मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ माघ २७ मंगलबार
  • Friday, 22 November, 2024
अवी एहमद
२o७७ माघ २७ मंगलबार o७:२८:oo
Read Time : > 3 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

टिग्रे सैन्य अप्रेसन किन आवश्यक थियो ?

Read Time : > 3 मिनेट
अवी एहमद
नयाँ पत्रिका
२o७७ माघ २७ मंगलबार o७:२८:oo

इथियोपियाको सरकारले चर्को मूल्यमा टिग्रे पिपुल्स लिबरेसन फ्रन्टमाथि जित हासिल गरेको छ 

इथियोपियाको संघीय सरकारले सैन्य अप्रेसनमार्फत टिग्रे क्षेत्रलाई टिग्रे पिपुल्स लिबरेसन फ्रन्ट (टिपिएलएफ)को शासनबाट मुक्त गरेको छ । यसले इथियोपियाको भविष्य र हर्न अफ अफ्रिकामा उसको भूमिकालाई लिएर नयाँ आशा र आशंकाहरू उत्पन्न गराएको छ । भ्रष्ट र तानाशाही प्रवृत्तिको टिपिएलएफको स्थायी निष्कासनपछि आशा बढेको छ । यो दल हर्न अफ अफ्रिका क्षेत्रका राज्यबीचको द्वन्द्वको जड थियो । यसमाथि विजय हासिल हुनु आफैँमा सकारात्मक कुरा हो ।

तर, टिपिएलएफको निष्कासनले अन्तर्राष्ट्रिय समुदायमा असहजता बढाएको तथ्य पनि म नकार्न सक्दिनँ । टिग्रे क्षेत्रमा सञ्चालन भएको अप्रेसनमा जातीय विभेद भएको र अझै मानवीय सहायतामा अवरोध पुर्‍याइएको जस्ता चासो कायम छ । त्यसैले म इथियोपियाको प्रधानमन्त्रीको रूपमा मेरो सरकारले टिग्रे क्षेत्रमा किन सैन्य कारबाही गर्नुपर्‍यो भन्ने स्पष्ट पार्ने प्रयास गर्दै छु । त्यसअतिरिक्त म पीडितको सहायताका लागि भएका प्रयासबारे पनि बताउनेछु । मेरो सरकारले उठाएको कदमले टिग्रे क्षेत्रलगायत सम्पूर्ण इथियोपिया मात्र होइन, ग्रेटर हर्न क्षेत्रलाई सहयोग पुर्‍याउने हाम्रो बुझाइ छ । 

अघिल्लो शिशिरमा टिपिएलएफले कैयन् सेना र निर्दोष नागरिकलाई एम्बुसमा पारेपछि पछिल्लो विवाद सुरु भएको थियो । एम्बुसमा दर्जनौँको ज्यान गयो । कुनै सरकारका लागि यस्तो हिंसा सह्य हुँदैन । प्रधानमन्त्री र राष्ट्रिय फौजको कमान्डर इनचिफको रूपमा मेरो प्राथमिक कर्तव्य इथियोपिया र यसका जनतालाई आन्तरिक तथा बाह्य शत्रुबाट बचाउनु हुनेछ । र, त्यही कर्तव्यलाई ध्यानमा राखेर टिग्रेमा शीघ्र शान्ति व्यवस्था पुनर्बहाली गर्न मेरो सरकारले सैन्य कारबाहीको योजना बनाएको थियो । यसमा हामी सफल भएका छौँ, तर हाम्रो सक्दो प्रयासका बाबजुद कैयौँ हताहती भएको छ । अझै धेरै टिग्रेवासीले विभिन्न समस्या भोगिरहेका छन् । धेरैको चासो पनि यसैमा छ । मेरो आगामी प्राथमिकता टिग्रे क्षेत्र र सम्पूर्ण देशको समस्या अन्त्य गर्नेमा केन्द्रित हुनेछ । मैले यसका लागि संयुक्त राष्ट्र संघ र अन्तर्राष्ट्रिय सहायता एजेन्सीलाई मेरो सरकारसँग सहकार्य गर्न आह्वान गरेको छु ।

टिग्रे क्षेत्रका नागरिकलाई आवश्यक आपूर्ति पुर्‍याउन हामी दिनरात काम गरिरहेका छौँ । यसमा धेरै अवरोध आइरहेका छन् । 

टिग्रे क्षेत्रका नागरिकलाई आवश्यक आपूर्ति पुर्‍याउन हामी दिनरात काम गरिरहेका छौँ । यसमा धेरै अवरोध आइरहेका छन् । उदाहरणका लागि टिपिएलएफले नष्ट गरेको सञ्चार लाइन पुनर्स्थापना गर्नुपर्नेछ । मानवीय सेवा वितरण गर्ने हाम्रो सामथ्र्यको परीक्षण यी प्रसारण लाइन निर्माणमा पनि भइरहेको छ । यसमा अन्तर्राष्ट्रिय समुदायले ठूलो सहयोग पुर्‍याउन सक्छ । अन्तर्राष्ट्रिय समुदायले टिपिएलएफको यथार्थ बुझ्दै गएको छ । धेरैले उसको जातीय हिंसाको विरोध गरेका छन् । तर, केहीले भने समूहले सञ्चाल नगर्ने गरेका गैरन्यायिक हिंसा, बेपत्ता पार्ने तथा यातना दिने जस्ता कार्यप्रति आखाँ चिम्लेर बसिरहेका थिए । केहीको तर्कअनुसार टिपिएलएफको कारण इथियोपिया युगोस्लाभियाजस्तो टुक्रिनबाट बचेको थियो ।

