१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ माघ १७ शनिबार
  • Saturday, 28 September, 2024
मञ्जु टेलर काठमाडौं
२o७७ माघ १७ शनिबार १८:oo:oo
Read Time : > 2 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

अझै हुन सकेन हिउँदे वर्षा : पानी कम पर्दा कृषि र वातावरणमा प्रभाव, अन्न उत्पादन घट्ने अनुमान

Read Time : > 2 मिनेट
मञ्जु टेलर, काठमाडौं
नयाँ पत्रिका
२o७७ माघ १७ शनिबार १८:oo:oo

माघ महिना आधा बितिसक्दा पनि यो वर्ष हिउँदे वर्षा हुन सकेको छैन । हिउँदे वर्षा हुन नसक्दा कृषिबालीमा असर त पुगेकै छ, वातावरणमा समेत प्रभाव परेको छ । मौसमविद्हरूका अनुसार नेपालमा हिउँदको समयमा वर्षा गराउने प्रमुख भूमिका पश्चिमी वायुले खेल्छ । तर, भूमध्यरेखाको पूर्वी प्रशान्त महासागरको लालिना प्रणाली विकास भएसँगै नेपालमा पश्चिमबाट प्रवेश गर्ने वायुको प्रभाव घट्ने र यो वर्ष वर्षा कम हुने आकलन गरिएको छ । 

जल तथा मौसम विभागले स्थान र ऋतु विशेषका आधारमा सरदर वर्षा मापन गर्ने गर्छ । जस्तै, काठमाडौं उपत्यकामा ६० मिलिमिटरभन्दा कम वर्षा भयो भने त्यसलाई सरदर वर्षाभन्दा कम भएको मानिन्छ । जल तथा मौसम विभागको पछिल्लो तथ्यांकअनुसार काठमाडौं उपत्यकामा हिउँदे वर्षा फाट्टफट्ट मात्र भएको देखिन्छ, पश्चिमी वायुका कारण पश्चिमी भूभागमा थोरै वर्षा र हिमपात भए पनि सरदरभन्दा निकै कम देखिन्छ । 

सामान्यतः १६ मंसिरदेखि १७ फागुनसम्म हिउँदे वर्षाको समय हो । तर, यो वर्ष हालसम्म नेपालका केही भूभागमा बाहेक वर्षा नै भएको छैन । विभागका अनुसार पछिल्लोपटक २३ पुसमा दिपायलमा तीन मिलिमिटर वर्षा भएको थियो । २० पुसमा धनगढीमा ९.७ मिलिमिटर, सुर्खेतमा ११ दशमलव २ मिलिमिटर, जुम्लामा २४ दशमलव ३ मिलिमिटर र काठमाडौं, धरान, दाङ र विराटनगरमा फाट्टफुट्ट वर्षा भएको रिपोर्ट गरिएको छ । 

मौसमविद्हरूका अनुसार हिउँदे वर्षा समयमै नहुँदा वातावरणमा प्रत्यक्ष प्रभाव परिरहेको छ । समयमै वर्षा नहुँदा यो वर्ष काठमाडौंमा प्रदूषणको मात्रा खतराको विन्दुभन्दा दुई गुणामाथि रिपोर्ट गरिएको थियो । वातावरण विभागका अनुसार पहाडी क्षेत्रमा फाट्टफुट्ट घाम लागेकाले प्रदूषणको मात्रा केही घटेको छ, तर तराई क्षेत्रमा भने प्रदूषणको मात्रा सामान्यभन्दा माथि नै देखिन्छ । 

वातावरण विभागका उपनिर्देशक इन्दुविक्रम जोशी एक्युआईमा केही सुधार आए पनि पूर्ण रूपमा सामान्य अवस्थामा भने आइनसकेको बताउँछन् । ‘भौगोलिक अवस्थाका कारण अधिकांश क्षेत्रमा हावाको बहाब धेरै भएको पाइँदैन, हुस्सुका कारण घाम पनि नलाग्ने हुँदा पानी नपर्दासम्म काठमाडौंजस्ता स्थानमा प्रदूषणको मात्रा सामान्य अवस्थामा आउँदैन,’  उनी भन्छन्, ‘उपत्यकाको भूबनोट र जनघनŒवका कारण इन्भर्सन लेयर अर्थात् वायुमण्डल तातो भएर तलको हावा माथि जान नपाउँदा प्रदूषण बढेको हो । घाम लागेमा वा पानी परेमा मात्र सतहको तापक्रम बढ्ने र बिस्तारै माथि जाने हुँदा प्रदूषण गराउने कण हावामा मिसिन्छन् र वातावरण सफा हुँदै जान्छ ।’

