, सुरज पहरी र विकास यादव, चित्ररेखा यादव तथा यादवका एक छोरा घाइते भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर प्रहरी नायब उपरीक्षक लीला लामिछानेले बताए । घाइते सुरजको खुट्टामा गहिरो चोट लागेकाले वीरगन्ज नेसनल मेडिकल कलेजमा रिफर गरिएको छ ।