यो तर्क गर्नेको विचारमा इथियोपिया टुक्रिएको भए सम्पूर्ण हर्न अफ अफ्रिका क्षेत्रमा अराजकता फैलिने थियो । सामान्य ज्ञानले पनि भन्छ कि जातीय आधारमा विभाजित राज्य लामो समय टिक्न सक्दैन । सन् २०१८ अप्रिलमा म निर्वाचित हुनु झन्डै पाँच वर्षको अवधिसम्म सत्ताविरुद्ध नियमित प्रदर्शन हुन्थे । टिपिएलएफले प्रदर्शनकर्तामाथि कठोर कदम उठाउने गर्थ्यो । सन् २०१८ को चुनावपछि देशले नयाँ समावेशी दिशा लियो । मैले नेतृत्व गरेको राजनीतिक दल इथियोपियाको इतिहासमा नश्ल, धर्म र जातमा आधारित नरहेको पहिलो पार्टी हो । टिपिएलएफको छिमेकी नीति उसको ‘फुटाऊ र राज गर’को घरेलु राजनीतिको विस्तार थियो । उसले छिमेकी इरिट्रियालाई एक्ल्याउने नीति लिएर ऊविरुद्ध छद्मयुद्ध सञ्चालन गरिरहेको थियो । परिणामस्वरूप इरिट्रिया थप अस्थिर र कमजोर बन्दै गयो ।

टिपिएलएफमुक्त इथियोपियाले शान्ति र समावेशी विकासलाई महत्व दिनेछ । आन्तरिक रूपमा ‘नयाँ इथियोपिया’ समानतामा आधारित हुनेछ । विदेश मामिलाको हकमा हामी हाम्रो राष्ट्रिय हित हाम्रा छिमेकीको राष्ट्रिय भलाइसँग अविभाज्य रूपमा गाँसिएको मान्नेछौँ । इरिट्रियासँग सन् २०१८ मा हस्ताक्षर गरिएको शान्ति सम्झौता पनि यसैको एक जीवित उदारण हो । मेरो सरकारले अन्य छिमेकीसँग पनि सम्बन्ध सुधार गर्ने प्रयास गरेको छ । सन् २०१९ मा सुडान संकटमा फसेर गृहयुद्धतर्फ उन्मुख हुदाँ हामीले सेना र नागरिक प्रतिनिधि सम्मिलित संक्रमणकालीन सरकार निर्माणमा सघाएका थियौँ । सोमालियाको स्थायित्वमा पनि इथियोपियाको जति कसैको योगदान छैन । दक्षिण सुडानमा पनि हामीले स्थायित्वको लागि सहयोग गरिरहेका छौँ । इथियोपियाको विदेश नीति क्षत्रीय एकताले सबैको भलाइ हुन्छ भन्ने मन्त्रले निर्देशित छ । यसैले हामी अफ्रिकी महादेशस्तरको खुला व्यापार क्षेत्रलाई सम्भव बनाउने प्रयासमा छौँ । 

निजी क्षेत्रसँगको सहकार्यमा हामी इथियोपियालाई जिबोटी र असावसँग जोड्ने नयाँ एक्सप्रेस निर्माण गर्दै छौँ । त्यसलाई पछि दक्षिण सुडानको राजधानी जुवासम्म लम्ब्याइनेछ । यो सडक मार्गले सो विपन्न भूपरिवेष्टित राज्यलाई निकै सहयोग पुर्‍याउनेछ । विभिन्न बन्दरगाह, औद्योगिक क्षेत्र र पोटास खानीमा संयुक्त सहकार्यमा काम बढिरहेको छ । ग्य्रान्ड इथियोपियन रेनसा बाँधको निर्माण सकिँदा सबै छिमेकबाट सहयोग पाउने आशा छ । यस जलविद्युत् परियोजनाले सम्पूर्ण पूर्वी अफ्रिकालाई अपूर्व अवसर सिर्जना गर्नेछ । इथियोपियामा शान्तिकायम रह्यो र यहाँको सरकारले मानवीय मूल्यका आधारमा काम गर्‍यो भने मात्र उसले हर्न अफ्रिका र त्यसभन्दा पर रचनात्मक भूमिका खेल्न सक्छ । 

(एहमद इथियोपियाका प्रधानमन्त्री हुन्) कपिराइट : प्रोजेक्ट सिन्डिकेट