१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
पर्सा, परवानीपुरको श्वेता आयल ट्रेडर्स सिलबन्दी गर्दै निगम कर्मचारी । सो पम्पले भारततर्फ डिजेल तस्करी गर्न १३ सय लिटर ट्यांकरमा हालेर पठाउन लागेको अवस्थामा प्रहरीले ट्यांकरचालक, सहचालक र पम्पका कर्मचारी समातेको थियो । तस्बिर : नयाँ पत्रिका
अजित अधिकारी काठमाडौं
२०७७ फाल्गुण ५ बुधबार ०९:५४:००
Read Time : > 3 मिनेट
अर्थ प्रिन्ट संस्करण

नेपालमा तेलको मूल्य बढाउन भारतको चासो

Read Time : > 3 मिनेट
अजित अधिकारी, काठमाडौं
२०७७ फाल्गुण ५ बुधबार ०९:५४:००

भारतमा भन्दा नेपालमा पेट्रोल ३५ र डिजेल ४१ रुपैयाँ सस्तो भएपछि तस्करी बढेको भन्दै भारतीय आयल  कर्पोरेसनले मूल्य बढाउन अप्रत्यक्ष दबाब दिन थालेको छ, आयल निगमले महिना दिनमा तीनपटक बढायो भाउ

भारतीय बजारको तुलनामा नेपालमा पेट्रोलियमको मूल्य निकै कम रहेको भन्दै त्यो बढाउन भारतले चासो दिन थालेको छ । नेपालबाट तस्करी भई भारतको सीमावर्ती क्षेत्रमा तेल बिक्री हुन थालेपछि भारतीय आयल कर्पोरेसनले त्यसबारे विशेष चासो दिन थालेको आयल निगमका अधिकारीहरू बताउँछन् ।

खासगरी सीमावर्ती भारतीय क्षेत्रका पेट्रोलपम्प सञ्चालकले आइओसी, भारत पेट्रोलियम र हिन्दुस्तान पेट्रोलियममा नेपालमा तेलको मूल्य बढाउन दबाब दिन लबिङ गरिरहेको निगम अधिकारीहरूले बताए । ‘भारतबाट किनेको तेल भारतको भन्दा यति धेरै सस्तो मूल्यमा कसरी बिक्री भइरहेको छ भनेर आइओसी अधिकारीहरूले आश्चर्य प्रकट गर्न थालेका छन्,’ निगमका एक कर्मचारीले भने, ‘उनीहरूले मूल्य बढाऊ भनेर सोझै हस्तक्षेप त गरेका छैनन्, तर नेपालमा ठूलो दरले मूल्य बढ्नुपर्छ भन्ने कुरामा जोड दिन खोजिरहेका छन् ।’

मंगलबार नेपालमा मूल्य बढाइएपछि पनि भारतको सीमावर्ती क्षेत्रको तुलनामा नेपालमा पेट्रोल ३५.२९ र डिजेल ४१.४३ रुपैयाँ सस्तो छ । यसरी सीमा क्षेत्रमा मूल्यअन्तर बढेपछि पछिल्लो दुई महिनामा डिजेलको आयात प्रक्षेपणभन्दा बढी भएको छ । आयल निगमका प्रवक्ता विनीतमणि उपाध्यायका अनुसार डिसेम्बरमा माग १ लाख ९ हजार किलोलिटर भएकोमा १ लाख ८९ हजार ६ सय ७२ किलोलिटर आयात भएको छ । त्यस्तै,  जनवरीमा १ लाख ३३ हजार माग भएकोमा १ लाख ६९ हजार २ सय २० किलोलिटर आयात भएको छ ।

अहिले भारतको सीमावर्ती बजारका मोटरसाइकल, कार, जिप, भ्यान, ट्याक्टर, हलुका व्यावसायिक सवारीसाधनले नेपालको पम्पमा आएर तेल भर्ने गरेका छन् । पछिल्लो समय ड्रममा समेत तेल भरेर भारतीय सवारीसाधनले लैजान थालेका छन् । धेरै सवारीसाधनले नेपालको पम्पमा आएर डिजेल, पेट्रोल ड्रममा भरी लैजान थालेपछि कडाइ गरिएको निगमको २ नम्बर प्रादेशिक कार्यालय, अमलेखगन्जका प्रमुख भरत रेग्मीले बताए ।

