Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
२०७७ फाल्गुण ३ सोमबार २१:३२:००
Read Time : > 1 मिनेट
खेलकुद

महिला राष्ट्रिय लिग : एपिएफ उपाधिबाट एक पाइला नजिक

Read Time : > 1 मिनेट
२०७७ फाल्गुण ३ सोमबार २१:३२:००

विभागीय टोली एपिएफ महिला राष्ट्रिय लिग फुटबल उपाधिको नजिक पुगेको छ । सोमबार भएको खेलमा अर्काे विभागीय टोली नेपाल पुलिस क्लबलाई २–१ गोलले पराजित गर्दै एपिएफले उपाधि लगभग निश्चित गरेको हो । 

एपिएफले लिगमा अब दुई खेल खेल्न बाँकी छ । दुईमध्ये एक खेलमा मात्रै जित हात पारेको अवस्थामा पनि एपिएफले उपाधि निश्चित गर्नेछ । यस्तै, लिग अंक–तालिकाको दोस्रो स्थानमा रहेको त्रिभुवन आर्मी फुटबल क्लब उसको दुईमध्ये एक खेलमा बराबरीमा रोकिएको अवस्थामा मात्रै पनि एपिएफले उपाधि जित्नेछ ।

सातदोबाटोस्थित एन्फा एकेडेमीको मैदानमा भएको खेलमा एपिएफ पुलिसविरुद्ध भाग्यमानी ठहरियो । एपिएफले खेलको ६९औँ मिनेटमा आत्मघाती गोल उपहारमार्फत अग्रता बनाएको हो । एपिएफकी सुस्मा तामाङले क्रस गरेको बललाई क्लियर गर्ने प्रयासमा पुलिसकी कप्तान घिमकुमारी गुरुङले आफ्नै पोस्टमा छिराएकी थिइन् ।

खेलको ७५औँ मिनेटमा अमृता जैसीको उत्कृष्ट गोलको मद्दतमा नेपाल पुलिसले १–१ को बराबरी गरेको थियो । एपिएफकी गोलरक्षक एञ्जिला तुम्बापो सुव्वा आफ्नो ठाउँ छाडेर निक्कै अगाडि बढेको अवस्थामा पुलिसकी अमृताले उत्कृष्ट प्रहार गरेकी थिइन् । उनको प्रहार एपिएफकी रक्षक गीता रानालाई लागेर गोल हुन पुगेको हो । प्रतियोगिताभरि एपिएफले व्यहोरेको यो नै पहिलो गोल रह्यो ।

खेल बराबरीतर्फ अघि बढिरहेको अवस्थामा रविना गोलेले खेलको निर्धारित समय सकिनै लाग्दा एपिएफका लागि निर्णायक गोल गरेकी थिइन् । खेल सकिन मात्रै चार मिनेट बाँकी रहँदा उनले गोल गरेकी थिइन् ।

पराजयपछि नेपाल पुलिसका प्रशिक्षक सञ्जीव जोशीले प्रतियोगिता अवधिभरकै उत्कृष्ट प्रदर्शन गरेर पनि अंक बाँड्नुपरेको बताए । ‘यो हाम्रो लागी दुर्भाग्यपूर्ण बन्यो । आत्मघाती गोलले पनि हामीलाई ठूलो घाटा पुर्याएको छ,’ उनले भने, ‘अब हाम्रो लक्ष्य तेस्रो स्थानका लागि हुनेछ ।’

एपिएफकी प्रशिक्षक भगवती थापाले पनि जित मुस्किल भएको बताइन् । ‘उनीहरूले आज रक्षात्मक खेल खेले । त्यसैले हाम्रा स्ट्राइकरहरूलाई मुस्किल भयो,’ उनले भनिन् ।

वालिङमाथि विराटनगरको जित
प्रतियोगिताअन्तर्गत सोमबार भएको दोस्रो खेलमा विराटनगर महानगरपालिकाले स्याङ्जाको वालिङ नगरपालिकाविरुद्ध १–० को महत्वपूर्ण जित हात पारेको छ । यो नतिजापछि तेस्रो स्थानमा रहेर लिगको अन्त्य गर्ने वालिङको उद्देश्यमा ठूलो धक्का लागेको छ ।

विराटनगरका लागि भारतीय खेलाडी आशा कुमारीले खेलको ३५औँ मिनेटमा फ्रिकिकमार्फत गोल गरेकी थिइन् । उनको त्यही गोल टोलीलाई महत्वपूर्ण जित दिलाउन निर्णायक बन्यो । जितपछि विराटनगरका प्रशिक्षक पारस चौधरीले आफ्नो रणनीति सफल भएको बताए । ‘यो खेलपछि अझै राम्रो स्थानमा रहेर लिगको अन्त्य गर्ने सम्भावना देखिएको छ,’ उनले भने ।

वालिङका प्रशिक्षक दिलीप थापाले आफ्ना खेलाडीले योजनाअनुसारको प्रदर्शन गर्न नसकेको बताए । ‘हामीसँग राम्रो बल पोजिसन थियो । हामीले गोल अवसर पनि धेरै गुमायौँ । पराजयको कारण त्यही बन्यो,’ उनले भने । यो जितपछि विराटनगर अंक–तालिकाको तेस्रो स्थानमा उक्लिएको छ भने वालिङ चौथो स्थानमा झरेको छ ।