मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ बैशाख ६ सोमबार
  • Monday, 19 April, 2021
उत्तमराज सुवेदी
२०७७ फाल्गुण ९ आइतबार १०:२७:००
Read Time : > 5 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

गम्भीर अपराधमा किशोर : नैतिक शिक्षाको अभाव

Read Time : > 5 मिनेट
उत्तमराज सुवेदी
२०७७ फाल्गुण ९ आइतबार १०:२७:००

विद्यालयमा गणितदेखि इतिहाससम्मका विषय पढाइन्छ, तर के गर्नु हुन्छ र के गर्नु हुँदैन भनेर सिकाउने आधारभूत विषय पढाइन्न, समस्या यहीँबाट सुरु भएको हो 

बैतडीकी किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या घटनामा करिब दुई साता लामो अनुसन्धानपछि हामीले आरोपी पक्राउ पा¥यौँ । देशकै ठूलो चासोको घटना बनेको यसमा अहिले बयान र थप प्रमाण संकलनको प्रक्रिया चलिरहेको छ । 
प्रारम्भिक छानबिनमा यो घटनाका आरोपी नाबालक छन् ।

कतियलाई मृतकभन्दा भाइ उमेरका किशोरले यस्तो अपराध गरे होलान् र भन्ने पनि लाग्न सक्छ । सरसर्ती हेर्दा यो घटनाका दुईटा कारण देखिन्छन् । पहिलो, किशोरमा प्रतिशोधको भावना छ । आफ्नो परिवारको एक सदस्यमाथि भएको भनिएको यौनहिंसाको घटनाको उसमा कुण्ठा देखिन्छ ।

अर्काे कारणचाहिँ ऊ युवा भयो, युवा भएपछि सेक्सप्रति आकर्षण पनि देखिन्छ । घटनाको केही दिनअगाडि भागरथीले उसलाई जिस्काएको विषयमा पनि उक्त आरोपी रिसाएको बुझिन्छ । कुण्ठा, यौन चाहना र प्रतिशोधजस्ता कारणबाट यो अपराध भएको अहिलेसम्मको हाम्रो अनुसन्धानले देखाउँछ । 

यो घटनालाई अझै विस्तृतमा हेर्दा भागरथी उसका लागि ‘इजी टार्गेट’ पनि हो । भागरथीको घरमा आमा मात्र थिइन्, भएका एकजना दाइ पनि भारतमा थिए । घटना थाहा भए पनि मलाई कसैले केही गर्न सक्दैन भन्ने अभियुक्तको मानसिकताले पनि यस घटनामा काम गरेको देखिन्छ । त्यसैले योजना बनाएरै उसले बलात्कार गर्न खोजेको र लडाउँदा घाइतेसमेत भएपछि हत्या गरेको देखिन्छ । 

यसअघि बझाङमा बालिका सम्झना विकको बलात्कारपछि हत्याका अभियुक्त पनि १८ वर्षभन्दा कम उमेरका अर्थात् नाबालक नै थिए । अन्य विभिन्न किसिमका गम्भीर अपराधमा भर्खरका किशोरहरू संलग्न भएको देखिन्छ । गम्भीर अपराधमा नाबालकहरूको बढ्दो संलग्नता गम्भीर चिन्ताको विषय भएको छ । 

नाबालकहरू अपराधमा संलग्न हुनुका विभिन्न कारण छन्, जसमध्ये एउटा प्रमुख कारण सामाजिक सञ्जालको दुरुपयोग हो जस्तो लाग्छ । सामाजिक सञ्जालले मान्छेलाई दुई–तीनवटा कुरामा बिगारेको छ । युवावर्ग यसको लतमा फसेको छ । त्यो पनि गलत प्रयोगमा ।

काठमाडौं प्रहरी प्रमुख हुँदा मैले १६ वटा आत्महत्याको केस हेरेको थिएँ, त्यसमध्ये १० जनाले पब्जी खेल्थे । पब्जी खेलबाटै त्यसरी आत्महत्यामा पुगेको देखियो । पब्जीले मान्छेको शरीरमा दुई किसिमको प्रभाव पार्दाेरहेछ । एकथरीलाई एग्रेसिभ बनाउँदोरहेछ, अर्काेथरीलाई डिप्रेसिभ ।
 

