नेपालमा किन विकास भएन भन्ने प्रश्नको सोझो उत्तर हो– कुलमानहरूले कहिल्यै निर्धक्क भएर काम गर्ने वातावरण नपाउनु
कम्बोडियाको राजधानी फोनम फेबाट काठमाडौं करिब चार हजार किलोमिटरको दूरीमा छ । अमेरिकाले सुरु गरेको युद्धबाट कम्बोडिया २० वर्ष आक्रान्त भयो, एक हिसाबले ध्वस्त नै भयो । नेपाल पनि १० वर्ष सशस्त्र द्वन्द्वमा फसेकै हो । सन् १९८९ मा कम्बोडियाको युद्ध अन्त्य हुँदै गर्दा नेपालमा सशस्त्र द्वन्द्वको जग बस्दै थियो । युद्धको अन्त्यपछि कम्बोडियाले लोभलाग्दो फड्को मा¥यो । कपडाको निर्यात र पर्यटनबाट सञ्चालित कम्बोडियाको अर्थ व्यवस्थाले गएको २० वर्षमा औसत वृद्धिदर ८.५ प्रतिशत कायम राखेको छ । कम्बोडिया विश्वका दु्रत गतिमा वृद्धिरत अर्थतन्त्रमध्ये एक हो । डेढ करोड हाराहारी जनसंख्या रहेको यो देशमा कोरोनाबाट अहिलेसम्म एकजनाको पनि मृत्यु भएको छैन, अर्थ व्यवस्था पनि सम्हालिएको छ ।
नेपालमा जनयुद्ध अन्त्यसँगसँगै शान्ति सम्झौता भएको पनि लगभग १५ वर्ष भइसक्यो । तर पनि हाम्रो अर्थतन्त्रले गति लिनै सकेको छैन । जारी कोरोनाको महामारीबाट मर्नेहरूको संख्याले दुई हजारको आँकडा पार गरेको छ, अर्थ व्यवस्था थिलथिलो छ । देश बनाउने बौद्धिक जनसंख्या युरोप–अमेरिका र पसिना चुहाउन सक्ने करिब ६० लाखभन्दा बढी युवा मुलुकबाहिर खाडीलगायतका देशमा श्रम बेच्न बाध्य छन् । कामको खोजीमा बिदेसिनेमा प्रतिशतका हिसाबले यो विश्वकै ठूलो संख्या हो । नेपाली समाज एकदमै नकारात्मक, निराशाजनक र अत्यासलाग्दो समाजमा बदलिनुको मुख्य कारण नै यही हो ।
हाम्रो पुस्ताका बिपी, मदन, हर्क गुरुङ सबै विदेश छन् । जनताको आवाज बोलिदिने लगभग कोही छैन भन्दा हुने अवस्था छ । यो देशको राजनीतिमा बोल्न वा आफ्ना नेतालाई प्रश्न सोध्नसमेत नसक्ने, परिश्रम गर्न पनि नसक्ने कायरहरू हावी छन् । जो आपसमा भिड्दै जनतालाई रनभुल्लमा राख्न अभिशप्त छन् । क्षमतावान् एवं परिश्रमी श्रमजीवीजति सबैलाई विदेश पठाएर, मस्तिष्कविहीन अनुचरहरूको बलमा जनताबारे कुनै चिन्ता र चिन्तन नभएका असुरहरूको शासन निर्बाध यहाँ चलिरहेको छ ।
आखिर किन एउटा उस्तै मुलुक विकासतिर अघि बढ्छ, तर उस्तै अर्काे मुलुक आफ्ना सबै तेजिला जनता विदेश धकेलेर अन्तहीन भुमरीमा फसिबस्छ ? यो प्रश्नको स्पष्ट उत्तर कम्बोडियाको खानेपानीको क्षेत्रमा क्रान्तिका संवाहक ‘एक सोन च्यान’ र नेपालको जलविद्युत् क्षेत्रमा क्रान्ति गरेका कुलमानबीचको तुलनाले दिन्छ ।