‘भारतीय सवारीसाधनलाई ड्रममा भरेर तेल नदिनु भनेर निर्देशन दिइसकेका छौँ,’ उनले भने, ‘सवारीसाधन नै लिएर आउनेलाई त तेल नदिनु भन्न सकिन्न । पम्प सञ्चालकहरूका अनुसार प्रत्येक भारतीय सवारीसाधनले फुल ट्यांकी तेल भर्दै जाने गरेका छन् ।’ 

प्रत्येक वर्ष कति तेल आयात गर्ने भनेर आयल निगमले इन्डियन आयल कर्पोरेसन (आइओसी)लाई अनुमानित परिमाण पठाउने गरेको छ । त्यसैका आधारमा आइओसीले तेल निर्यात गर्ने परिमाणको सुनिश्चितता निगमलाई दिन्छ । त्यसपछि वार्षिक अनुमानित आयात आँकडालाई टुक्र्याएर निगमले तीन–तीन महिनाको माग परिमाण पेस गर्छ । त्यसपछि कुन महिना कति तेल दिने र कुन–कुन डिपो तथा रिफाइनरीबाट दिने भनेर आइओसीले ‘कन्फर्मेसन लेटर’ निगमलाई पठाउँछ । आइओसीले गरेको पत्राचारअनुसार नै निगमले तेल तथा ग्यास बोक्ने ट्यांकर र बुलेट आइओसीको डिपो–रिफाइनरीमा पठाएर तेल ल्याउने गरेको छ ।

पछिल्लो दुई महिनामा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ १५ डलर प्रतिब्यारेलभन्दा बढी दरले बढेको छ । जसकारण भारतीय बजारमा पनि भाउ बढाउँदै लगिएको छ । मंगलबार भारतमा प्रतिलिटर उच्च गुणस्तरको पेट्रोल १ सय भारु पुगेको छ भने नेपालमा जस्तै उपलब्ध सामान्य पेट्रोल दिल्लीमा प्रतिलिटर ८९.२९ भारु पुगेको छ ।

 सीमा क्षेत्रका पम्पले धेरै तेल माग्न थाले
भारतको सीमावर्ती क्षेत्रमा सञ्चालनमा रहेका पम्पले भारतको तुलनामा नेपालमा धेरै सस्तो मूल्य निर्धारण हुन थालेपछि इन्धनको माग बढाएका छन् । आयल निगमको २ नम्बर प्रादेशिक कार्यालय, अमलेखगन्जका प्रमुख भरत रेग्मीका अनुसार पछिल्लो समय सीमावर्ती क्षेत्रका पम्पले दैनिक ४–४ हजार लिटर पेट्रोल, डिजेल माग गर्न थालेका छन् । ‘पहिले १–२ हजार लिटर तेल बेच्ने पम्पले अहिले तीन–चार गुणा बढीसम्म तेल माग्न थालेका छन् । मागेजति दिनैप¥यो,’ उनले भने ।

तेलको माग बढ्न थालेपछि तस्करीको आशंकामा पछिल्लो समय मागेभन्दा कम दिएर पनि नियन्त्रण गर्न खोजिएको उनले बताए । सीमावर्ती क्षेत्रका पम्पमा अधिकांश भारतीय सवारीसाधन आएर तेल भर्न थालेका छन् । प्रतिलिटर ४० रुपैयाँभन्दा सस्तो भएकाले सीमा क्षेत्रका पम्पमा भारतबाट मोटरसाइकल, कार, जिप, भ्यान, ट्याक्टर, हलुका व्यावसायिक सवारीसाधन आएर तेल भरेर जाने गरेका छन् ।

 पेट्रोलियमको मूल्य बढ्यो
आयल निगमले महिना दिनमै तीनपटक पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । यसअघि ५ र २८ माघमा बढाइएको पेट्रोलियम पदार्थको मूल्य ४ फागुनमा पुनः बढेको छ । निगमले मंगलबार रातिबाट लागू हुने गरी पेट्रोल, डिजेल, मट्टीतेल र आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर २ रुपैयाँ बढाएको छ । निगमले इन्डियन आयल कर्पोरेसन (आइओसी)बाट मूल्य बढेर आएको दाबी गर्दै नेपाली बजारमा समायोजन गरेको हो ।