पहिलो, युट्युबमा अश्लील सामग्री धेरै हेर्ने गरिन्छ, पोर्न साइटहरू धेरै हेरिन्छ । यसको मान्छेमा नकारात्मक असर परेको छ । दोस्रो, सामाजिक सञ्जालबाटै अपरिचितसँग सम्बन्ध गाँस्न पनि सहज भएको छ । सामाजिक सञ्जालबाट हुने कुराकानीमा उनीहरूले सजिलै आफ्ना अभिभावकलाई झुक्याउन सक्छन् । यसरी जोडिएका सम्बन्धबाट पनि अपराध बढेका छन् । 

सहर र गाउँमा फरक परिस्थिति छ, तर समस्या एउटै छ । सहरमा सामाजिक सञ्जालको दुरुपयोग धेरै छ, मान्छेमा व्यस्तता छ । बाबुआमालाई छोराछोरीको बारेमा सोच्ने–सोध्नेसमेत फुर्सद छैन । घरमा परिवारका सबै सदस्य आजभोलि मोबाइलमै व्यस्त हुन्छन्, एक–अर्कासँग बोल्ने फुर्सद हुँदैन । कोही आफन्त आउँदा पहिलेजस्तो गफगाफ हुन छाडेको छ । प्रविधिले पारिवारिक तथा सामाजिक जीवनमा ठूलो परिवर्तन ल्याएको छ । 

उता, गाउँमा पनि बालबच्चाले सही अभिभावकत्व पाउन सकेका छैनन् । गाउँमा पुरुष कम छन् । महिला घरकै काममा धेरै व्यस्त हुन्छन् । आफ्नो सन्तानलाई मार्गनिर्देश गर्ने समय उनीहरूसँग पनि छैन । जसबाट कलिलो उमेरमा गलत बाटोमा लाग्ने सम्भावना धेरै बढेको छ । 

नैतिक शिक्षाको खडेरी : परिवारमा मात्र होइन, स्कुलमा पनि त्यस्तै अवस्था छ । स्कुलबाट नैतिक शिक्षा हटाइयो । त्यहाँ गणितदेखि इतिहाससम्मका विविधि विषयमा पढाइन्छ, तर के गर्नु हुन्छ र के गर्नु हुन्न भन्ने आधारभूत विषयचाहिँ कसैले पनि सिकाउँदैन । पछिल्लो समय समस्या यहीँबाट सुरु भएको हो । बच्चा घरबाट निस्कन्छ, उसलाई यस्तो गर्नु हुन्न भन्ने कोही छैन । तर, खराब काम गर्नुपर्छ भन्ने सिकाउने बिग्रेका युवाहरू समाजमा प्रशस्तै छन् ।

त्यही संगतले राम्रो मान्छे पनि खराब बन्न पुग्छ । कलिलो उमेरमा सजिलै गलत बाटोमा लाग्ने जोखिम हुन्छ । स्कुल बंकदेखि लागुऔषध दुव्र्यसनमा खराब संगत र नैतिक शिक्षाको अभावले धेरै कलिला बालबालिका लाग्ने गरेका छन् । त्यसपछि केटा केटीको चक्करमा, केटी केटाको चक्करमा लाग्छन् । यसलाई मलजल गर्ने काम सामाजिक सञ्जालले गरेको छ । कहाँनेर के जोखिम हुन्छ भन्ने नबुझ्दा उनीहरू अपराधसम्म पुग्छन् । 

मदिरा र लागुऔषधले बढाएको जोखिम : समाजमा मदिराको विकृति उस्तै बढेको छ । रक्सी नखाने मान्छे पाउनै गाह्रो हुन थालिसक्यो । मदिराका कारण पनि अपराधमा बढोत्तरी भएको छ । युवावर्गमा लागुऔषधको समस्या विकराल छ । लागुऔषध काठमाडौं मात्र होइन, तराईमा बोर्डरदेखि पहाड, हिमालसम्मै पुगिसकेको छ । 