कम्बोडियाको पानी प्राधिकरण र नेपालको विद्युत् प्राधिकरण : कम्बोडियाको फोनम फे पानी आपूर्ति प्राधिकरण (पिपिडब्ल्युएसए)को कहानीका सुरुवाती चरणहरू धेरै हदसम्म हाम्रो विद्युत् प्राधिकरण (एनइए)सँग मेल खान्छ । विडम्बनापूर्ण भिन्नता के छ भने कुलमानलाई जम्माजम्मी चार वर्ष मात्रै विद्युत् प्राधिकरण चलाउन दिइयो । तर, कम्बोडियाका एक सोन पानी प्राधिकरण १० वर्ष चलाएर मन्त्रालयको सचिव हुँदै जलमन्त्रीसम्म भए । एक सोनले पानी प्राधिकरणलाई बेलायतको भन्दा पनि धेरै अघि लिएर गए ।
आखिर किन एउटा उस्तै मुलुक विकासतिर अघि बढ्छ, तर उस्तै अर्काे मुलुक आफ्ना सबै तेजिला जनता विदेश धकेलेर अन्तहीन भुमरीमा फसिबस्छ ? यो प्रश्नको स्पष्ट उत्तर कम्बोडियाको खानेपानीको क्षेत्रमा क्रान्तिका संवाहक ‘एक सोन च्यान’ र नेपालको जलविद्युत् क्षेत्रमा क्रान्ति गरेका कुलमानबीचको तुलनाले दिन्छ ।
अहिले सिंगापुरले पनि कम्बोडियाबाट पाठ सिकिरहेको छ । एक सोनले कामै नलाग्ने भ्रष्टाचारले सिध्याएको झुत्रो पानी संस्थानलाई विकसित देशहरूलाई समेत पाठ सिकाउने सफल संस्थानमा बदलिदिए । कम्बोडियामा २४सै घन्टा सातै दिन प्रत्येक घरधुरीमा सीधै पिउनयोग्य धाराको पानी अब सामान्य भएको छ । यही कारण एक सोन पानीको क्षेत्रमा कम्बोडियामा मात्र होइन, विश्वमा नै चिरपरिचित नाम बन्यो । एक महिनाअघि विश्व प्रतिष्ठित स्प्रिन्जर नेचरले सिंगापुर र बेलायतका प्रोफेसरको सहयोगमा उनले सम्भव गराएका परिवर्तनका कामहरू समेटेर छुट्टै किताब नै निकालेको छ । उनले दिलाएका उपलब्धिका केही पाटाहरू यहाँ समेट्ने प्रयास गरेको छु ।
थप केही समय काम गर्न दिइएको भए सम्भवतः कुलमान पनि नेपालको विकासका एक संवाहक मात्र नभएर कमजोर ऊर्जा क्षेत्र रहेका विश्वका सबै विकासशील देशका लागि प्रेरणाका स्रोत हुने थिए । चार वर्षमै उनले अभूतपूर्व उपलब्धि दिलाएर देखाइदिएका पनि हुन् । तर, सुधार गरेबापत पुनः नियुक्ति नदिई एक किसिमले सजाय नै दिएर लखेटियो । राजा महेन्द्र एउटा नेपाली नागरिक संयुक्त राष्ट्रसंघको महासचिव बन्ने प्रबल सम्भावना हुँदा एउटा रैती आफूभन्दा माथि जाने भयो, सम्मानित हुने भयो भनेर भयात्तुर थिए । अहिलेका प्रधानमन्त्री र मन्त्रीहरू पनि एउटा सामान्य कर्मचारी कुलमानले विद्युत्को क्षेत्रमा गरेको कामले कतै आफ्नो राजनीति डगमगाउला कि भनेर डराएर पन्छाई नै दिए ।
अहिले कमजोर, अशिक्षित र अक्षमबाट शासित हुनुपर्ने रोग ठूला राष्ट्रिय संस्था नास्ट, रिकास्ट, विश्वविद्यालयदेखि गाउँ र वडासम्मै छिरेको छ । जसकारण यो देश नै अकर्मण्यताको सिकार बन्न पुगेको छ । तपाईंले सामान्य उपलब्धि गर्दा पनि सबै अक्षम राजनीतिज्ञ डराउँछन् । उनीहरूकहाँ केही राम्रो काम लिएर कोही जानु नै हुँदैन । तपाईंको काम हुन तपाईं पार्टीको भएर पनि भएन, गुटको भएर पनि