Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७७ माघ १८ आइतबार ०७:०४:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

धनगढीमा प्रचण्ड-माधव समूहका शीर्ष नेताले भने- ओली आफ्नै अहंकारले पतन हुँदै छन्

Read Time : > 1 मिनेट
२०७७ माघ १८ आइतबार ०७:०४:००

धनगढीमा नेकपा प्रचण्ड–माधव समूहको बृहत् प्रदर्शन

नेकपा प्रचण्ड–माधव नेपाल समूहले कैलालीको धनगढीमा शक्ति प्रदर्शन गरेको छ । प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनमा रहेको सो समूहले शनिबार बृहत् प्रदर्शन गरेको हो । कार्यक्रममा सुदूरपश्चिम प्रदेशको नौवटै जिल्लाबाट ठूलो संख्यामा सर्वसाधारणको सहभागिता थियो । शीर्ष नेताहरूले प्रधानमन्त्री केपी ओली अहंकारी र अराजक भइसकेको जिकिर गर्दै आफ्नै अहंकारले पतन हुने दाबी गरे । 

नेकपा अध्यक्ष माधवकुमार नेपालले ओली गणतन्त्र र लोकतन्त्रको पक्षमा नरहेको दाबी गर्दै उनले निर्वाचन गराउने भ्रमबाट मुक्त हुन आवश्यक रहेको बताए । ‘केपी ओलीले चुनाव गराउलान् र लोकतन्त्र बलियो होला भनेर कसैलाई भ्रम छ भने त्यो भ्रमबाट मुक्त हुनुहोस्,’ उनले भने, ‘ओली लोकतन्त्रको पक्षमा रहेका व्यक्ति होइनन् । उनी लोकतन्त्रविरोधी हुन् ।’ 

संविधानमा प्रतिनिधिसभा भंग गर्ने कुनै व्यवस्था नरहेको भन्दै उनले प्रतिनिधिसभा पुनस्र्थापनासँगै केपी ओली युगको अन्त्य हुने जिकिर गरे । ‘संविधानमा प्रतिनिधिसभा विघटनको व्यवस्था नरहेकाले प्रतिनिधिसभा पुनस्र्थापना र ओलीको बहिर्गमन हुन्छ’, नेपालले भने । मुक्तकमैया, थारू, राना थारू, दलित, मुक्तहलियालगायतको समस्या समाधानका लागि पार्टी र सरकारमा छलफल चलाउनका लागि आग्रह गर्दा ओलीले पार्टी विभाजन गर्न खोजेको र प्रतिनिधिसभा नै भंग गरेको उनको भनाइ थियो । ‘उनी अरूको समस्या सुन्न नचाहने र आफ्नो प्रशंसा मात्रै चाहने प्रवृत्तिका मान्छे हुन्,’ नेपालले भने, ‘उनी एक नम्बर गफाडी हुन् । यस्ता पात्र र व्यक्ति कहिलेकाहीँ चुनावको घोडा चढेर इतिहासमा जन्मेका छन् । उनीहरू आफ्नै अहंकारका कारण पतन हुने गर्दछन् ।’ 

ओलीलाई कारबाही गर्न सक्ने शक्ति हामीसँग छ : प्रचण्ड
नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी नफुटेको बताए । ‘यो पार्टी फुटेको होइन र फुट्ने पनि छैन,’ उनले भने, ‘ओलीजी चोइटिएको मात्रै हो ।’ उनले संघीय लोकतन्त्र, गणतन्त्र र नेपाली जनताको सार्वभौम अधिकारलाई कुल्चन खोजिएको उल्लेख गर्दै त्यसलाई सफल हुन नदिने बताए । प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरे पनि संविधानतः प्रतिनिधिसभा जीवित रहेको र पुनस्र्थापना हुनेमा आफूहरू विश्वस्त रहेको प्रचण्डको भनाइ थियो । ‘प्रतिनिधिसभा भंग भएको छैन । संविधानअनुसार त्यो जीवित छ,’ उनले भने, ‘विघटन भएको त ओली नेतृत्वको सरकार हो ।’

प्रतिनिधिसभा विघटनको मुद्दा सर्वोच्च अदालतमा नभएको भए सभाको बैठक बोलाएर प्रधानमन्त्रीलाई कारबाही गर्नसक्ने तागत आफूहरूसँग रहेको प्रचण्डले जिकिर गरे । प्रधानमन्त्रीले आफैँ इतिहासमा कलंकको टीका लगाएर पतनको बाटोमा लम्केको उनको भनाइ थियो ।

नेकपा प्रचण्ड–माधव समूहको सुदूरपश्चिम प्रदेश इन्चार्ज भीम रावलले प्रधानमन्त्रीले जनमतको अपमान गरेको आरोप लगाए । ‘यो अलोकतान्त्रिक कदम हामीलाई स्वीकार्य छैन,’ उनले, ‘लोकतन्त्र र संविधानको रक्षाका लागि हाम्रो यो संघर्ष हो ।’ उनले केपी ओली दलाल र लेखराज भट्ट दलालको पनि दलाल रहेको टिप्पणी गरे । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले संविधानविपरीत गएर प्रधानमन्त्रीले चालेको कदमको विरुद्धमा जनता जुर्मुराएको बताए ।