लागुऔषध संगठित अपराध हो । यसमा तीनवटा पाटा हुन्छन्– स्रोत, सप्लाई र माग । जबसम्म माग कम हुँदैन, तबसम्म सप्लाई रोकिँदैन । नेपालको स्रोत भनेको भारतमा छ, सप्लाई गर्ने पनि भारतमै छन् । स्रोत भनेका लागुऔषध दुव्र्यसनी हुन् । अभिभावकले ध्यान दिन नसक्दा यसरी गलत संगतबाट दुव्र्यसनमा लाग्नेको संख्या बढ्दो छ ।

लागुऔषध फेसनका रूपमा अघि बढेको छ । कतिपयले यसलाई राम्रो भनेरसमेत भ्रम फैलाएका छन् । त्यसले गर्दा पनि समस्या बढेको छ । यी सबै कारणभन्दा पनि पछिल्लो समय सामाजिक सञ्जालकै दुरुपयोग डरलाग्दो छ । फेसबुकबाट प्रेमकथा सुरु हुन्छ, पछि हत्या र आत्महत्यामा गएर सम्बन्ध टुंगिन्छ । यसखाले घटनामा पछिल्लो समय बढोत्तरी देखिएको छ । 

कुनै पनि व्यक्तिलाई पछि गएर सुधार गर्न धेरै गाह्रो हुन्छ । सानैमा हो सुधार्ने भनेको । मलाई लागेको चाहिँ नैतिक शिक्षा नै हो, सुधारको उपाय । यसका लागि विद्यालयमा अनिवार्य रूपमा नैतिक शिक्षा सुचारु गर्नुपर्छ । अभिभावकले आफ्ना सन्तानलाई सही बाटोमा मार्गनिर्देश गर्नु जरुरी छ ।
 

काठमाडौं प्रहरी प्रमुख हुँदा मैले १६ वटा आत्महत्याको केस हेरेको थिएँ, त्यसमध्ये १० जनाले पब्जी खेल्थे । पब्जी खेलबाटै त्यसरी आत्महत्यामा पुगेको देखियो । पब्जीले मान्छेको शरीरमा दुई किसिमको प्रभाव पार्दाेरहेछ । एकथरीलाई एग्रेसिभ बनाउँदोरहेछ, अर्काेथरीलाई डिप्रेसिभ । एग्रेसिभ हुनेहरू झगडा गर्ने, लागुऔषध खाने, गुन्डागर्दीको गतिविधिमा संलग्न हुने हुँदारहेछन् । जो डिप्रेसिभ हुन्छन्, उनीहरूले आत्महत्याको बाटो रोज्ने गरेको देखियो । यस्ता खेलमा नियन्त्रणको जरुरी देखियो ।

 यसमा अभिभावकको ठूलो कमजोरी देख्छु, म । यसखाले कुराहरूबाट आफ्ना बालबच्चालाई टाढा राख्न सबैले ध्यान दिनुपर्छ । पहिलो त अभिभावकमै यससम्बन्धी सचेतना छैन । आफ्ना सन्तानलाई समय दिनुपर्‍यो । गलत विषय र संगतबाट टाढा राख्न सक्नुपर्‍यो । साथै, सामाजिक सञ्जालको प्रयोगमा नियन्त्रण गर्नुपर्ने विषय पनि छ । 

नेपाल प्रहरीले यसमा काम गरिरहेको छ । प्रहरीले समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत गाउँ–गाउँमा, स्कुल–स्कुलमा गएर पढाउने गरेको छ । तथ्यांक हेर्ने हो भने बलात्कारपीडितहरूमा ६४ प्रतिशत बालिका छन् । जसमा धेरैजसो अभियुक्त नजिकका मान्छे हुने गरेका छन् । जेलका धेरैजसो व्यक्ति २५ वर्षभन्दा कम उमेरका छन् । यसले हाम्रो समाजमा युवाको ठूलो हिस्सा गलत बाटोमा रहेको प्रस्ट हुन्छ । 