हुँदैन, टिक्ने हो भने आफ्नो ज्ञान नदीमा सेलाएर विवेकहीन अन्धभक्त कार्यकर्ता हुनुपर्छ । र, यसो हुनु नै सर्वाेपरी सक्षमता बनेको छ । राजनीतिका अक्षम असुरहरूका कारण नेपालले ऊर्जा क्षेत्रको कायापलट गरी विद्युत् प्राधिकरणलाई सफल कम्पनी बनाउन सक्ने छनक देखाएका कुलमान गुमायो । सायद, कम्बोडियाका उदाहरणीय एक सोनजस्तै विश्वका ठूला विश्वविद्यालयमा कुलमानको केस पढाइने थियो ।
एक सोन च्यानले के परिवर्तन गरे ? : एक सोनले आफ्नो टाउकोमा बन्दुक तेर्सिंदा पनि बरु मर्न तयार तर परिवर्तन गर्ने दृढ इच्छाशक्ति देखाएर राष्ट्रपति, सेनाका जर्नेल–कर्नेललगायतबाट पानी प्राधिकरणले दिएको सेवाको बिल भुक्तानी गराइछाडे । एकपटक एक उच्चपदस्थ सैन्य अधिकारीले पानीको बिल तिर्न निकै अनुनयपूर्ण ताकेता गर्दा पनि तिर्न अस्वीकार गरिरहे । ती अधिकारीले पानी प्राधिकरणका कर्मचारीलाई झपार्दै, धपाउँदै गरे । एक दिन एक सोन आफैँ खन्तीलगायतका औजार लिएर ती अधिकारीको घरको पानीको लाइन काट्न पुगे । पानीको लाइन काट्दै गर्दा ती जर्नेलले एक सोनको टाउकोमा बन्दुक तेस्र्याए र त्यो ठाउँ छोड्न या त्यही मर्न चुनौती दिए ।
त्यस दिन फर्किए पनि अर्काे दिन उनी सेक्युरिटी लिएर लाइन काट्न पुनः गए र पानीको लाइन काटेरै छाडे । तिन–चार दिनसम्म घरमा पानी नगएपछि ती अधिकारी बाध्य भएर एक सोनलाई भेट्न पुगे । एक सोनले उनलाई बिलको पैसा मात्र तिराएनन्, जनतासँग सार्वजनिक माफी माग्न पनि लगाएका थिए । यसले उनको छवि र विश्वास जनतामा निकै उच्च भयो, यो आँटबापत उनले ठूलो जनसमर्थन पनि प्राप्त गरे । जनताको समर्थन र विश्वासलाई लिएर ७–८ वर्षमै पानी प्राधिकरणको कायापलट गरिदिए । नेपालमा पनि विद्युत् प्राधिकरणको कायापलट हुने स्थिति बन्दै थियो, कुलमानलाई बलात् हुत्याइयो । जसको मूल्य अब यो देश र यहाँका जनताले आउने कैयौँ वर्ष भुक्तान गरिरहनु पर्नेछ ।
भ्रष्ट्राचारीलाई कारबाही, युवालाई अवसर : सरकारी प्रणालीका पुराना शक्तिशाली कर्मचारीहरू परिवर्तनलाई सजिलै स्विकार्न सक्दैनन् । एक सोनले आफ्ना कर्मचारीलाई तीन फरक समूहमा वर्गीकृत गरे– अनुभवी तर परिवर्तन हुन अनिच्छुक, परिवर्तनलाई बेवास्ता गर्ने र सरकारी संरचनाभित्र परिवर्तन चाहने । उनले ती समूहमध्ये परिवर्तन चाहने शिक्षित युवा समूहलाई अगाडि बढाए । यद्यपि, परिवर्तन चाहने युवा कर्मचारीको समूहलाई दुई–तीन वर्षसम्म पुराना कर्मचारीहरूले असहयोग गर्ने काम चली नै रह्यो । जब परिवर्तन देखा पर्न थाले, युवा समूहको प्रेरणाको कुनै सीमा नै थिएन ।