निगम प्रवक्ता विनीतमणि उपाध्यायका अनुसार मूल्यवृद्धिपछि काठमाडौं उपत्यकामा पेट्रोल १ सय १४, डिजेल तथा मट्टीतेल ९५ रुपैयाँ र हवाई आन्तरिक उडान भर्ने विमान कम्पनीको हवाई इन्धन ६७ रुपैयाँ प्रतिलिटर पुगेको छ । मूल्यवृद्धिपछि पनि निगमलाई आगामी १५ दिनमा इन्धन कारोबार गरेर ८६ करोड ७८ लाख रुपैयाँ नोक्सान हुने दाबी गरेको छ ।

साताअघि (२८ माघमा) पनि निगमले पेट्रोल, डिजेल तथा मट्टीतेल र खाना पकाउने ग्यासको मूल्य बढाएको थियो । ग्यासको मूल्य बढाएर हाल १ हजार ४ सय रुपैयाँ प्रतिसिलिन्डर कायम गरिएको छ । पछिल्लो १५ दिनमा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ ८ डलर प्रतिब्यारेल बढेर ६३.०२ डलर प्रतिब्यारेल पुगेको छ ।

नेपालबाट भारततर्फ तेलको तस्करी बढ्न थाल्यो, समातिए तस्करीमा संलग्न ट्यांकरचालक र पम्पका कर्मचारी
भारतको सीमावर्ती क्षेत्रमा भन्दा नेपालतर्फ मंगलबारसम्म पेट्रोल ३३.८९ रुपैयाँ र डिजेल ३९.५० रुपैयाँ सस्तो थियो । जसकारण नेपालबाट ठूलो मात्रामा तेल भारततर्फ तस्करी हुन थालेको छ । भारततर्फ तेल तस्करी हुन थालेको गुनासो आयल निगमले प्रहरीलाई समेत टिपाएको छ । त्यसपछि प्रहरीले सुराकी प्रयोग गरेर तस्करीमा संलग्नलाई पक्राउ गर्न थालेको छ ।

२ फागुन राति ९ बजे पर्साको परवानीपुरस्थित श्वेता आयल टे«डर्स (पेट्रोलपम्प)बाट १ हजार ३ सय ६० लिटर डिजेल तस्करी गर्न लागेका वेला प्रहरीले समातेको छ । आयल निगमको २ नम्बर प्रादेशिक कार्यालय, अमलेखगन्जका प्रमुख भरत रेग्मीका अनुसार ना७ख १५११ नम्बरको ट्यांकरले पम्पमा तेल भरेर भारत लैजान लागेको अवस्थामा प्रहरीले समातेको हो । 

‘ट्यांकरको एउटा चेम्बरमा १ हजार लिटर, सर्भिस ट्यांक (इन्धन ट्यांक)मा ३ सय ६५ लिटर डिजेल हालेर भारत जान लागेको अवस्थामा सो ट्यांकर समातिएको रेग्मीले बताए । ‘काठमाडौंको थानकोट डिपोका लागि तेल लिन बरौनी जाँदै गरेको ट्यांकरले पर्सास्थित श्वेता पम्पमा रोकेर तेल भरेर लैजान लाग्दा पक्राउ परेको हो,’ रेग्मीले भने । नेपालमा सस्तोमा तेल किनेर भारतमा महँगोमा बेच्न लैजाने क्रम पछिल्लो समय बढ्न थालेको छ ।

प्रहरीले सो तस्करीमा संलग्न पम्पका प्रबन्धक शम्भु महतो, चालक रामकृष्ण उप्रेती र सहचालक अशोक पाख्रिनलाई पक्राउ गरेको छ । पम्प सञ्चालक भने सम्पर्कविहीन छन् । कर्मचारी महतोको मिलेमतोमा तेल तस्करी हुन लागेकाले उनलाई समातिएको हो । सो ट्यांकरधनी सुरेन्द्र बर्तौला हुन् । तेल तस्करीमा ट्यांकरधनी बर्तौलाको समेत संलग्नता रहेको आशंका गरिएको छ । आयल निगमले पम्पमा सिल गरी कारोबार रोक्का गरेको छ भने ट्यांकरलाई तेल बोक्न नदिने गरी खारेजीको प्रक्रिया अघि बढाइएको छ ।