मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ फाल्गुण २ आइतबार १९:०७:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

संसद् विघटनविरुद्धको प्रदर्शनमा ऐक्यबद्धता जनाउन देउवाको अपिल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ फाल्गुण २ आइतबार १९:०७:००

कांग्रेस सभापति शेरबहादुर देउवाले संसद् विघटनविरुद्धको प्रदर्शनमा ऐक्यबद्धता जनाउन अपिल गरेका छन् । कांग्रेसले सोमबार ७७ वटै जिल्लामा विरोध प्रदर्शन र सभा गर्दै छ । 

आइतबार विज्ञप्ति जारी गर्दै देउवाले केपी ओलीको नेतृत्वमा रहेकोे नेकपाको सरकारको सिफारिसमा प्रतिनिधिसभा विघटन गरिएको घटनाविरुद्ध सोमबार कांग्रेसले गर्ने विरोधसभामा सबैलाई ऐक्यबद्धता जनाउन अपिल गरेका हुन् । 

उनले पार्टीका नेता–कार्यकर्तासहित सबै लोकतन्त्रवादीमा विरोध प्रदर्शनमा सहभागी भएर असंवैधानिक र अलोकतान्त्रिक कदमविरुद्ध ऐक्यबद्धता जनाउन अपिल गरेका छन् । ‘यसअघिका प्रदर्शनमा पनि व्यापक जनसहभागिता भएको छ, अब भोलिको प्रदर्शनमा पनि घरघरबाट सहभागिता जनाएर प्रभावकारी रूपले सफल बनाउन म सबैमा हार्दिक अपिल गर्दछु,’ देउवाले भनेका छन् । 

देउवाले संविधानमा भएको व्यवस्थाप्रतिकूल, जनभावनाविपरीतको कार्यविरुद्ध कांग्रेस एकमतका साथ आन्दोलनमा रहेको बताएका छन् ।

सोमबारको विरोध कार्यक्रमका लागि नेताहरू जिल्ला–जिल्लामा पुगिसकेका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । सोमबार सभापति देउवाले भैरहवाको  सम्बोधन गर्ने कार्यक्रम छ । वरिष्ठ नेता रामचन्द्र पौडेलले धादिङमा हुने विरोध सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । 

यस्तै, महामन्त्री डा. शशांक कोइरालाले दाङमा, पूर्वमहामन्त्री प्रकाशमान सिंहले कास्कीमा, पूर्वसहमहामन्त्रीहरू अर्जुननरसिंह केसीले काठमाडौंमा र डा. रामशरण महतले काभ्रेमा हुने विरोध सभालाई सम्बोधन गर्नेछन् । 

प्रवक्ता विश्वप्रकाश शर्माले ललितपुर, नेता गगन थापाले चितवन, प्रदीप पौडेलले दैलेख र डा. मीनेन्द्र रिजालले प्युठानमा हुने विरोध सभालाई सम्बोधन गर्ने कांग्रेसले जनाएको छ । अन्य पदाधिकारी र केन्द्रीय सदस्यहरू पनि विरोध सभाका लागि जिल्ला–जिल्लामा पुगेका छन् ।

संसद् विघटनको कदमलाई असंवैधानिक र अलोकतान्त्रिक ठहर गरेर कांग्रेसले १३ पुस, २५ पुस, ३ माघ, ८ माघ, १९ माघ र २४ माघमा  विरोधस्वरूप विभिन्न कार्यक्रम गरिसकेको छ ।