कर्मचारीको मनोबल थप उच्च बनाउन तलबमा व्यापक वृद्धि, बोनस, प्रोत्साहन र दण्ड तथा इनामका योजनाहरूका साथ अभिप्रेरित गरिरहे । भ्रष्ट्राचारमा लिप्त, अनुशासनहीन कर्मचारीलाई भकाभक कारबाही गरेर कम्पनीबाट नै निकाले । कम्बोडियाको पानी प्राधिकरणमा कतिसम्म भ्रष्टाचारको अचाक्ली स्थिति थियो भने १५ डलर पर्ने पानीको मिटर र पाइप जडानलाई त्यहाँ कर्मचारीहरूको मिलेमतोमा २०० डलरसम्मको बिल बनाइन्थ्यो । भ्रष्टाचारमा ढाडिएकालाई कारबाही गर्दा धेरैपटक उनलाई ज्यान जोगाउन पनि मुस्किल परेको थियो ।
एक सोनलाई युवा कर्मचारीको ठूलो साथ थियो । युवालाई ठूला अन्तर्राष्ट्रिय तालिमहरूमा पठाए र फर्किंदा उनीहरूले के–के सिकेर आए र अब के परिवर्तन गर्ने भन्ने जाँच नै लिने व्यवस्था गरे । उत्कृष्ट बुझाइ नलिई विदेश डुलेर मात्र आउनेलाई अर्काे अवसर नदिने नीति ल्याए । यसले युवामा विदेश गएर सिक्ने र देशमा फर्केर लागू गर्ने हुटहुटी बलियो भयो । क्षमतावान् युवाहरू मुख्य पदमा पुगे । कामअनुसार पदको बढोत्तरी हुने व्यवस्था ल्याए । यो नियमले निकै राम्रो काम ग¥यो । एक सोनले एउटै काम विश्व बैंक, युएनका कर्मचारी र आफ्ना युवा कर्मचारीलाई पनि दिए । विश्व बैंक– युएनले दुई वर्ष लाग्छ भनेको काम सोनका कर्मचारीले एक वर्ष नपुग्दै सकिदिए । त्यसपछि उनीहरूले आफ्नो सबै काम ठेक्कापट्टाबाट होइन, आफैँ गर्न थाले । त्यसपछि विश्व बैंक र युएनलाई नै एक सोनका कर्मचारीले काम सिकाउन थाले । र, पानी प्राधिकरणको आमूल परिवर्तनका संवाहक यिनै युवा भए ।
देश विकास गर्ने हो भने स्वार्थतन्त्रका लागि होइन, एक सोनले जस्तै कुलमानहरूले पनि निर्धक्क आफ्नो क्षमताअनुरूपको काम गर्न पाउने पद्धतिका लागि लड्नुपर्छ । कुलमानहरूले निर्बाध काम गर्न पाउने प्रणाली र संस्था बनाउनु भनेको नै देश बनाउनु हो ।
नियुक्तिमा क्षमता र कार्यकुशलता : पेसाले कुलमान र एक सोन दुवै आफ्नो देशका उत्कृष्ट इन्जिनियर हुन् । प्रायः संस्थाहरू कायापलट त्यतिवेला भएका छन्, जतिवेला चलिरहेको पद्धतिभन्दा बाहिरको फरक मान्छे नेतृत्वमा आएका छन् । कुलमान र एक सोनको नियुक्ति पनि यस्तै प्रक्रियाबाट भएको हो । सायद चलिरहेको वरिष्ठताका आधारमा नियुक्ति गरिएको भए कुलमान विद्युत् प्राधिकरणको प्रमुख हुने थिएनन् । हामी अझै अन्धकारको युगमा हुने थियौँ । कुलमानभन्दा सिनियर केहीले उनको नियुक्तिसँगै राजीनामा दिएका पनि हुन् । संस्थाले लगातार परिवर्तनको फड्को मार्न नियुक्ति गर्ने र हुने मानिसमा केही हदसम्म इमानदारिता, विश्वास र क्षमता हुनुपर्छ । उदाहरणका लागि कुलमानले रिपोर्ट गर्ने ऊर्जामन्त्रीलाई ऊर्जासम्बन्धी केही ज्ञान हुँदैन, तर निर्णय र आदेश दिने ठाउँमा उनै मन्त्री हुन्छन् । कुलमानका योजना तर्जुमा उनले बुझ्दैनन् ।