यसमा हाम्रो अर्थ–सामाजिक पाटो पनि जोडिएको छ । हाम्रो गरिबी छँदैछ, सहरीकरणको विकृति गाउँ–गाउँसम्म पुगेको छ । यसलाई रोक्ने काम कतैबाट पनि भएन । मुख्य चिन्ताको विषय यो, हो । पहिला नैतिक शिक्षा पढाइ हुन्थ्यो । त्यसले पनि केही हदसम्म युवापुस्तालाई अनुशासित बनाउँथ्यो । तर, अब कसले अहिले यो विषय खराब हो, यो राम्रो हो भनेर भन्ने ? त्यो सिकाउने काम कतैबाट भएको छैन । मान्छेलाई जस्तो बनायो, त्यस्तै बन्ने हो । 

गलत सिको : अन्तर्राष्ट्रिय मान्यताअनुसार १८ वर्षसम्मलाई नाबालकमा राख्नु ठिकै होला । तर, हाम्रो जस्तो प्रशस्त सामाजिक विकृति भएको देशको अवस्था हेर्ने हो भनेचाहिँ ठीक भन्न सकिन्न । यो घातक देखिएको छ । १८ वर्षभन्दा कम उमेरकालाई नेपालमा बाल सुधारगृहमा पठाउने गरिन्छ ।

सुधारगृह भनेको करेक्सन सेन्टर हो । त्यसको मापदण्ड नै ठूलो कम्पाउन्डमा हुनुपर्छ । त्यहाँ पढाउनेदेखि खेलाउनेसम्मका जुन काम हुनुपर्ने हो, त्यो हुन सकेको छैन । त्यहाँबाट निस्किएपछि एउटा राम्रो नागरिक बन्नुपर्ने हो, हाम्रो त ठीक उल्टो छ । सुधारगृहबाट निस्कँदा झन् बिग्रिएका हुन्छन् । सबै अपराधमा बाल सुधारगृह जानेलाई एकै ठाउँमा राखिन्छ । त्यहाँ साथीबाटै गलत कुरा सिक्ने जोखिम हुन्छ । यो पाटोमा पनि ध्यान दिइएको छैन । 

बिहे गर्ने उमेर तोकिएकोमा पनि मैले समस्या देखेको छु । बालिग हुन १८ वर्ष उमेर तोकियो, बिहे गर्न २० वर्ष तोकिएको छ । यसले पनि यौनसम्बन्धी अपराध बढाएको त होइन ? बिहे गरौँ भने कानुनले समात्ने भएकाले बिहे नगरी सम्बन्ध राख्ने प्रवृत्ति बढेको पनि हुन सक्छ । धैरै देशहरू बिहे गर्ने उमेरबारे मौन छन्, यसमा नागरिकलाई स्वतन्त्रता दिएका छन् ।

उमेर तोक्दा बालविवाह रोकिनेलगायतका फाइदा पनि होलान्, तर यसका नकारात्मक पाटोबारे पनि बहस हुनुपर्छ । 
स्थानीय सरकार र सामाजिक संस्थासँग मिलेर प्रहरीले समाजमा सचेतना बढाइरहेको छ, यसलाई अझै बढाउन जरुरी छ ।

हाम्रा अधिकृत–जवानहरूलाई पनि महिला हिंसासम्बन्धी ओरियन्टेसन अझै बढाउँदै लगेका छौँ । बलात्कारका घटनामा त चिनजानकै व्यक्ति धेरै छन् । चिनेको मान्छे वा आफन्तबाट बलात्कारपीडितको हत्या हुने जोखिम हुन्छ । सामान्यतया मान्छेले बलात्कार गरे पनि मान्छे नै मारिहाल्ने गर्दैन । बलात्कारपछि हत्या वा हत्याको घटना अधिकतर चिनजानकै व्यक्तिबाट हुने भएकाले अनुसन्धानको दायरा साँघुरो भइहाल्छ । 

कुनै पनि व्यक्तिलाई पछि गएर सुधार गर्न धेरै गाह्रो हुन्छ । सानैमा हो सुधार्ने भनेको । मलाई लागेकोचाहिँ नैतिक शिक्षा नै हो, सुधारको उपाय । यसका लागि विद्यालयमा अनिवार्य रूपमा नैतिक शिक्षा सुचारु गर्नुपर्छ । अभिभावकले आफ्ना सन्तानलाई सही बाटोमा मार्गनिर्देश गर्नु जरुरी छ । यसमा राज्यको दायित्व त हुने नै भयो । 
(सुवेदी सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख हुन्)