कृषि र पर्यटन क्षेत्रमा प्रत्यक्ष असर
समयमै हिउँदे वर्षा नहुँदा वायुमण्डलमा मात्र नभई जलस्रोत र योसँगै जोडिएर आउने कृषि र पर्यटन क्षेत्रमा प्रत्यक्ष असर गरिरहेको बताउँछन् मौसमविद् ऋषिराम शर्मा । भन्छन्, ‘केही साताअघि पश्चिम क्षेत्रमा केही हिमपात र वर्षा भए पनि त्यतिमै हराएको छ । नेपालमा हिउँदमा हुने वर्षा पश्चिमी वायुमा निर्भर रहने हुँदा सबै समयमा एउटै हुँदैन । गत वर्ष हिउँदमा एकदमै धेरै पानी परेको थियो, यो वर्ष हिउँदे वर्षा सरदरभन्दा कम हुने आकलन गरिएको छ, जसको सीधा असर जलस्रोत र वातावरणमा देखिएको छ ।’

सामान्यतः हिउँदको समयमा पानी नपर्दा जमिन सुक्खा हुँदै जाने भएकाले जमिनको पानीको स्रोत सुक्दै जाने गर्छ भने कृषिमा पनि प्रत्यक्ष असर पर्ने गर्छ । हिमपात कम हुँदा जमिनको चिस्यान कम हुने र पानी नपर्दा खोलानाला र भूमिगत पानीको स्रोत सुक्ने हुँदा हिउँदे बाली उत्पादन घट्ने मौसमविद्हरूको भनाइ छ । मौसमविद् शर्मा भन्छन्, ‘हिउँदमा पानी नपर्नुले बहुआयामिक समस्या निम्त्याइरहेको छ । हिमपात नहुँदा हिमालहरू काला देखिन थालेका छन्, जसले नेपालको पर्यटनमा असर गरिरहेको छ, यस्तै प्रदूषणको लेभल कम गर्न, तराईमा शीतलहर हट्न, हिउँदे बाली सप्रिन र भूमिगत जलस्रोतको मात्रा बढ्न हिउँदे वर्षाले महŒवपूर्ण भूमिका खेल्छ ।’

वर्षा नहुँदा यो वर्ष हिउँदे बाली र फलफूल राम्रो उत्पादन गर्न नसकिने कृषिविज्ञहरूको अनुमान छ । नेपालमा अधिकांश स्थानमा लगाइने गहुँ राम्रो सप्रिनका लागि उम्रिने र बाला लाग्ने समयमा पानी पर्नुपर्ने कृषिविज्ञ हरिकृष्ण उप्रेती बताउँछन् । भन्छन्, ‘सिँचाइको व्यवस्था भएका स्थानमा वर्षा नहुँदा पनि त्यति समस्या हुँदैन, तर अधिकांश पहाडी र हिमाली क्षेत्रमा सिँचाइको व्यवस्था भएको पाइँदैन । यस्ता क्षेत्रमा फलफूल र अन्य बालीमा हिउँदमा छाप्रो दिएर जमिनको चिस्यान बचाउने गरिन्छ । तर, गहुँजस्ता बालीका लागि वर्षा र सिँचाइ नै आवश्यक हुन्छ । सिँचाइ नभएका स्थानमा बाली सप्रिने सम्भावना कम देखिन्छ । यसबाहेक उच्च पहाडी भेगमा उत्पादन हुने स्याउ, ओखर, खुरपानीजस्ता फलफूल र गहुँ, जौ, आलु आदिका लागि चिसो आवश्यक हुन्छ, यो मौसममा पर्याप्त चिसो नहुँदा (हिमपात) उत्पादन कम हुने र गुणस्तरमा पनि कमी आउँछ ।’

कृषिविद्हरूका अनुसार हिउँदे बाली सप्रिन माघको अन्तिमसम्म पानी परेमा केही राहत हुन सक्छ । सामान्यतः यो समयमा गहुँ, जौ आदिमा बाला लाग्ने समय हुने भएकाले उत्पादन बढाउन सकिने कृषिविज्ञहरू बताउँछन् । तर, पश्चिमी वायुको प्रभाव न्यून देखिएकाले हिउँदे वर्षा गतको वर्षको तुलनामा कम हुने अनुमान गरिन्छ ।