प्राधिकरणका वर्तमान हाकिम हितेन्द्र शाक्य पनि आफ्नो क्षेत्रका निकै सम्मानित र अनुभवी व्यक्ति छन् । तर, उनले निर्णय गर्ने ठाउँ बोर्डमा राजनीतिक भागबन्डाबाट आएका कथित विज्ञ नेताहरू आएर बसेका छन् । हितेन्द्रले आफूभन्दा निकै कमसल र योजनाविहीन हुँदा पनि ती बोर्ड सदस्यलाई जबरजस्ती ज्यू–हजुर गर्नुपर्ने बाध्यता छ । बोर्डमा नियुक्ति पाउनासाथ सबै पार्टीका कार्यकर्ताले बधाई दिँदा तिनलाई भ्याइनभ्याई छ । बधाई ओइ-याउने यी कार्यकर्ता एकजनाले पनि उनलाई कसरी कुन काम गरेबापत यो पदमा नियुक्ति पाउनुभयो, हजुरको योग्यता के हो, अबको योजना के भनेर सोध्दैन । कुनै योजना नभएको, काम नलाग्ने पार्टी पनि होइन, एउटा गुटभित्रको पनि गुटको नेतालाई करोडौँ जनतालाई विद्युत् सेवा दिने र १० हजारभन्दा बढी कर्मचारी भएको प्राधिकरणको बोर्ड सदस्य बनाइएको छ । यी नियुक्ति पाएका आफैँलाई लाज लाग्नुपर्ने, पार्टीको अन्धभक्त भए भन्दैमा अलकत्रा नै खाने ?
हितेन्द्रलाई स्वतन्त्र विश्वस्तरीय अनुभवको सल्लाह दिने एकजना पनि बोर्डमा छैन । यी राजनीतिक नियुक्ति र विज्ञताविहीन मन्त्रीलाई अटेर गर्न हितेन्द्रलाई कुलमानको जस्तो जनताको साथ र विश्वास पनि छैन । तसर्थ, आफ्नो क्षेत्रको निकै सम्मानित व्यक्ति हुँदाहुँदै पनि हितेन्द्र ऊर्जामन्त्रीका जमिनमुनि तार बिछ्याउनु हुँदैन भन्ने उडन्ते गफलाई समर्थन गर्न बाध्य छन् ।
एक सोनले आफ्नो कार्यकालमा ९० प्रतिशत जनतालाई शुद्ध खानेपानीको धारासँग जोडे जुन पहिले २५ प्रतिशत थियो । पानी उपयोग गर्नेमध्ये ७२ प्रतिशतले बिल नै भुक्तानी गर्दैनथे । त्यसलाई ६ प्रतिशतमा झारे, जसलाई सिंगापुर र डेनमार्कसँग तुलना गर्न मिल्छ । पानी उत्पादन क्षमता २६२ प्रतिशतले बढाए । पानीका धाराका पाइप ४५६ प्रतिशतले विस्तार गरे । उनले गरेका कामको अहिले संसारभर प्रशंसा गरिन्छ ।
अन्त्यमा, नेपालमा किन विकास भएन भन्ने प्रश्न आउँछ । यसको सोझो उत्तर हो– कुलमानहरूले कहिल्यै निर्धक्क भएर काम गर्ने गरी नेतृत्व गर्न पाएनन्, चाहे त्यो प्रजातन्त्र, पञ्चायत या वर्तमानको गणतन्त्र नै किन नहोस् । गणतन्त्रमा त अझ यस्तो प्रवृत्ति स्थानीय निकायका वडासम्म डरलाग्दोसँग विस्तारित भएर गएको छ । तसर्थ, देश विकास गर्ने हो भने स्वार्थतन्त्रका लागि होइन, एक सोनले जस्तै कुलमानहरूले पनि निर्धक्क आफ्नो क्षमताअनुरूपको काम गर्न पाउने पद्धतिका लागि लड्नुपर्छ । कुलमानहरूले निर्बाध काम गर्न पाउने प्रणाली र संस्था बनाउनु भनेको नै देश बनाउनु हो ।
(ढकाल बेलायतको अक्सफोर्ड विश्वविद्यालयबाट जल (ऊर्जा) नीति तथा व्यवस्थापनमा स्नातकोत्तर हुन्)